१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निगमलाई एयरबस आपूर्ति गर्न ९ कम्पनी इच्छुक

काठमाडौं– नेपाल वायु सेवा निगमले २ ओटा एयरबस खरिदका आह्वान गरेको बोलपत्रअन्तर्गत परेका आवेदनहरु बिहीबार सम्बन्धित कम्पनीकै प्रतिनिधिहरुको रोहबरमा खोलेको छ। कम्पनीले गएको सेप्टेम्बर २६ मा ४५ दिनको समय दिएर दूई एयरबस आपूर्तिका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

उक्त बोलपत्रमा कुल ९ ओटा कम्पनीले आर्थिक, प्राविधिक प्रस्तावसहित आवेदन दिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नागरिक न्यूजसँग बताए। बिहीबार खोलिएको आवेदन प्रस्ताव मूल्यांकनका लागि मूल्यांकन कमिटी गठन गरिसकिएको उनले बताए।

‘आर्थिक, प्राविधिकलगायत पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरी छनोटमा परेको कम्पनीसँग सम्झौता गरेर खरिद प्रक्रिया शुरु गरिने छ,’ कंसाकारले भने, ‘निगमले जहाज उत्पादक कम्पनी तथा जहाज भाडामा लिएर सञ्चालन गर्ने कम्पनीले पनि भाग लिन सक्ने गरी बोलपत्र आह्वान गरेको थियो।’

करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको दुई एयरबस खरिदका लागि सरकारको जमानिमा सञ्चय कोष, नागरिक लगानी कोष र अन्य सरकारी तथा निजी बैंकहरुसमेत इच्छुक रहेको कंसाकारले बताए। ‘सञ्चय कोष तथा नागरिक लगानी कोष एक्लैले पनि सरकारको जमानीमा ऋण दिने तत्परता देखाएका छन्,’ उनले भने, ‘कोसँग ऋण लिने भन्ने विषयमा छलफल जारी नै छ।’
२०१७ को सेप्टेम्बरसम्ममा पहिलो जहाज खरिद गरी नेपालमा ल्याण्ड गराइसक्ने निगमको योजना छ। ‘२०७४ को असोजमा पहिलो जहाज र त्यसको ६ महिनापछि चैतमा अर्को जहाज ल्याउने योजना छ।’

नयाँ एयरबसका लागि जापान, साउदी अरब र कोरियाजस्ता गन्तव्यमा सिधै उडान भर्ने गरी तयारी भइरहेको पनि उनले बताए।

प्रकाशित: २५ कार्तिक २०७३ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App