१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

अधिकारीको कीर्तिमान

दीपक अधिकारी

सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा कांस्य पदक विजेता त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले आठौं संस्करणसम्म आइपुग्दा राष्ट्रिय खेलकुदको अनुभव बटुल्न पाएका थिएनन्।

पोखरामा जारी नवौं संस्करण नै दीपकका लागि राष्ट्रिय खेलकुदमा डेब्यु थियो। आइतबार बिहान पोखरा रंगशालाको ट्य्राकमा पुरुष १० हजार मिटरमा प्रतिस्पर्धा गरिरहँदा उनका लागि मुख्य प्रतिस्पर्धी थिए एपिएफका गोपीचन्द्र पार्की। गोपीचन्द्रको नाममा १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान पनि थियो। गोपीचन्द्रले सन् २०१४ मा इन्चोन एीसयाली खेलकुदमा १० हजार मिटर दौड ३० मिनेट ३०.९९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेका थिए। १३औं सागमा पाँच हजार मिटरतर्फ स्वर्ण विजेता गोपीचन्द्रका लागि भने सातौं संस्करणबाट लगाार स्वर्ण पदक जितेको अनुभव थियो।

त्यसैले दीपकका लागि गोपीचन्द्र मुख्य प्रतिस्पर्धी हुने निश्चित थियो। दीपकले उनै कीर्तिमानी गोपीचन्द्रलाई पछि पार्दै नवौं राष्ट्रिय खेलकुदमा स्वर्णमात्र जितेनन्, गोपीचन्द्रकै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत तोडे।

दीपकले निर्धारित दूरी ३० मिनेट १०.३० मा पूरा गर्दै स्वर्ण पदक जिते। दोस्रो स्थानमा रहेका गोपीचन्द्रले निर्धारित दूरी पूरा गर्न ३० मिनेट १०.३८ सेकेन्डको समय लगाए भने आर्मीकै गजेन्द्र राईले निर्धारित दूरी ३० मिनेट ४९.५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते। ‘मसँग राष्ट्रिय खेलकुदको कुनै अनुभव नै थिएन तर पनि पहिलो सहभागिता नै यादगार बनाउने गरी निरन्तर मिहिनेत गरेको थिएँ,’ दीपकले भने, ‘त्यसमाथि यही विधामा मैले १० हजार मिटरर्फका राष्ट्रिय कीर्तिमानी तथा अनुभवी गोपीचन्द्र पार्की दाइसँग प्रतिस्पर्धा गर्नु थियो। मेरा लागि यो कठिन चुनौती थियो तर यो चुनौती पार गर्न सक्छु भन्ने आत्मविश्वास थियो।’

‘आर्मीमा भर्ती हुनु अघिसम्म मलाई खेलकुदका बारेमा जानकारी नै थिएन भन्दा पनि हुन्छ,’ दीपकले थपे, ‘२०७१ सालमा आर्मीमा भर्ती भएपछि मात्र मेरो खेलप्रति अझ भनौ एथलेटिक्सतर्फको लगाब बढ्यो। त्यहाँ हुने आन्तरिक प्रतियोगितामा निरन्तर सहभागी भएँ। मलाई राजेन्द्र भण्डारी गुरुले क्लबमा ल्याउनुभएको हो। आज मैले उहाँले मप्रति गरेको विश्वासलाई प्रमाणित गरेको अनुभव भैरहेको छ। आर्मीको प्रशिक्षणका कारण मैले २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद खेल्न पाइनँ। तर म सोही वर्ष प्रधानसेनापति ट्रफीमा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदक जित्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सफल भएँ।’

एथलेटिक्सर्फ आइतबारै सम्पन्न पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जित्दा बाग्मती प्रदेशका निकेश महतो र नेपाल पुलिस क्लबका रोशन दनुवारले कांस्य पदक जिते। महिला हाइजम्पमा पनि आर्मीकै खगिता सिंजालीले स्वर्ण पदक जित्दा आर्मीकै बिन्दु थनेतले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य पदक जिते। यता महिला ४ सय मिटर दौडमा आर्मीकी जयारानी थारुले राष्ट्रिय र्कीिर्तमानसहित स्वर्ण, एपिएफकी भगीरथ कुमारी थारूले रजत र एपिएफकै कल्पना श्रेष्ठले कांस्य पदक जिते।

प्रकाशित: ३१ आश्विन २०७९ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App