१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

नेपाली लेखक संघ, कास्कीको पुरस्कार मतिप्रसाद ढकाललाई

नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ। पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले जानकारी दिए। पहिलो चरणमा कार्यसमिति सहितको सहभागितामा केही उत्कृष्ट कृति छनोट गरिएको र दोस्रो चरणमा छनोट समितिलाई जिम्मा लगाइएका कृतिहरूको गहन अध्ययन गरी  ‘महाभारतमा के छ?’ कृतिलाई छनोट गरिएको संयोजक अधिकारीले बताए। ‘निबन्धात्मक रूपमा महाभारतका गहन विषयलाई सरल ढंगले प्रस्तुत गरिएको सो कृतिमा विशेषतः नीतिपरक निबन्धहरू समेटिएका छन्’ अधिकारीले भने।  विसं २०७७ सालभरिमा गण्डकी प्रदेशका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिमध्येबाट सर्वोत्कृष्ट कृति छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

आगामी चैत्र ५ गते सो पुरस्कार अर्पण गरिने संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए। नेपाल संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक ढकाल लामो समयदेखि लेखनमा सक्रिय छन्। पूर्वीय साहित्य र दर्शनमा विशेष रुचि राख्ने उनी भाषा सम्पादकका रूपमा पनि विभिन्न ठाउँमा आबद्ध छन्। उनले २०७६ सालदेखि पठन संस्कृति अभियान समेत सञ्चालन गर्दै आएका छन्। ढकाल नेपाली भाषाको शुद्धीकरण अभियानमा पनि निकै सक्रियतापूर्वक संलग्न रहँदै आएका छन्। संस्कृत विश्वविद्यालयबाट शास्त्री, व्याकरणाचार्य र विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन्। बागलुङमा जन्मेका ढकाल हाल नवलपुरका स्थायी बासिन्दा हुन्।

२०७६ सालमा स्थापित यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। साहित्यकार डा.ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार दीपक समीप, लेखक रीतादेवी कँडेल, संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्मा, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ सदस्य रहेको संस्थाले जनाएको छ। बर्सेनि प्रदान गरिने यो पुरस्कार यसअघि स्याङ्जाली स्रष्टा सरोज अर्यालले लेखेको ‘दीपाञ्जली’ उपन्यासलाई प्रदान गरिएको थियो।

साथै संस्थाले अर्को वर्षको पुरस्कारका लागि २०७८ मा गण्डकी प्रदेशका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिहरू संकलन गर्ने कार्यको जिम्मेवारी संस्थाका सह–सचिव प्राञ्जललाई प्रदान गरेको पनि पौडेलले जानकारी दिए।

साथै उक्त अवसरमा लामो समयदेखि पोखरामा रहेर साहित्य, दर्शन, राजनीति र पत्रकारितामा विशिष्ट योगदान पुर्‍याउने प्रजातान्त्रिक आन्दोलनका एक अगुवा केशवराज पराजुलीलाई विशिष्ट सम्मान अर्पण गरिने कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए।  

प्रकाशित: ३ चैत्र २०७८ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App