१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

'सार्क भारतमात्र होइन'

काठमाडौं- सय दिनको कार्यकालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा केही महत्वपूर्ण उपलब्धी प्राप्त भएको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष  सुरज वैद्यले बताएका छन्। कार्यकाल सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले यस अवधिमा सार्कमात्र नभएर बाहिर पनि कार्यक्रम विस्तार गर्ने योजना बनको बताए।

सार्क क्षेत्रमा रहेका भए पनि अफगानिस्तान र माल्दिभ्स सक्रिय भूमिका नभएको बताउँदै वैद्यले यस अवधिमा उक्त देशलाई सक्रिय बनाउन सफल भएको बताए। 'सय दिनमा सम्पूर्ण सार्क राष्ट्र र त्यहाँका प्रमुखसँग भेटघाट भइसकेको छ,' उनले भने, 'छलफल र भेटघाटबाट नयाँ कार्ययोजना बनाउन सार्थक भएको छ। 

विश्वमा सार्क भनेको भारतमात्र हो भन्ने भान विश्वभर रहेको भन्दै वैद्यले यो भ्रम तोड्न आवश्यक रहेको बताए। यसका लागि निकट भविष्यमा अमेरिका, संयुक्त राष्ट्र संघमा पनि छलफल गर्न लागेको उनले बताए। 'सार्कमा लगानी भित्याउन अहिलेसम्म सार्कभित्र पहल हुन्थ्यो,' वैद्यले भने, 'अब हामी सार्क बाहिर पनि जानु आवश्यक छ। यसको लागि 'बियोन्ड सार्क' कार्यक्रम बनाउन लगेका छौं।'

सार्क उद्योग वाणिज्य संघकै पहलमा नेपालको कर्णाली चिसापानी विद्युत परियोजना निर्माण गर्न पहल भइरहेको वैद्यले बताए। 'सार्क क्षेत्रमा बाहिरी देशको लगानी आकर्षण गर्ने उद्देश्यले करिब २० परियोजना प्रस्ताव माग गरिएको छ,' उनले भने, 'सार्क क्षेत्रमा हरित आवास गृहको प्रवर्द्धनका लागि 'सस्टेनेबल ग्रिन भिलेज कम्युनिटी' परियोजना अगाडि बढाइएको छ।' 

उनका अनुुसार सार्कको आर्थिक विकास गर्न अन्तरक्षेत्रीय लगानी अभिवृद्धि, सार्क औद्योगिक पार्कमार्फत अन्तरक्षेत्रीय औद्योगिकीकरण प्रवर्द्धन, स्मार्ट ग्रिन भिलेज विकास, सिइओ फोरम स्थापना, क्षेत्रीयस्तरमा युवा उद्यमशीलता विकास गर्न यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता, छलफल, भेटघाट, संवाद कार्यक्रममार्फत केही महत्वपूर्ण उपलब्धी भइसकेका छन्।

यस बीचमा वैद्यको नेतृत्वमा संघको प्रतिनिधिमण्डलबाट नेपालसहित अफगानिस्तान, पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंकालगायतको भ्रमण  भइसकेको र बाँकी देशको पनि छिट्टै भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

प्रतिनिधिमण्डलले गत वर्ष चैत ४ मा सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी भई संघको नयाँ नेतृत्वको भावी कार्ययोजना तथा दृष्टिकोण प्रस्तुत गरेको थियो। बैठकमा संघका अध्यक्षले सार्क राष्ट्रबीच मोटर भेइकल एग्रिमेन्टमा हस्ताक्षर हुनुपर्ने, नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने, लगानी आकर्षण तथा लगानी सुरक्षाका लागि आवश्यक नीति निर्माणमा जोड दिएको थियो। 

त्यसैगरी चैत ३० देखि वैशाख २ सम्म अफगानिस्तान भ्रमण गरी 'दक्षिण एसियामा व्यापार तथा लगानीः आफगानिस्तानका लागि अवसर' विषयक सम्मेलनमा सहभागी भएको थियो। सार्कलाई अन्य क्षेत्रीय आर्थिक मञ्चजस्तो आसियन तथा युरोपेली युनियनजस्तो सशक्त संस्थाका रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो। 

प्रतिनिधिमण्डलले वैशाख २ देखि ४ सम्म पाकिस्तान भ्रमणमा व्यापार अभिवृद्धि, पूर्वाधारमा लगानी विस्तार, ऊर्जा विकासमा सहकार्य, दोहोरो करमुक्त सम्झौता तथा क्षेत्रीय लगानीसम्बन्धी सन्धि, सार्क औद्योगिक पार्क निर्माणलगायतमा छलफल भएको थियो।

वैशाख ६ मा भारत भारत भ्रमणमा सार्क राष्ट्रबीच अन्तरसिमाना व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धितर्फ औद्योगिक क्षेत्रमा लगानी सहयोग, अन्तरक्षेत्रीय व्यापार अभिवृद्धि, आर्थिक तथा व्यापार सहयोग बढाउन सदस्य राष्ट्रमा स्वतन्त्रतापूर्वक आवतजावत सुविधा, युवा उद्यमशीलता प्रवर्द्धन, सार्क औद्योगिक पार्क स्थापना, सार्क सिइओ फोरमको गठन लगायतमा जोड दिइएको थियो।

त्यस्तै जेठ २० मा माल्दिभ्स भ्रमण क्रममा सार्क उवासंघका दुई वर्षे कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको वैद्यले बताए। 'क्षेत्रीय अन्तरसम्बन्ध विस्तार, ऊर्जा सहयोग, अन्तरसिमाना लगानी तथा व्यापार प्रवर्द्धन लगायतमा छलफल भएको थियो,' उनले भने।

जेठ २१ मा श्रीलंकाको भ्रमणमा 'साउथ एसियाः सेपिङ द न्यु पाराडाइम फर ग्रोथ' विषयक छलफल भएको थियो। सिंगो दक्षिण एसिया क्षेत्र नै पर्याप्त ऊर्जाका लागि भौंतारी रहेकाले त्यसको परिपूर्ति गर्न यस क्षेत्रमा रहेको सम्भाव्यतालाई अधिकतम विकास गर्नुपर्नेमा जोड दिएको वैद्यले बताए।

यस अवधिमा नयाँ नेतृत्वले केही महत्वपूर्ण क्षेत्रमा काम गर्न सम्वन्धित देशमा कार्यरत केही मुख्य संस्था सावती नेपाल, आइपिएस श्रीलंका, एसडिपिआइ पाकिस्तानसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ भने संघका क्षेत्रीय कार्यालय स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म कोलम्बोमा कार्यालय स्थापना भइसकेको छ। भारतको मुम्बईमा आगामी अक्टोबरमा स्थापना गर्ने अन्तिम तयारी रहेको र बंगलादेशमा शाखा खोल्ने करिब सवै तयारी सकिएको उनले जानकारी दिए।

त्यसैगरी पाकिस्तानको फरिदाबादमा सार्क औद्योगिक पार्क स्थापना गर्ने सम्बन्धमा त्यहाँको सरकारसँग समझादारीपत्रमा हस्ताक्षर भइसकेको छ भने अफगानिस्तानबाट पनि यसबारे प्रतिबद्धता आइसकेको छ। सार्क विकास कोष स्थापना भइसकेको र कोषको मुख्य कार्यालय भुटानमा रहेको छ।

प्रकाशित: ७ श्रावण २०७३ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App