काठमाडौं- चिनी उद्योगीले कृषकलाई राहतको सट्टा गलाउने नीति लिँदा उखु उत्पादन चार वर्षमा १ करोड ७ लाख क्विन्टलले घटेको छ। चिनी उद्योगी र सरकारको त्यही किसानमारा नीतिका कारण स्वदेशमै उत्पादन गर्न सकिने चिनी आयात बर्सेनि बढ्दै गएको छ। उखु उत्पादन भने ओरालो लागेको छ।
आर्थिक वर्ष २०६९/०७० मा २ करोड ३७ लाख क्विन्टल उखु उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १ करोड ३० लाख क्विन्टलमा खुम्चिने देखिएको छ। 'उखु उत्पादन हरेक वर्ष घट्दै गएको छ,' नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, 'यो वर्ष सिजनमा १ करोड ३० लाख क्विन्टलभन्दा धेरै उत्पादन हुने छाँट छैन।'
मैनालीका अनुसार आर्थिक वर्ष २०६९/०७० मा देशभर २ करोड ३७ लाख क्विन्टल उखु उत्पादन भएको थियो। त्यसपछि निरन्तर घट्दै आएको छ। आर्थिक वर्ष २०७०/०७१ मा २ करोड १२ लाख क्विन्टल उखु उत्पादन भएकोमा आव २०७२/०७३ मा १ करोड ६२ लाख क्विन्टलमा ओर्लिएको मैनालीले बताए। पछिल्लो चार वर्षको उत्पादन तथ्यांकले उखु किसान पलायन हुँदै गएको देखाउँछ। यो वर्ष उत्पादन अझै घटेको मैनालीले बताए।
चिनी उद्योगी र उखु उत्पादक किसानबीच हरेक वर्ष चिनीको मूल्य निर्धारणमा किचलो हँुदै आएको छ। यो वर्ष पनि किचलोले निरन्तरता पाएको छ। उद्योगीले उखुको मूल्य निर्धारण गर्ने भनेर बैठक बोलाउँदै अल्मल्याउने गरेको किसानको गुनासो छ।
यस सिजनको उखुको मूल्य निर्धारण गर्ने भनेर कात्तिक २४ गते चिनी उद्योगी र उखु किसानबीच पहिलो बैठक भएको थियो। त्यसपछि मंसिर २४ मा दोस्रो बैठक भयो। तेस्रो बैठक पुस १ गते भइसकेको छ। तर, मूल्य निर्धारण गर्ने विषयमा सहमति हुन नसकेको मैनालीले बताए। 'अब पुस ६ गते चौथो बैठक बस्ने भनेर समय मिलाइएको छ,' सोमबार मैनालीले भने, 'मूल्य निर्धारणमा सहमति नगर्ने, बरु बैठक राखेर किसानलाई अल्मल्याउन खोजिएको छ।'
यस वर्ष उखु किसानले प्रतिक्विन्टल ५ सय ५६ रुपैयाँ मूल्य निर्धारण हुुनुपर्छ भनेका छन्। चिनी उद्योगीले ५ सय १३ रुपैयाँभन्दा धेरै दिन नसक्ने अडान लिएका छन्।
सबै क्षेत्रमा मूल्य वृद्धि भएकाले पोहोरको मूल्यमा ४३ रुपैयाँ बढाएर प्रतिक्विन्टल ४ सय ९१ रुपैयाँ उखुको मूल्य र भ्याटबाट आउने ६५ रुपैयाँ गरी प्रतिक्विन्ट ५ सय ५६ रुपैयाँ निर्धारण हुुनुपर्नै किसानको माग छ। चिनी उद्योगीले भने भारतको बिहारमा रहेको पुरानो रिगा चिनी मिलले प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ दिएकाले त्यसैलाई आधार बनाउनुपर्ने अडान लिएका छन्। जसमा सरकारले दिने ६५ रुपैयाँ भ्याट जोडेर प्रतिक्विन्टल ५ सय १३ रुपैयाँ तोक्नुपर्ने उनीहरुको तर्क छ।
सरकारले गत वर्ष निकै ढिला गरेर प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ मूल्य तोकेको थियो, जुन अघिल्ला वर्षभन्दा कम हो। ०६९/७० सालमै प्रति क्विन्टल ४ सय ८१ रुपैयाँ तोकिएको उखु मूल्य त्यसपछि निरन्तर घटाउँदै लगिएको छ।
हरेक वर्ष मूल्य वृद्धि भइरहेकाले उखुको मूल्य पनि बढाउनुपर्ने किसानको माग छ। मैनालीका अनुसार हरेक वर्ष चिनीको भाउ बढिरहेको छ। मजदुर ज्याला, मलखाद, औषधि लगायको मूल्य वृद्धिका कारण उखु उत्पादन लागत बढिरहेको छ। उखुको चिनी उत्पादन क्षमता समेत बढेको मैनाली बताउँछन। दुई वर्षअघि एक क्विन्टल उखुबाट ८ किलो चिनी उत्पादन हुन्थ्यो। अहिले साढे ९ केजीसम्म उत्पादन हुन थालेको छ।
अर्कोतिर चिनी उत्पादन गर्ने मिल समेत थपिएका छन्। यस वर्षमात्रै सिराहामा हिमाल चिनी मिल र कञ्चनपुरमा कागेश्वरी चिनी मिल स्थापना भएका छन्। यी दुई गरी देशमा १३ वटा चिनी मिल पुगिसकेका छन्। नवलपरासी, बारा, सर्लाही, महोत्तरी, सनुसरी, रौतहट, महाकाली लगायत ठाउँमा चिनी मिल छन्।
अर्कातिर सरकारले चिनी आयात गर्न थालेको छ। यो वर्ष भदौमा भारतबाट ३० हजार मेटि्रक टन चिनी आयात गरिएको थियो। बजारमा अभाव हुँदै गएर मूल्य अकासिन थालेपछि चिनी आयात गर्नुपरेको साल्ट ट्रेडिङ कर्पोरेसनले बताएको छ। चिनी अभाव चर्किंदै जाँदा उखु किसान गलाउने नीति लिनु रहस्यमय भएको अगुवा किसान बताउँछन्।
हरेक वर्ष किसान र चिनी व्यवसायीको सहमतिमा कृषी र उद्योग मन्त्रालयबाट मूल्य निर्धारण गरिन्छ। यसपटक भने उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई सहजीकरण गर्ने जिम्मा दिइएको मैनालीले बताए।
प्रकाशित: ५ पुस २०७३ ०५:०४ मंगलबार