२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

शिक्षक र शिक्षक बन्न चाहनेले पढ्नै पर्ने उपन्यास उज्यालोतिर

समीक्षा

 लक्ष्मीप्रसाद पौडेल

सुनवर्षी बुक हाउसले बजारमा ल्याएको टीकाराम रेग्मीको उपन्यास उज्यालोतिर पढ्ने अवसर जुर्यो। मैले पनि छोटो समय शिक्षण पेशा गर्ने अवसर पाएको थिएँ। आज उज्यालोतिर पढिरहँदा आफ्नो शिक्षण कला कुन धरातलमा रहेछ कसी लगाउन पुगेको छु।

उज्यालोतिर शैक्षिक साहित्यमा, शिक्षण कलामा युगान्तकारी परिवर्तनको सम्भावना बोकेको व्यावहारिक उपन्यास हो। यसमा आदर्श छैन। उपन्यासकार कल्पनामा हराएका छैनन्। उनी यथार्थ आवश्यकतालाई टपक्क टिपेर उपन्यासको स्वरूप खडा गर्न सफल भएका छन्। 

दश कक्षा पार गरेपछि अधिकांश युवायुवतीको चाहना प्राविधिक शिक्षा पढ्ने हुन्छ। शिक्षा शास्त्र पनि प्राविधिक विषय नै हो । तर, यसलाई मास्टरी पेशाको रूपमा अपहेलित गरिएको छ। यस्तैमा घर छोडेर बाहिर पढ्न  जान नसक्नेहरू  स्थानीय स्तरमा उपलब्ध विषय मन नलगाईनलगाई पढ्न विवश हुन्छन्। यस्तै एउटी छात्रा हुन् सरिता। घर पायक भएर शिक्षा शास्त्र पढ्न पुगेकी।  स्नातक तहको पढाइ सकेपछि उस्तै अनिच्छा बीच शिक्षण पेशामा होमिएकी एउटी अदम्य साहस, केही गर्छु भन्ने हुटहुटी, पेशाप्रति इमानदार र लगन बोकेकी शिक्षिकाको कथा हो उल्यालोतिर।  उपन्यास सरिताको कला कौशल वरिपरि घुमेर शैक्षिक साहित्यमा कोशेढुङ्गा बन्न पुगेको छ।

पुस्तकमा लेखकीय भावना वर्षौ आफूले आगालेको शिक्षण पेशाप्रति इमानदारीपूर्वक प्रस्तुत भएको छ।   कलात्मक, बिम्बात्मक,  सरल अक्षरहरूको माध्यमबाट अहिलेको हाम्रो शिक्षण पद्धतिको जालोलाई नराम्रोसँग झकझक्याएको छ उपन्यासले। शिक्षण पेशाप्रति अहिलेको युवा विकर्षणलाई, छोडेको पेशाको उपमालाई एउटा युवा पात्रकै माध्यमबाट उच्च स्तरमा उभ्याउन सफल भएको छ उपन्यास। शिक्षण सिकाइ व्यावहारिक  उत्तम कि सैद्धान्तिक? आजको यो  प्रश्नलाई हाम्रो कठघरामा उभ्याएको छ उपन्यासले। यो  एउटा कक्षाकोठा भित्रको विशुद्ध प्रयोगात्मक उपन्यास हो। कक्षाकोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय समेटेर प्रकाशनमा आएको कृति हो, ‘उज्यालोतिर’।

प्रभावकारी सिकाइबारे बोल्न र लेख्न टीकाराम रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रुपमा शिष्ट विद्रोहभन्दा फरक पर्ने छैन।

उपन्यासको अर्को सफल पक्ष  परिवर्तन सम्भव छ र यो परिवर्तन अहिलेको युवा पिँढीबाट मात्र सम्भव छ भन्ने सन्देश प्रवाह गर्नु रहेको छ। हिजोका असल व्यक्तिहरूको हौसला र उत्प्रेरणालाई पूँजीको रूपमा ग्रहण गरेर परिवर्तनलाई संस्थागत गर्न सकिन्छ भन्ने प्रमुख भाव छ उपन्यासमा।

अहिले प्राथमिक तहदेखि माध्यमिक तहसम्मको शिक्षण पेशा अगालिरहनु भएका शिक्षणकर्मीहरू,  भोलि शिक्षक बन्छु भनेर  शिक्षा शास्त्र लिएर अध्ययन गरिरहनुभएका र शिक्षा क्षेत्रमा नीतिनिर्माण तहमा रहनुभएका सम्पूर्ण व्यक्तिले  पढ्नैपर्ने  सुन्दर र उत्कृष्ट पुस्तक हो उज्यालोतिर। आफ्नो अनुभव, व्यावहारिक  सिकाइलाई औपन्यासीकरण गर्ने उपन्यासकार टीकाराम रेग्मीको कलाकौशल, शब्द चयन, कथानक विस्तारमा आरोह–अवरोह छ, युवायुवती बीचको प्रेम, बिछोडले उत्सुकता जगाउँछ,  कौतुहलतापूर्ण छ, उत्कृष्ट छ।  

(यस पुस्तकभित्रका केही अंशहरू)

‘ओई, मलाई देखेकी छैनस् र क्वारक्वार्ती हेरेकी?” प्रभाले प्रयासतिर छड्के आँखाले देखाउँदै भनी, ‘सरिते, उसलाई हेर् न । विचरा कत्ति आत्तिएको छ, अब भेटै हुन्न जस्तो।’

‘यसै गरी मेरो मन पढिदिने कोही भा’पो! प्रयास मुस्काउँदै प्रभातिर फक्र्यो।’

‘हेर् सरु, यी दिन खोजेर अब कहिले पाउँछेस्? समयको नदी त बगिरा’छ। ओए, आज लागेको डढेलो भोलि निभाएर हुन्छ?’ प्रभाले मेरा हात पन्छाउँदै आँखा झिम्क्याई।’

कतै अल्झिनु थियो । सोच्दै थिएँ— कता लागौं? इच्छाले नभएर घर पायक भएकाले शिक्षाशास्त्र पढेकी थिएँ। भर्ना हुँदै दादाको प्रश्न थियो, ‘शिक्षककै बाटो रोज्यौ?’ उहाँका शब्द बिझाएका थिए मलाई।

                    -                                   -                                        - 

‘तिमीलाई थाहा छ, हिजोआज तिमीजस्ता विद्यार्थी यो क्षेत्रमा रमाएर आउँदैनन्। रंगीन संसारको चकचकी भएको जमानामा तिमीले शिक्षकको सादा जीवन रोजिछ्यौ।’ उहाँले फेरि पनि मेरो अनुहार हेर्दै भन्नुभयो।

‘यस क्षेत्रमा प्रवेश गरेपछि योग्य शिक्षक हुन चाहन्छु। यसका लागि तपाईंबाट सहयोग पाउने विश्वास लिएर आएकी छु सर!’ मैले बोलीमा पनि राम्रै अभिनय गरें।

‘तिमीलाई थाहै छ, आजको पुस्ता परीक्षा उत्तीर्ण गर्ने उद्देश्य लिएर शिक्षालयमा भर्ना हुन्छ। अध्ययन र ज्ञानमा उसलाई रुचि छैन। उसमा प्रमाणपत्र नै विद्वत्ताको प्रमाण हो भन्ने भ्रम छ। तिमीमा पनि धेरैथोरै यस्तो भ्रम होला। तिमी असल शिक्षक हुन चाहन्छ्यौ भने सर्वप्रथम त यो भ्रमलाई च्यातेर सिकाइ र प्रमाणपत्र फरक कुरा हुन् भन्ने बुझ्नु आवश्यक छ।

                  -                          -                                             -

‘अत्यधिक शिक्षक हिंड्ने बाटोमा खाल्टाखुल्टी छैनन्, आँखा चिम्लेर पछि लागे पुग्छ। तर, आफ्नो पेशागत धर्म निभाउँछु, ‘शिक्षक’ बन्छु भन्ने लाग्छ भने, आफैंलाई ढाँट्न छल्न चाहन्नौ भने आफैंंले गोरेटो कोर्नुपला। यसो गर्दा बाटोमा ठेस लाग्न सक्छ, खाल्टाखुल्टीमा पर्न पनि सकिन्छ, होसियार हुनुपर्छ। त्यसैले यसका लागि अध्ययन चाहिन्छ। कुनै पनि बहानामा अध्ययन छाड्न पाउनेछैनौ।’  उद्देश्यप्रति सचेत मानिस कहिल्यै हार्दैन।’

‘तपाईं विद्यार्थीलाई खेलाउनु मात्र हुन्छ कि पढाउनु पनि हुन्छ ?’

‘पढाउनकै लागि खेलाउँछु, सर।’ भन्दै झोलाबाट केही सामान निकालेर देखाएँ। रंगीन बलहरू, शब्द र चित्रपत्तीहरू, डायरी, कलम आदि टेबलमा राखें। देखें, उहाँको अनुहार प्रतिक्रियाविहीन थियो।

‘के सिकाउनुभयो त यी वस्तु खेलाएर?’

‘आज उनीहरूलाई रेड र ह्वाइट चिन्न र भन्न सिकाएँ।’

सम्हालिंदै भनें, “सर, गलत तरीकाको अध्यापन र सिकाइको परिणाम मैले आज पर्यन्त भोग्दै छु। के मैले पनि बालबालिकालाई म जस्तै बनाऊँ? त्यो सजाय मैले जे भोगें भोगें, तर मेरा विद्यार्थीलाई भोगाउन चाहन्नँ।’ यति भन्दासम्म मेरा कान तातेर राता भइसकेका थिए।

  -                            -                                            - 

‘के तपाईंहरू बिग्रिएकै हो?’ हेड सरको बोली व्यंग्यात्मक थियो।

‘हो सर, जानेर वा नजानेर हामीलाई बिगारिएकै हो। यसको दोष भने म गुरुहरूलाई मात्र दिन चाहन्नँ। उहाँहरूले राम्ररी सिकाउन खोज्नुभएको थियो होला; माया गर्नुभयोे, अनुशासनमा राख्नुभयो, अभिभावकत्व दिनुभयो तर सिकाउने कुरामा आवश्यकता पूरा गर्न सक्नु भएन। लाग्छ, त्यस समय उहाँहरूलाई यही ठीक लाग्यो होला।’ मैले यसरी बोल्दा सरहरू मुखामुख गर्दै हुुनुहुन्थ्यो।

‘सर, भाषा शिक्षणको मेरुदण्ड नै सुनाइ–बोलाइ ... ... ..।’

-                          -                           -                               - 

‘को हो शिक्षक? के हो शिक्षक? कुशल शिक्षकले विद्यार्थीलाई उता हेर भने पनि त्यो हेर भन्दैन। शिक्षक सभ्यताको निर्माता र रक्षक पनि हो। क्षमताका अनगिन्ती सुषुप्त बीउलाई सक्रिय पारिदिएर जीवनमा उतारिदिने माली पनि हो शिक्षक। के त, त्यसो भए म पनि शिक्षक हुँ?’

हाम्रा पुर्खा पनि शिक्षित थिए? तिनीहरू पनि हामी विद्यालय, विश्वविद्यालय जान्थे? उनीहरूको सिकाइको ढाँचा पनि यस्तै थियो? हाम्रा निरक्षर बुबाआमालाई केले बनायो शिक्षित? कहाँ पाएज्ञान? कसरी जाने सीप? निरक्षर मानिस पनि शिक्षित हुन्छ? औपचारिक र अनौपचारिक शिक्षा भनेको नि? सिकाउनु र सिक्नुका बीच के सम्बन्ध छ? पाठ्यपुस्तकको भूमिका के हो ? यी केका लागि हुन्?

‘ज्ञान समाजको उत्पादन हो। त्यसैले ज्ञान प्राप्त गर्नेले त्यही समाजलाई ऋण तिर्नुपर्दछ। ज्ञान निजी हुँदै हुन्न, यो सार्वजनिक हो र हुनुपर्दछ। 

––– ।’

‘आफूले दशकौसम्म प्राप्त गरेको अनुभव कथा, कविता, लेख, नाटक, उपन्यास जस्ता विधामा अभिव्यक्त गर्नु भनेको ज्ञानको पुस्तान्तरण हो।’   डा. मनप्रसाद वाग्ले (यसै पुस्तकभित्र)

अन्त्यमा यो उपन्यासलाई माध्यमिक तह, शिक्षा संकाय, र विश्वविद्यालय तहको पाठ्यपुस्तक  सामाग्रीको रुपमा समावेश गर्न सके हाम्रो शिक्षण सिकाइमा आगामी पुस्ताले फड्को मार्न मद्दत पुग्ने देख्दछु।

उपन्यासकार टीकाराम रेग्मीको उच्च साहित्यिक यात्राको कामना गर्दछु।  

प्रकाशित: २६ पुस २०७८ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App