१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रकृति र प्रबन्धन

दर्शन

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्थे–मान्छे दुई तरिकाले मूर्ख बन्छ। पहिलो जुन सत्य छ, त्यसलाई भरोसा नगर्नु र अर्को जुन असत्य छ, त्यसलाई सत्य मान्नु।

जुन दिनदेखि तपाईं ठान्नुहुन्छ कि म धेरै ज्ञानी, समझदार र जान्ने भएँ; त्यो दिनदेखि तपाईंको ज्ञानमाथि धुलो पर्न थाल्छ, अहङ्कारको मोटो पर्दा तपाईंको आँखामाथि पर्न थाल्छ, तपाईं सिक्न छाड्नुहुन्छ। तपाईं सबैलाई बुझाउन, सम्झाउन, सिकाउन थाल्नुहुन्छ र जति यस्तो गर्नुहुन्छ, त्यति तपाईंको सम्बन्ध र प्रभाव खराब हुँदै जान्छ। अचम्मको अर्को कुरो के छ भने यो तपाईंलाई थाहा नै हँुदैन। यही भ्रममा सारा जीवन नष्ट हुन्छ। आफ्नो अनुभव, आफ्नो ज्ञान, आफ्नो सिद्धान्त महान छ तर परिणाम शून्य।

हामीले यो कुरा याद राख्नुपर्छ कि संसार एउटा ठूलो विश्वविद्यालय हो। सबै मानिस प्रोफेसर, टिचर र उपदेशक हुन्। हामी विद्यार्थी हौँ। जहिले पनि यस कुरालाई याद गरेर तपाईं जीवन जिउनुहुन्छ भने तपाईंमा सिक्ने रहर र चाहना जिउँदो रहन्छ। जहिले पनि तपाईंको ज्ञानमा वृद्धि भई रहन्छ। तपाईंको अनुभव परिष्कृत भइरहन्छ। तपाईंको व्यवहार शुद्ध र सरल हुँदै जान्छ। तब तपाईंको प्रतिष्ठा, प्रभाव र आदर बढ्दै जान्छ। जसको कामना तपाईं अन्तर मनले गरिरहनु हुन्छ।

परम ज्ञान, शुद्ध ज्ञान, महाज्ञान वा शक्तिशाली ज्ञान के हो? यो जान्न र बुझ्नका लागि हामी धेरै किताब पढ्छौँ, कार्यशालामा भाग लिन्छौँ, लेख पढ्छौँ। तर सबैभन्दा महत्त्वपूर्ण, सरल र सजिलोसित प्रकृतिबाट हामी यो महाज्ञान सिक्न र बुझ्न सक्छौँ।

प्रकृतिका सातवटा रहस्य छन्। यसलाई प्राकृतिक गुण पनि भन्न सकिन्छ। प्रकृतिका यी सातवटा गुण हामी आफ्नो जीवनमा समाहित गरेर आफ्नो जीवनलाई महान् बनाउन सक्छौँ।

समानता

प्रकृतिले आफ्नो स्रोतका सबै कुरा समान रूपमा सबैलाई दिन्छ। जाति, धर्म वा उचनिचका आधारमा कसैलाई केही विभेद गर्दैन। त्यस्तै हामीले पनि वाणी र व्यवहारले कसैलाई असमानताको व्यवहार गर्नु हुँदैन। व्यक्तित्व विकास र उच्च सहयोगका लागि यस परम नियमलाई स्वीकार्नुपर्छ। असमानताको भावले गर्दा पनि दैनिक जीवनमा कलह, रोकावट र अशान्ति आइरहन्छ। हामीलाई आफ्नो मनबाट असमानताको भाव हटाउनुपर्छ। धर्मग्रन्थहरूमा पनि भनिएको छ कि हामी सबैमा भगवान्को अंश हुन्छ। यसको सिधा उद्देश्य के छ भने सबैसित समान रूपमा व्यवहार गर्नुपर्छ।

समयको सीमा

प्रकृतिले आफ्नो काममा एक सेकेन्ड पनि ढिलो गर्दैन। आफ्नो समयमा सारा काम नियमित गरिरहन्छ। ठाक्कै त्यस्तै हामीलाई पनि आफ्ना सबै कामहरू व्यक्तिगत होस् वा पारिवारिक, सामाजिक होस् वा कार्यालयको होस्, एकदम अनुशासित भएर इमानदारीपूर्वक समयमा गर्नुपर्छ। हामीलाई जुन पनि काम पछाडि सार्ने बानी परेको छ। यो क्यान्सर रोगजस्तै छ। एकपटक यो बानीको गुलाम हुनुभयो भने आजीवन दुःख, सन्ताप र पछुतोको सामना गर्नुपर्छ। शान्ति, सफलता र सम्मानका लागि हामीले नियम बनाएर सारा काम समयमा नै गर्नु बुद्धिमत्ता हो। मान्छेहरू पहिला समय बर्बाद गर्छन्, पछि समयले मान्छेलाई बर्बाद गर्छ।

परिवर्तन

हाम्रो मन सधैँ सेफजोनमा रहन चाहन्छ। यसकारण मन कुनै पनि परिवर्तनसँग डराउँछ। तर हामी डराएर केही पनि हुँदैन। जुन हुनेवाला छ, त्यो पक्का हुन्छ। स्वीकार्नु नै छ भने दुःखलाई पनि आनन्दले स्वीकार गर्नु राम्रो हुन्छ। तपाईं हेर्नुहुन्छ कि प्रतिपल प्रकृतिमा परिवर्तन भइरहेको छ। सुन्दरता, विकास र राम्रोकै लागि सधैँ प्रकृतिमा परिवर्तन आइरहन्छ। परिवर्तन विकासको नियम हो। हामीले यसलाई मुटुले स्वीकार गर्नुपर्छ। अफिसमा काम गर्दाखेरि जब मान्छेलाई सरुवा गर्‍यो भने त्यो मान्छे दुःखी र तनावमा जान्छ। सरुवा गरिदिन्छ कि? यो सोचेर मान्छे तनावमा गइहाल्छ। यसकारण हामी कुनै पनि परिवर्तनले डराउनु हुँदैन। जुन सुअवसरको कामना हामी गर्छौ, त्यो सजिलैसित पाउन सक्दैनौँ। परिवर्तनलाई प्रकृतिको नियमजस्तै मुटुदेखि नै स्वीकार गर्नुपर्छ।

अदृश्य महाप्रबन्धन

प्रकृति एउटा महान प्रबन्धक हो। कसैले त्यसलाई हेर्न सक्दैन तर पनि त्यसले आफ्नो काम मजासित गरिरहन्छ। हामी घरको बोस, अफिसको बोस वा कुनै टिमको बोस भएपछि अहङ्कार बढ्न सक्छ तर यसलाई बुझ्नुपर्छ। प्रकृति सबैभन्दा ठूलो महाप्रबन्धक हो। प्रकृति कहीँ देखिँदैन तर आफ्नो काम राम्रो तरिकाले गरिरहेछ। व्यवस्था चलाउन जति शान्त, सरल निष्पक्ष रहनुहुन्छ, त्यति नै राम्रो हुन्छ। तपार्इंको उपस्थिति प्रेरक, सुखद् र आनन्ददायी हुनुपर्छ, न कि दुःख र तनावयुक्त। तपाईंको उपस्थिति पनि प्रकृतिजस्तै नै हुनुपर्छ। यसकारण प्रकृतिजस्तै सरल, संयमित र शान्त भएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।

आनन्द

प्रकृति सधैँ मस्त र आनन्दमा रहन्छ। प्रकृतिको कणकण आनन्दमा रमाइरहेको छ। सजीव होस् वा निर्जीव, सबै आआफ्नो मस्तीमा मस्त छन्। प्रत्येक रुखका पातहरू नृत्य गरिरहेका छन्। उपनिषद्को भनाइ छ–आनन्दबाट मान्छेको जन्म भएको छ। आनन्दका लागि बाँचिरहेको छ। अन्त्यमा मृत्युपछि आनन्दको महासागरमा विलीन भएर जान्छ। तपाईं जति आनन्दित हुनुहुन्छ, त्यति नै प्रभावकारी ढंगले आफ्नो जिम्मेवारी पनि पूरा गर्न सक्नुहुन्छ।

इमानदारी

प्रकृतिले आफ्नो स्तोत्रका सबै साधनहरू इमानदारीपूर्वक वितरित गर्छ। कसैसित भेदभाव पनि गर्दैन। त्यस्तै हामी सबैले यो कुरा याद राख्नुपर्छ। इमानदारीपूर्वक कार्य गर्न हो भने सफलता पनि प्राप्त हुन्छ। शान्ति र सन्तुष्टि पनि प्राप्त हुन्छ। यसबाहेक सम्बन्ध र प्रभाव पनि राम्रो रहन्छ। चरित्र निर्माणको कुरा होस् वा असल मान्छेको कुरा होस्, यी दुवै कुरा इमानदारीबाट नै प्राप्त हुन्छन्।

अनन्त

ब्रह्माण्ड अनन्त छ र शक्तिशाली पनि छ। यसको कुनै सीमाना छैन। त्यस्तै मानिसको मानसिक क्षमता पनि असीमित छ। यस कुरालाई याद राख्दै शक्ति लगाएर दैनिक कार्य गर्नुपर्छ। त्यसपछि मात्र आँटेको कार्य पूरा हुन्छ। कहिले पनि यो सोच्न हुँदैन कि म एक्लो छु वा म गर्न सक्दिनँ। म पनि शक्तिशाली छु, यो सोचले नै तपाईंलाई ब्रह्माण्डसित सम्पर्क गाँसिदिन्छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App