१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्र एक ढिक्का बनाउने स्वप्नद्रष्टा

ललितपुर- निजी क्षेत्र एकजुट भएर संस्थालाई बलियो तथा प्रभावकारी बनाई देशको आर्थिक विकासमा योगदान गर्नुपर्छ भन्ने चिन्तन राख्ने स्वर्गीय इन्द्रभक्त श्रेष्ठको ९३औं जन्मजयन्तीका अवसरमा शनिबार निजी क्षेत्रका अगुवाले उनको योगदान सम्झिए।

नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक उद्यमी इन्द्रभक्त श्रेष्ठको ९३औं जन्मजयन्तीमा उनका कान्छा छोरा रविभक्त श्रेष्ठले बाबुले अन्तिम अवस्थासम्म पनि राजनीतिक पार्टीहरुलाई विश्वास गर्न सकिने अवस्था झन्झन् कमजोर हुँदै गएकोले नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्स जस्ता निजी क्षेत्रका साझा संस्थालाई कसरी बलियो गर्न सकिन्छ भन्नेमा बढी चिन्ता गर्ने गरेको स्मरण गरे।

जन्मजयन्ती समारोहमा बोल्दै उनले आफ्ना बाबुले सबैभन्दा बढी चिन्ता दुईवटा कुरामा चिन्ता व्यक्त गर्ने गरेको बताए। जस अर्न्तगत पहिलो– बिग्रँदो राजनीतिक वातावरण र दोस्रो– निजी क्षेत्रको एकतामा आएको विग्रह। 'यी दुई कुराले उहाँलाई सबैभन्दा बढी दुःखी बनाएको थियो,' समारोहमा भावुक हँुदै रविभक्तले सुनाए।

इन्द्रभक्त श्रेष्ठले देशमा आर्थिक विकासको जग बसालेको र उद्योग क्षेत्रको विकास हुन थालेको मात्र नभएर उनले संस्थागत रुपमा सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउनको लागि इन्द्र–जवाहर सहयोग गुठीको स्थापना गरेको पनि रविभक्तले स्मरण गरे।

इन्द्र–जवाहर सहयोग गुठीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको बाल उपचार कक्षको सहयोगार्थ ५० लाखको अक्षय कोष स्थापना गरेर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सेवा गरिरहेकोमा अब उक्त कोषलाई चाँडै नै एक करोडसम्मको बनाउने तयारी भएको रविभक्तले बताए।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत स्थापना गरिएको 'इन्द्र–जवाहर सहयोग गुठी'ले एक करोडको श्री इन्द्रभक्त श्रेष्ठ छात्रवृत्ति कोषको नाममा अक्षय कोष पनि खडा गरेको जानकारी दिँदै उनले आगामी शैक्षिक सत्रदेखि प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयमा एमबिए तहमा अध्ययन गर्न आउने जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका दुईजना विद्यार्थीलाई यस कोषले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए। साथै त्रिविका सर्वोत्कृष्ट एक विद्यार्थीलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक प्रदान गरिने उनले समारोहमा जानकारी दिए।

आर्थिक विकास र क्रान्तिको लागि आफ्नो बाल्यकालदेखि नै समर्पित हुँदै आएका श्रेष्ठको करिब १७ महिनाअघि विसं २०७१ मा निधन भएको थियो। इन्द्रभक्तको जन्म सन् १९२४ अगस्ट १६ मा काठमाडौंको इन्द्रचोकमा भएको थियो। उनका ५ छोरी तथा २ छोरा छन्।

जन्मजयन्ती कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक क्रान्ति र विकासमा अतुलनीय योगदान दिएको भन्दै इन्द्रभक्त श्रेष्ठले देखाएको बाटोमा हिँड्ने प्रण उद्योगी व्यवसायीले गर्नुपर्ने बताए।

'त्यतिबेला नेपालमा बैंक खुलेकै थिएनन्, देशको आर्थिक विकासका आधारहरु तय गर्ने व्यक्तिहरुको अत्यन्तै अभाव पनि थियो। यी र यस्ता विषयलाई मध्यनजर गर्दै श्रेष्ठले अनेकौं काम गर्नुभएकोले उहाँलाई बिर्सन हुँदैन,' उनले भने।

यसैगरी, देशको आर्थिक विकास र समृद्धिमा उनको भावुकता र लगानशीलता रहेको  नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले बताए। तर अहिलेसम्म पनि देश आर्थिक रुपमा समृद्ध हुन नसक्दा उद्योगी व्यवसायीहरु चिन्तित रहेको पनि उनले बताए।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले २००७ सालदेखि नै देशमा आर्थिक उन्नतिका अनेकौं कार्यहरु गर्दै आएको र छरिएर रहेका सबै व्यवसायीलाई एकत्रि गर्न मुख्य भूमिका निर्वाह गरेकोले इन्द्रभक्त श्रेष्ठ आर्थिक क्षेत्रका ज्ञातासमेत रहेको औंल्याए।

इन्द्रभक्तलाई छुटाएर आर्थिक क्रान्तिको इतिहास कसैले रच्न नसक्ने चेम्बरका पूर्वअध्यक्ष महेशकुमार अग्रवालले बताए।

आइतबार ललितपुरको हात्तीवनस्थित उनले स्थापना गरेको आइजे पाइनियर स्कुलमा भएको जन्मजयन्तीमा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उल्लेख्य सहभागिता थियो। साथै जन्मजयन्तीको अवसर पारेर इन्द्रभक्त श्रेष्ठद्वारा लिखित आत्मकथा पनि विमोचन गरिएको छ। उनले जिवित छँदै लेखेको उक्त पुस्तकमा उनको भोगाइ, उनीप्रति समाजले देखाएको अपेक्षाको विषयमा लेखिएको छ। उनले लेखेको उक्त पुस्तकलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तथा पूर्वअध्यक्षहरु तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी क्षेष्ठ र पूर्व अध्यक्षहरुले विमोचन गरेका थिए।

प्रकाशित: १२ भाद्र २०७३ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App