१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

नेपालीका व्यवसायमा मन्दी

१० मलेसियाको राजधानी क्वालालम्पुरको कोतरायास्थित लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे आफ्नो रेस्टुरेन्टमा। तस्बिर:रमेश/नागरिक

क्वाललम्पुर - राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए। ‘पहिले जस्तो चहलपहल छैन,’ उनले नागरिकसँग भने, ‘नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु?’

मलेसिया रोजगारी बन्द हुँदाको असर आङदेम्बेलाई मात्र होइन, क्वाललम्पुर सहरको कोताराया सहित नेपालीको बढी बसोबास रहेका राजधानी बाहिरका सहरहरुमा रेस्टुरेन्ट, पसल जस्ता व्यवसाय चलाउनेलाई पनि परेको छ। नेपाली कामदार आउन रोकिँदा रेस्टुरेन्टमा चहलपहल घटेको छ भने नेपाली कामदारकै लागि लक्षित गरेर खुलेका कपडा, मोबाइल, इलेक्ट्रोनिक्स जस्ता नेपाली व्यवसायीका पसलमा समेत मन्दी छाएको छ। 

‘मलेसियामा नेपाली कामदार पठाउन रोकिएको १० महिना बित्यो,’ गैरआवसिय नेपाली संघ ९एनआरएनए० मलेसियाका कार्यबाहक अध्यक्ष टेकबहादुर टमटाले भने, ‘त्यसको असर नेपालभित्र मात्र होइन, यहाँ करोडौं लगानी गरेर व्यवसाय सञ्चालन गरी बसेका नेपाली व्यवसायीमा समेत परेको छ।’ डडेलधुराका टमटाले कोतारायाको माडिनमा उग्रतारा नामको नेपाली रेस्टुरेन्ट चलाएका छन्। ‘पहिला दैनिक नेपाली आउँथे,’ टमाटाले भने, ‘अहिले आउन त बन्दै छ, यहाँको भिसा र काम सकिएर स्वदेश फर्किनेहरु पनि घटेको घट्यै छन।’ टमाटाले मलेसियामा व्यवसाय गर्ने नेपालीमा आर्थिक मन्दी छाएको सुनाए। कामदार नआउँदा नेपाली व्यवसायीका लगानी फस्न सक्ने जोखिम रहेको लालीगुराँस रेस्टुरेन्टका सञ्चालक आङदेम्बेले सुनाए। 

क्वाललम्पुर सहरको कोताराया आसपास मात्र ३० भन्दा बढी नेपाली रेस्टुरेन्ट छन्। क्वाललम्पुर बाहेक नेपाली कामदार अत्यधिक रहेको जोरबारु, पेनाङ, वातुवाहत, सेरेम्बन लगायत प्रान्तमा समेत नेपाली रेस्टुरेन्ट छन्।  नेपाली कामदारलाई लक्ष्य गरेर खुलेका यी रेस्टुरेन्टमा केही अघिसम्म बिहानैदेखि नेपालीको बाक्लो चहलपहल हुन्थ्यो। नेपाली स्वादका खानादेखि फस्टफुडसम्मको सुविधा पाइने रेस्टुरेन्टहरुमा टाढाटाढादेखि खाना खान नेपाली आइपुग्थे। व्यवसायीका अनुसार आइतबार र अन्य सार्वजनिक बिदाको दिन त खाना खान लाइन नै लाग्नु पर्थ्याे। तर, नेपाली कम आउँदा केही महिनादेखि चहलपहल घटेको मण्डला रेस्टुरेन्टका सञ्चालक पासाङ तामाङले सुनाए। व्यवसायमा आर्थिक मन्दी छाउँदा नेपाली व्यवसायीलाई भाडा तिर्नै धौ धौ छ। कोताराया आसपासका मुख्य बजार क्षेत्रमा व्यवसाय गर्ने नेपालीहरु मासिक १० हजार रिंगेट (दुई लाख ७५ हजार रुपैयाँ) सम्म्म घर भाडा बुझाउँछन्। एउटै रेस्टुरेन्टले १० जनासम्म नेपाली कामदार राखेका छन्। मलेसियामा व्यवसाय गर्न र कम्पनी खोल्न स्थानीय नागरिकलाई साझेदार बनाउनुपर्छ। त्यसरी बिनालगानी नाम राख्नका निम्ति साझेदार बनाइएका मलेसियन नागरिकलाई नेपालीले मासिक रुपमा तलब दिनुपर्छ। 

कामदार नआउँदा मलेसियामा समेत हरेक क्षेत्रमा उत्तिकै असर परेको दोलखाली समाज मलेसियाका अध्यक्ष रमेश बस्नेतले सुनाए। ‘रेस्टुरेन्ट मात्र हैन, कामदार नआउँदा काठमाडौंबाट मलेसिया उड्ने जहाजसमेत खाली आउँछन्,’ उनले भने, ‘यहाँ नेपालीकै लागि भनेर गरिएका विभिन्न उत्पादन तथा दैनिक उपभोग्य सामानको वस्तुको बिक्री वितरणमा समेत असर परेको छ।’ कामदारबाट अतिरिक्त शुल्क असुलेको भन्दै श्रम तथा रोजगार मन्त्रालयले १० महिनादेखि नेपालको श्रम मन्त्रालयले मलेसिया कामदार पठाउन रोकेपछि त्यसको असर देशभित्रको अर्थतन्त्र, कामदारसँगै मलेसियामा लगानी गरेका नेपालीलाई समेत परेको भन्दै तत्काल समस्या समाधान गरेर कामदार आउने प्रक्रिया पुनः सुचारु गर्न नेपाली व्यवसायीले माग गरेका छन्। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App