८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

राष्ट्रिय एकता दिवसमा साइकल यात्रा

कोभिड–१९ ले गर्दा गत वर्षको चैत्रदेखि यता तीनचार वटा साइकलयात्राबाहेक घरमै कोचिनुबाहेक अरू काम भएन । न त विद्यालय न घुमफिर, पठनपाठन पनि घरमै । अनि ओल्लो कोठा पल्लो कोठा गरयो, धेरै टाढा गए घरको आँगन उही बारीको पाटो , साथीभाइ, नयाँ मान्छेसँग भेटघाट गर्न नमिल्ने । बिहानदेखि बेलुकासम्म उही अनुहार हेरयो बस्यो । कोरोनाको महामारी फैलनुभन्दा पहिले महिनामा  एकदुई  वटा साइकल  रयालीको आयोजना हुन्थ्यो । कार्यक्रम नभए शनिबार आयो कि कट्टू– गन्जी लगायो, जुत्ताको तुना गुजुल्ट्यायो, खाजापानीको एउटा ब्याग भिरयो, चस्मा र हेल्मेट ढल्कायो अनि घरबाट फुत्त निस्केपछि खेतबारीको आली – कान्लामा साइकल कुदायो, डाँडाकाँडामा पुग्यो जहिल्यै पोटल पिक्निक । सम्झिदै मजा आउँछ । कोभिडले गर्दा वैशाख पूर्णिमामा साइकल चढेर लुम्बिनी जाने योजना चट ।  मंसिरमा तेस्रो पल्ट साइकल चलाएर जनकपुर ह्याट्रिक गर्ने योजना पनि स्वाहा । यो नौदश महिनाको समय सुरुको १५ दिन रमाइलो लागे पनि बाँकी समय “...उदास मेरो जिन्दगी ...” भन्ने गीतजस्तै भयो । तर पनि मेरो बाबाले यो समयमा मेरो उत्साह मर्न नदिन केही न केही गर्नुभयो । बाबा भन्दा पनि उहाँ साथीको रूपमा प्रस्तुत हुनुभयो ।

बाबाले गर्नु भएको विभिन्न क्रियाकलापमध्ये करिब  तीनचार  महिना अघिदेखि प्रत्येक शनिवार विहान बाबाको प्रयासमा हाम्रो गाउँ ठाउँ वरिपरिका मेरो उमेर समूहका केही पाँचछ वर्षका बच्चाहरू जम्मा गरेर डेढ दुई घण्टाको साइक्लिङ गराउन थाल्नुभयो । हाम्रो यात्राको गन्तव्य घर आसपासकै पाँचछ  किमीको नयाँ ठाउँ हुने गर्छ । सुरुसुरुमा चारपाँच जनाको समूह थियो । अहिले बढेर पन्ध्रबीसजनाको समूह भयो । हाम्रो यो साइकल समूहलाई बाबाले आरुबारी  जुनियर साइक्लिङ क्लब नाम राखिदिनुभएको थियो । यसमा अरू केही अभिभावकले पनि साथ दिन थाल्नुभयो । यो देखेर  प्याङ्कबाइकको तिरेक अंकलले आरुबारी  फ्यामली  साइक्लिङ क्लब आरुबारी भनेर सम्बोधन गर्नुभयो । यो नाम बाबालाई पनि मन परेछ अनि हाम्रो समूह आरुबारी जुनियर साइक्लिङ क्लबबाट आरुबारी फ्यामली साइक्लिङ क्लब हुन पुग्यो । अहिले हाम्रो समूहको सबै भन्दा कान्छो साइकलयात्री १८ महिनाको यथार्थ जोसी हो । उसलाई उसको बाबाले ट्राइसाइकलमा लिएर आउनुहुन्छ । साइकल चढ्ने क्रममा १ दिन बाबाले अचानक “अब तिमीहरूका लागि एउटा साइकल रयाली र अर्काे हाइकिङ सहतिको पोटलक पिक्निक गराउँछु ।” भनेर सुनाउनुभयो ।  त्यो सुनेर हाम्रो खुसीको समिा रहेन । हामी सबै पागजस्तै चिच्यायौं । यस्तो साइकल रयालीको अनुभव हाम्रो समूहमा मबाहेक अरू कसैलाई पनि थिएन । यस्तो रयालीमा बाबाले मलाई ५ वर्षको उमेरदेखि नै विभिन्न संघसंस्थाले गरेको रयालीमा सहभागी गराउन थाल्नुभएको हो । 

राष्ट्रिय एकता दिवस अर्थात् पौष २७ गते ‘ग्राम निर्माण बन्धु मण्डल क्लब आरुबारी’ ले १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई लक्षित गरेर साइकल  रयालीको आयोजना गरयो ।  रयालीको दिन सबेरै उठें । हातमुख धोर्इ सक्दानसक्दै  मामुले रोटी र कालो चिया ठिक गरिदिनुभयो । बाबा र मैलेसँगै बसेर चिया रोटी चोप्दै खाँयौं । बिहान ७ बजेतिर बाबा र म साइकलमा  रयाली सुरु हुने ठाउँतिर लाग्यौंँ । त्यहाँ सहभागीहरूको नाम दर्ता भयो । आयोजकले साइकलमा झुन्डाउन राष्ट्रिय झन्डा र लगाउन जर्सी दिनुभयो । झन्डा साइकलमा झुन्डाएँ र जर्सी भिरें । सबैले त्यसै गरे । दर्ताको काम सकिएपछि ठूलो बाबा ( देवेन्द्र बस्न्यात  ) ले यात्रीको मार्ग, सुरक्षा सावधानी लगायतका कुरा बताउनुभयो । क्लबका अध्यक्ष दिपक रिसालले रिवन काटेर  रयाली उद्घाटन गर्नुभयो ।  

यात्रा क्लबको  प्राङ्गणबाट हातेमालो मार्ग, सिमलटार, रामहिटी, बौद्ध, जोरपाटी, नारणटार माकलबारी, गोकर्ण महादेवस्थान, जगडोल, सहिद पार्क, पानी खोल्सा हुँदै गाकर्णेश्वर वडा नं ९ को वडा कार्यालय आरुबारीमा आएर टुङ्गियो । यात्रामा  ट्राफिक पुलिसको बाइक अनि भ्यान त्यसपछि म र मेरो पछाडि अरू साइकलयात्रीहरू  थिए । एकैखाले साइकल जर्सीमा हामी लगभग ५० जनाको यात्रीहरू कमिलाको ताँतीजस्तै लामबद्ध भई अनुशासित रूपमा यात्रा गरेको देखेर अचम्म मानी भिडियो खिच्ने  र हेर्नेको भिड थियो । यस्तो अनुशासन मैले सहभागिता जनाएको ठूलाठूला  रयालीमा पनि भएको पाउँदिन ।  अरू सवारी साधनको त झन् कुरै भएन । सडकमा कसरी  यात्रा गर्नुपर्छ भन्ने सन्देश पनि हामीले दियौं । यात्रालाई सहज र सुरक्षित बनाउन हाम्रा अभिभावक तथा स्वयमसेवीहरू कोही  दौडेर, कोही साइकल र मोटरसाइकलमा खटिनुभएको थियो । यात्रामा कोही लडेर चोटपटक लाग्ला भनेर स्वास्थ्यकर्मीसहितको एउटा एम्बुलेन्स र यात्रामा कसैलाई गारोे भयो भने राख्नका लागि एउटा बसको व्यवस्था पनि थियो ।  

बौद्ध र गोकर्णेश्वर मन्दिरमा साइकलयात्रीहरूलाई पानी सहित स्वागत गरियो । हामी त्यहाँ केहीबेर अल्मलियौं । फोटो खिच्यौं  र केहीबेर थकाइ मारेपछि फेरि यात्रामा तल्लीन भयौं ।  

यात्राको अन्त्यमा औपचारिक कार्यक्रम भयो। त्यसमा सर्वश्री गोकर्णेश्वर न.पा.को नगर प्रमुख सन्तोष चालिसे, वडा नं. ८ र ९ का वडा अध्यक्षद्धय मनोजकुमार ढुङ्गाना, राजिव थापा, काठमाडौं जिल्ला साइकल संघका सभापति देवेन्द्र बस्न्यात, क्लबका अध्यक्ष दीपक रिसाल, प्याङ्कबाइकका प्रतिनिधि रामबहादुर अधिकारी, साइकलका पूर्व राष्ट्रिय च्याम्पियन अजय पण्डित लगायतका व्यक्तिहरूको उपस्थिपित थियो । उहाँहरूजस्तो महत्वपूर्ण व्यक्तिको सामु आयोजकले मलाई पनि बोल्ने मौका दिनुभयो । आयोजकले दिनुभएको खिर, पुरी, तरकारी, अण्डा खाँदै भाषण सुन्यौं । भाषणमा सबैले बडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको योगदान र साइकलको महत्वबारेमा बोल्नुभयो । यस साइकलयात्राको अर्काे आर्कषणको विषय भनेको म ब्राण्ड अम्बासिडर भएको लगभग १०० वर्ष पुग्नै लागेको नेपालको पहिलो साइकल पसल पञ्चअष्टनारायण साइकलपसल(प्याङ्कबाइक) ले मेरो अनुरोधमा १२ वटा रिफर्विस साइकल र साइकल चढ्ने ५० वटा विफ उपहारस्वरूप उपलब्ध गराएको थियो । मेयरको हातबाट गिफ्ट र सर्टिफिकेट पाएर साइकलयात्रीहरू दंग थिए । त्यसमा झन् साइकल पाउनेहरूको अनुहार खुसीले धप्पकै बलेको थियो ।  

बन्धुमण्डल क्लबले बालबालिकालाई महत्व दिएर गरेको उक्त कार्यक्रमलाई गोर्कणेश्वर न.पा. वडा नंं ९ र प्याङ्कवाइकले प्रायोजन गरेको थियो । यसमा काठमाडौं जिल्ला साइकल संघको प्राविधिक सहयोग रह्यो । यस्तो कार्यक्रमहरू देशैभरि हुन सके ज्यादै राम्रो हुने थियो किनकि आजका“बालबालिका भोलिका भविष्य”हुन । जय देश ! जय साइकल !

कक्षा–६ 

विद्या संस्कार विद्यालय (चेल्सि इन्टरनेश्ल एकेडेमीस्कूल) गोकर्णेश्वर–८, काठमाडौं ।  

प्रकाशित: २८ माघ २०७७ ०६:४१ बुधबार

जूनकिरी