१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युवाका प्रेरणा बने कृष्ण !

अड्गुरी (अर्घाखाँची)– सँगैका साथी विदेशतिर उड्दै गर्दा कृष्णप्रसाद भुसालले गोलभेंडा फलाउने टनेल हाले । अरबमा कमाउने पैसा गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो उनमा । त्यही विश्वास र मेहनतले गर्दा अर्घाखाँची, अड्गुरीका ३० युवा विदेशमा पसिना बगाउने युवाका लागि प्रेरणा स्रोत बनेका छन् ।

गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सोच राख्ने भुसाल अहिले अर्घाखाँची जिल्लाका उत्कृष्ट कृषक १६ कृषकमा पर्छन् । ‘मेहनत ग¥यो भने गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ भुसालले भने, ‘अहिले त सबैले विदेशको पैसा यही कमायो भन्न थालेका छन् ।’ सबै उनले बनाएको गोलभेंडाका टनेल हेर्न जान्छन् ।

अर्घाखाँची जिल्लाका उत्कृष्ट १६ कृषकमा पर्न सफल ३० वर्षे युवा कृषक भुसालले अरबमा गर्ने आम्दानी गाउँमै बसेर गर्न थालेका छन्

उनले अहिले ३ रोपनी जग्गामा गोलभेंडा खेती गरिरहेका छन् । खेती विस्तार गर्दै जाने उनको योजना छ । त्यसबाहेक काउली, बन्दा र यिनका बेर्नाको व्यवसाय गरिरहेका छन् । जेठमा लगाएको गोलभेंडा सकिने बेला भएको छ । अफसिजनमा लगाएका बेर्नाबाट गोलभेंडा फलाएर असार २२ गतेदेखि बेच्न थालेका थिए । ‘रेकर्ड राखेको थिएँ, असार २२ देखि बेच्न थालेको असोज १ गते हुँदा ४२ क्विन्टल बेचेछु,’ भुसाल भन्छन्, ‘त्यसपछि अहिलेसम्म फाट्टफुट्ट गरी थप १० क्विन्टलभन्दा धेरै बेचिसकें ।’ सुरुमा किलोको ८० रुपैयाँका दरले र पछिल्लो समय ५० रुपैयाँका दरले बेचेको उनले सुनाए । उनले प्रत्यके बिरुवाबाट १० किलो फलाउने लक्ष्य राखेको र त्यसै अनुसार प्रतिफल पाएको उनको भनाइ छ ।

गोलभेंडामा उनको जम्मा एक लाख रुपैयाँ मात्र लगानी परेको छ । लगानीभन्दा पनि मेहनत मुख्य हुने उनको अनुभव छ । उनले जिल्लाबाट अगुवा किसान भनेर ३ दिनको तालिम समेत लिएका छन् । तालिमबाट केही ज्ञान भए पनि कृषकलाई अझ धेरै ज्ञान चाहिने भएकाले जिल्लाले यसको व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘चार महिनामा गोलभेंडाबाट मात्र साढे २ लाख आम्दानी भएको छ,’ भुसालले भने, ‘एक्लै छु, धेरै मेहनत गर्न सकेको छैन ।’ यसबाहेक उनले काउली र बन्दा लगाएका छन् । अफसिजनको बेला काउली सय र बन्दा ५० रुपैयाँ किलो बेचेको उनले बताए ।
उनको अर्को कला भनेको गोभी र प्याजका बेर्ना व्यवसाय हो । बेर्ना उमार्नु गाह्रो काम पनि हो । घामपानी, सिँचाइ र माटो मिलाउन जान्नु पर्छ । वार्षिक रुपमा हजारौं रुपैयाँ बेर्नामात्र बेचेर कमाउने गरेको उनले बताए । दुई महिनाको अवधिमा उनले ३५ हजार रुपैयाँको गोभीका बेर्ना बेचिसकेका छन् । ‘यसमा लगानी भनेको मेहनतबाहेक ५ हजार रुपैयाँमात्र हो,’ भुसालले भने । अहिले प्याजको ब्याड राखेका छन् । पोहोर साल ४ किलो प्याजको बीउ राख्दा ६० हजार रुपैयाँका बेर्ना बेचेको उनले बताए । ‘एक किलो प्याजको बीउलाई झन्डै ३ हजार ५ सय रुपैयाँ पर्छ,’ भुसाल भन्छन्, ‘एक रुपैयाँमा २ वटा बेर्ना बिक्री हुन्छन् ।’

गाउँमा खेती किसान गरे पनि बजारको समस्या नभएको उनी बताउँछन् । सदरमुकाम सन्धिखर्क उनको मुख्य बजार हो । ‘उत्पादन जति भए पनि बिक्री हुन्छ,’ भुसालले भने, ‘गाडीमा लोड गर्न सके पुग्छ ।’  

जिल्लाको उत्कृष्ट १६ कृषकमा पर्न सफल भएपछि उनले जिल्लाबाट ४० हजार रुपैयाँ अनुदान समेत पाएका छन् । त्यस्तै, गाविसले ५ हजार रुपैयाँ अनुदान दिएको छ । जिल्ला विकास समिति अर्घाखाँचीले अफसिजनमा खेती गर्ने उत्कृष्ट ४० जना कृषक छानेर ४० हजारका दरले अनुदान दिएको थियो । ‘४० जनाबाट छानेर १६ जना छनोट गरेको थियो,’ भुसालले भने, ‘त्यसमध्ये अफसिजनमा खेती गर्नेमध्ये ४ नम्बरमा परेको छु ।’

अर्घाखाँचीको प्रथम हुने कृषकमा घोँचेखोलाका कृषक ढुंडीराज न्यौपाने भएको र उनले १८ रोपनी जम्मा टमाटर खेती गरेको भुसालले बताए । ‘उहाँको आम्दानी वार्षिक झन्डै १० लाख रुपैयाँ छ,’ भुसाल भन्छन्, ‘लगानी भनेको जम्मा ५–७ लाख रुपैयाँमात्र हो ।’

गोलभेंडाको अफसिजन भनेको वैशाख–जेठ बिरुवा लगाउने डेढ–दुई महिनापछि बेच्न सुरु गर्ने हो । गोभी भने साउन–भदौमा लगाउने हो ।

तत्काल उनको समस्या भनेको पानी छ । सिँचाइको व्यवस्था नहँुदा बिरुवामा राम्रोसँग पानी हाल्न नपाएको उनले बताए । अहिले थोपा सिँचाइ योजना आउने कुरा भइरहेकाले योजना सफल भए खेती बढाउन सकिने उनले बताए ।

प्रकाशित: ३० कार्तिक २०७३ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App