४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

महाकवि देवकोटाको घर भत्काउनु बाध्यात्मक : प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु बाध्यात्मक भएको जनाएको छ। प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा प्रतिष्ठानको ध्यानाकर्षण भएको जनाउँदै संग्रहालयका लागि घर भत्काउनु आवश्यकता रहेको ठहर गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु. २ करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा ल्याइएको जनाउँदै प्रतिष्ठानले संग्रहालय बनाउनका लागि आवश्यक कामका लागि घर भत्काउनु परेको स्पष्ट पारेको छ।

‘देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो। विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटकपटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिने÷नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो। अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई भएकै छ।’ प्रतिष्ठानले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

त्यस्तै, ‘उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो। प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो। प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो। सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ। प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २२ श्रावण २०७८ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App