१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से १८ सय बिन्दु नाघ्यो

काठमाडौं-पुँजी बजार मापक नेप्सेले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मौद्रिक नीतिपछि लगातार उकालो लागेको पुँजी बजारले मंगलबार १८ सय बिन्दु नाघेको छ।

मौद्रिक नीतिपछिका तीन कार्यदिनमै नेप्से ८२.३२ बिन्दुले बढेर १८००.४७ अंकमा पुगेको छ । मौद्रिक नीतिपछि खुलेको पहिलो दिन आइतबार २७.५९, सोमबार ४०.८३  र मंगलबार १३.९० बिन्दुले बढेको थियो।

कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन हुने बेला भएको छ । वित्तीय विवरण आउनुअगावै पहुँचवाला लगानीकर्ताले कम्पनीको नाफाघाटा थाहा पाएर राम्रा सेयर उठाउने क्रम सुरु भएपछि मूल्य बढेको अनुमान गरिएको छ ।

गत वर्षको खुद नाफाबाट कुन कम्पनीले कति लांभाश दिन सक्लान् भनी आँकलन गरेर लगानी गर्नेहरुले चौथो त्रैमासको वित्तीय विवरणको रुपरेखा पनि पहिले नै थाहा पाउने भएकाले सेयर मूल्य बढेको विश्लेषक बताउँछन् । गत वर्षको लाभांश बाँड्ने काम कम्पनीहरुले आउने असोजअगावै थाल्ने भएकाले सेयर बजार चौथो त्रैमासको समाप्तिअगावै तरंगित हुन पुगेको हो ।

कम्पनीहरुमध्ये खासगरी बैंक तथा वित्तीय संस्थाले यो चौथो त्रैमासमा पोहोर सोही अवधिको तुलनामा राम्रो प्रगति गरेको वित्तीय विवरण पस्कने संकेत देखिएकोले लगानीकर्ता हौसिएको ब्रोकरहरु बताउँछन् ।

साउन र भदौ सेयर बजारका लागि उर्वर भएको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘गत आर्थिक वर्षको नाफाबाट बैंक, वित्तीय संस्थाले चुक्ता पुँजी बढाउनुपर्ने भएकाले पनि लगानीकर्ता बोनस सेयरको आसमा सेयर किन्न बजार पुग्दा मूल्य बढेको हो,’ उनले भने, ‘यसपालि बैंक, वित्तीय संस्थाले बोनस सेयर छिट्टै नै वितरण गर्ने भएकाले बजार बढेको हुनुपर्छ ।’

बैंक तथा वित्तीय संस्था र लगानीकर्तासँग पर्याप्त तरलता रहेको तर अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नभएकाले त्यो रकम सेयर बजारतर्फ प्रवाह हुने देखिन्छ । बर्खामा घरजग्गाको कारोबार स्थिर जस्तै बस्नु, सुनचाँदी कारोबारमा तेजी नआउनु, ठूला उद्योग–धन्दा र व्यापारमा ठूलो कर्जाको माग नहुनु र लगानी गरेर जोखिम उठाउनेको कमी हुनुले धेरैले सेयर बजारकै सजिलो बाटो रोजेको विश्लेषकको भनाइ छ।

बैंक, वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यमा रोकेको सेयर धितो कर्जा नयाँ आर्थिक वर्षसँगै दिन थालेपछि लगानीकर्ताले कर्जा लिएरै सेयरमा लगानी बढाउन थालेको कतिपयको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा सेयर धितो कर्जा प्रवाह गरेकाले पनि लगानीकर्ता आकर्षित हुने क्रम बढेको ब्रोकरको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरु खराब हुने क्रम घटेको र विगतमा संस्थागत सुशासन र अन्य कारणले डुबेका संस्थाले पनि अचम्ममा पार्ने गरी प्रगति गरेको हुँदा लगानीकर्तामा विश्वास बढेर गएको छ । यसले बजार बढाउन मद्दत गरेको कतिपयको बुझाइ छ ।

बैंकहरुमा अधिक तरलता हुँदा बचत खातामा रकम राख्नेले मुस्किलले दुई प्रतिशत वार्षिक ब्याज पाउँछन् । सेयर बजारमा लगानी गरे सेयरको भाउ बढेमा वा कम्पनीले बाँड्ने बोनस र नगद लाभांशको हिसाब गर्दा कम्तीमा १० प्रतिशत प्रतिफल पाइन्छ भन्ने आम बुझाइ छ । यसले पनि बजार उकालो लागको हो ।

बैंक तथा वित्तीय संस्थाहरु यस वर्ष सकेसम्मको शक्ति लगाएर पुँजी वृद्धि गर्नुपर्ने बाध्यतामा छन् । त्यसैले कम्पनी बोनस सेयर वा हकप्रद जुनसुकै विकल्पमा गए पनि लगानीकर्तालाई नै फाइदा हुन्छ । बैंक तथा वित्तीय संस्थाहरु मात्र नभई केही लघुवित्तको पुँजी बढाउने गरी मौद्रिक नीति आउनु र बिमा क्षेत्रमा आउन सक्ने पुँजी वृद्धिको योजनाले पनि बजार वृद्धिमा थप बल पुगेको देखिन्छ ।

सेयर बजारमा गरिएको लगानीमा कतिपय जोखिमका पक्ष रहे पनि आफूले चाहेको बढीमा एक सातामा लगानी झिक्न सकिन्छ भन्ने बुझाइले पनि काम गरेको ब्रोकरको भनाइ छ ।

२०७४ मा अर्थतन्त्र झनै खराब हुँदैन भन्ने आसमा लगानीकर्ता छन् । यसले पनि वृद्धिमै योगदान गर्छ । मौद्रिक नीतिपछि पुँजी बजार उकास्न बैंकिङ समूहको महŒवपूर्ण योगदान छ ।

मंगलबार बैकिङ समूह ३५.४८ बिन्दुले बढ्यो । विकास बैंक समूहको १५.७७, होटलको ३५.३३, फाइनान्सको ८.८१ र उत्पादनमूलकको ४० बिन्दु वृद्धिले नेप्से उकालो लाग्न सहयोग पुगेको हो ।

पुँजी वृद्धिको हल्लाले सोमबार ६ सय १८ अंकले बढेको बिमा समूह भने मंगलबार ओरालो लागेको छ । बिमा समूहको सूचक मंगलबार २४०.१९ अंकले तल झरेको छ । मंगलबार जलविद्युत समूहको ९.९३ र अन्य समूहको १७.०७ बिन्दुले घट्यो ।

मंगलबार २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माछापुच्छे« बैंकको सबैभन्दा बढी ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी नेपाल बैंकको १० करोड ६३ लाख रुपैयाँको किनबेच भयो ।

मंगलबार २९ लाख २ हजार १ सय २७ कित्ता सेयर किनबेच भएको छ । यस दिन बजार पुँजीकरण १९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससी लगायत नियमनकारी निकायले बजार सुधार, विस्तार र विकासमा खेलेको भूमिकाले पनि नेप्से उकालो लागेको बताइन्छ ।

 

 

 

 

प्रकाशित: ५ श्रावण २०७३ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App