त्रिलोचन ढकाल
कोरोना नामधारी ‘दैत्य’ले
कालो ओडार देखाइरहेको छ
अँध्यारो ओडारभित्रका
सेता गलहरूका तिखा टुप्पाबाट
रगत चुहिरहेको छ
तपतप
सन्त्रस्त छ सारा धर्ती
सगरमाथा फड्किसक्यो
नाघिसक्यो
प्रशान्त र एटलान्टिक आदि महासागरहरू
असंख्य थलचरहरू थिचिए
यसको पैतलामुनि
कैयौं जलचरहरू निचरिए
क्रूर पञ्जाभित्र
संसारलाई उधिन्दै हिँडिरहेको
बहुमूल्य दाराधारी
विशालकाय हात्तीलाई
पछारेको छ
अर्धचेत बनाएर
गोलीले पनि छेड्न नसक्ने
स्पातिलो छालावाला
मणिजडित गैँडाको आवरणलाई
छेडिदिएको छ
प्वालै प्वाल बनाएर
ह्वेल, शार्क र जलगैँडालाई
निलिसक्यो, खुर्लुक्क
गाँसै गाँसमा
हरिण, गँगटा र कछुवा
तथा
चिलबाज र ढुकुरको त
के कुरा गर्नु
बालबालिका टुहुरा भए
पुलिंगीहरू बिधुर भए
स्त्रीलिंगीहरूको सिन्दुर पुछियो
सिउँदोको
छुटेनन्
संरक्षक मालीहरू पनि
बाँकी रहेनन्
कोरोनासँग लडिरहेका स्वेताम्बरहरू समेत
तर
यो ‘दैत्य’को
इतिश्री गर्ने दिननगिचै आएको छ
तयार भइरहेको छ
हलाहल
यसको ओडारमा खन्याउन
र
यसलाई धराशायी बनाउन
मनुष्यद्वारा
विज्ञानद्वारा !
प्रकाशित: ६ मंसिर २०७७ १०:३९ शनिबार