२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

भारतमा अदुवा निर्यात प्रतिबन्धित

पानीट्यांकी (भारत)- चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयात रोक लगाएको छ।

माउ अदुवा धमाधम बजार पठाउने बेला भारतले लिएको अचानकको निर्णयले नेपाली निर्यातकर्ता प्रभावित छन् ।

नेपाली उत्पादनमा चिनियाँ अदुवा मिसावट भएको र त्यसमा अत्यधिक विषादीको मात्रा रहेको कारण देखाउँदै भारतीय पक्षले मंगलबारदेखि अदुवा भारत ल्याउन रोक लगाएको हो ।

भारतीय अवरोधका कारण मंगलबार पूर्वी नाका काँकडभिट्टामार्फत अदुवाको एउटै ट्रक भारतीय बजारतिर आएनन् । साउनदेखि नै किसानले अदुवाको माउ निकाल्छन् । त्यसलाई सुकाएर भदौदेखि धमाधम बजार पठाउने गर्छन् । ठीक यही बेला नेपाली अदुवामा खोट देखाउँदै आयात नै बन्द गर्ने भारतीय कदमले यसको अन्तर्राष्ट्रिय बजार खतरामा पारेको निर्यातकर्ता बताउँछन् ।

भारतीय राजधानी नयाँदिल्लीस्थित केन्द्रीय खाद्य विभागले नेपालसँग नाका जोडिएका सबै मातहत निकायलाई साताअघि नै पत्राचार गर्दै नेपालबाट भारत भित्रिने अदुवामा ‘मिसावट रहेको’ जनाउ दिएको पानीट्यांकी भन्सारले जनाएको छ । खाद्य विभागका आयात निर्देशक विमलकुमार दुवेद्वारा प्रेषित पत्रमा चिनियाँ र नेपाली अदुवामा घातक विषादी फेला परेको उल्लेख छ । तर, आयात नै रोक्नू भन्ने व्यहोरा छैन । ‘घातक कुरा रोक्नु हाम्रो दायित्व हो’, भन्सारका एक कर्मचारीले भने, ‘अब अर्को निर्देशन नआएसम्म यस्तै हो ।’

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतीय पक्षले सोमबार साँझसम्म भन्सार प्रक्रिया पूरा गरेका अदुवा बोकेका ट्रक मात्रै पानीट्यांकी नाकाबाट अघि बढ्न दिएको छ । ‘मंगलबारदेखि नपठाउनु भनेका छन्’, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका महासचिव इन्द्र बुढाथोकीले भने, ‘भारतीय पक्षले पहिल्यै मंगलबारदेखि अदुवाको ट्रक रोक्ने चेतावनी दिएको थियो।’ उनका अनुसार भारतीय पक्षले अब सबै अदुवाको ल्याब परीक्षण गरेर मात्र लिने–नलिने टुंगो गर्ने बताएको छ।

भारत, पश्चिम बंगालको कोलकातामा मात्रै खाद्य वस्तुको परीक्षण प्रयोगशाला छ। कोलकाताबाट परीक्षण भएर आउन कम्तीमा १० दिन लाग्छ।

भारतीय व्यवसायीले नेपाली अदुवामा चिनियाँ अदुवाको मिसावट भएको गुनासो गर्दै आएका थिए । त्यसमा अधिक विषादी रहेको भारतीय पक्षको दाबी छ । चिनियाँ अदुवा भारत गइरहेको व्यवसायी पनि स्वीकार गर्छन् । तर, नेपाली व्यवसायी भने तस्करी धन्दामा संलग्नले त्यस्तो मिसावट गरेको बताउँछन्। चिनियाँ अदुवा हेर्दै आकर्षक र महँगो दाममा सजिलै बिक्ने खालको भएका कारण तस्करले त्यसलाई नेपाली उत्पादनको ट्याग लगाएर भारत पु¥याइरहेका छन् । चिनियाँ उत्पादन बजारमा हाबी हुन थालेपछि भारतीय पक्षले नेपाली उत्पादनमा पनि कडाइ गरेको व्यवसायीको अनुमान छ ।

अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने नेपाली कृषि उत्पादन अदुवाको अन्तर्राष्ट्रिय बजार केही वर्षयता खुम्चिँदै गएको छ । नेपाली उत्पादनको मुख्य बजार भारतले केही वर्षयता आफैं उत्पादन बढाउँदै लगेको छ। भारतीय बजारमा भइरहने मूल्यको अस्थिरताले पनि नेपाली निर्यातकर्ता हच्किएका छन् ।

यस्तै विभिन्न कारण अदुवाको निर्यात ह्वात्तै घटेको बेला भारतले नै आयात रोक्दा अदुवाको अन्तर्राष्ट्रिय बजार झनै डावाँडोल हुने खतरा बढेको छ ।

मेची भन्सार कार्यालयले यसबारे अनभिज्ञता दर्साए पनि काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले अदुवाको भारत निर्यात रोकिएको पुष्टि गरेको छ । ‘चिनियाँ अदुवा मिसावट भएको र त्यसमा अधिक विषादी भएको भारतीय पक्षको भनाइ छ,’ क्वारेन्टाइन अधिकृत भानुदत्त मिश्रले भने, ‘त्यसैले अदुवा निर्यात रोकिएको हो।’

उनका अनुसार भारतीय पक्षले कि काठमाडौंबाट ल्याब परीक्षण गरेर ल्याउन कि त कोलकाताको परीक्षण रिपोर्ट पर्खिन भनेको छ । यसले नेपाली अदुवाको निर्यात पूरै प्रभावित पार्ने भएको छ ।

भारतले अदुवा आयातमा रोक लगाएपछि निर्यातकर्ता मात्रै होइन, किसान पनि मारमा पर्ने भएका छन् । अहिले किसानका घर–घरमा बजार पठाउन तयारी अवस्थामा रहेको अदुवा छ । तर, मुख्य बजारले नल्याउन भनेपछि अदुवा घरैमा थन्किने र बिग्रिने खतरा पनि बढेको छ ।  मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार सात सय ७० हेक्टरभन्दा बढी  जमिनमा अदुवा खेती हुँदै आएको छ । ती चार जिल्लाको वार्षिक उत्पादन दर सरदर ५५ हजार ४० मेट्रिक टन छ । सबै उत्पादनको बजार भारत नै हो । चार वर्षअघिसम्म पनि उत्पादनका हिसाबले नेपाल अदुवा उत्पादन गर्ने विश्वका सबै मुलुकमध्ये चौथो हो । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । नेपालको नगदे बालीमध्ये अदुवा अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन पनि हो । 

अदुवामा जस्तै अलैंची र चियामा पनि भारतीय गुनासो उच्च छ । नेपाली चियाले युरोपमा आफ्नो बजार बदनाम पारेको भन्दै भारतीय चिया व्यवसायीले नेपालको चिया आयातमा प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

भानुजयन्तीमा सहभागी हुन दार्जिलिङ आएका राष्ट्रपति प्रणव मुखर्जीलाई भारतीय व्यवसायीले नेपाली चिया आयात रोकिदिन नै माग गरेका थिए । त्यस्तै अलैंचीमा पनि चिनियाँ मिसावट भएको भन्दै भारतीय बजारले लिन आनाकानी गरिरहेको छ । त्यही कारण अलैंचीको भाउ लगातार घटिरहेको छ । मुख्य निर्यातजन्य कृषिवस्तुलाई यसरी एकपछि अर्को गर्दै रोक्ने भारतीय कदम शंकास्पद भएको बताउने पनि छन् ।

अदुवा उत्पादक तथा व्यवसायीका अनुसार दुई वर्षयता भारतीय बजारबाट नेपाली अदुवाको माग लगातार घट्दो छ । यसको मुख्य कारण भारतमा अदुवा उत्पादनमा भएको बढोत्तरी हो । अदुवा उत्पादन प्रशस्त हुन थालेपछि मूल्यमा पनि उत्तिकै अस्थिरता आइरहेको छ । अदुवाको अन्तर्राष्ट्रिय बजारबारे जानकारका अनुसार भारतले दक्षिणका विभिन्न ठाउँमा अदुवा उत्पादन प्रोत्साहित गर्न थालेपछि आफ्नै उत्पादनको विस्तार भारतीय चाहना हो । जसका कारण नेपाली उत्पादनले विभिन्न आरोप खेपिरहेको छ । त्यसो त नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार एक्कासी खुम्चिएको भने होइन । नेपालमा उत्पादित अदुवा निर्यात गर्दा माटोरहित हुनुपर्ने अन्तर्राष्ट्रिय व्यापार सम्झौता भए पनि प्रशोधन विधि र संयन्त्र नहुँदा धेरै वर्षसम्म नेपाली उत्पादनमा भारतीय व्यापारीले मनपरी चलाए । किसानले उत्पादन गरेको ताजा अदुवा धुने र सुकाउने प्रविधि स्वदेशमा उपलब्ध हुन नसक्दा उनीहरुले मूल्य र गुणस्तर पनि मनपरी रुपमा तोके । पछिल्लो समयमा झापासहितका केही स्थानमा प्रशोधन केन्द्र सुरु भएपछि गुणस्तर सुधार भएको छ । तर, त्यहीबेला भारतमा अदुवा उत्पादन बढ्नु नेपाली उत्पादनको अन्तर्राष्ट्रिय व्यापारका लागि खतरा साबित भएको छ।

प्रकाशित: १५ भाद्र २०७३ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App