४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई ‘राष्ट्रिय अरनिको सम्मान’

नेपाली ललितकला प्रज्ञा प्रतिष्ठानले यस वर्षको ललितकला पुरस्कार घोषणा गरेका छ । बुधबार प्रेस विज्ञप्तिमार्फत प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ स्थगित भएपछि संकलन भएका कलाकृतिहरूको मूल्यांकनका आधारमा पुरस्कारको घोषणा गरेको जानकारी गराएको थियो ।  

प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान दिएका शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई एक लाख रूपैयाँसहित ‘राष्ट्रिय अरनिको सम्मान’ बाट सम्मान गर्ने भएको छ । यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ सात जना कलाकारहरूलाई प्रदान गरिने भएको छ । ६० हजार रूपैयाँसहितको ‘राष्ट्रिय ललितकला पुरस्कार’ हस्तकलातर्फ मिलन शेरचन, परम्परागत मूर्तिकलातर्फ सुरेश लावट, आधुनिक मूर्तिकलातर्फ भुषण दुवाल, परम्परागत चित्रकलातर्फ कृष्णराम घेमेसु, आधुनिक चित्रकलातर्फ गणेश जिसी, लोककलातर्फ लक्ष्मण मण्डल र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रमिला लामालाई प्रदान गरिनेछ ।  

विज्ञप्तिका अनुसार कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि स्थगित भएको राष्ट्रिय ललितकला प्रदर्शनीलाई अनलाइन वा अन्य कुनै वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ । अहिलेको अवस्थामा सुरक्षित हुन भौतिक उपस्थितिभन्दा अनलाइनमार्फत प्रदर्शनी गर्न उपयुक्त हुने भएकाले छलफल गरिरहेको जानकारी प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गराए ।  

हस्तकला, मूर्तिकला, चित्रकला, लोककला र वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका पाँच विधा तर्फका २५ हजार रूपैयाँसहितको ‘विशेष पुरस्कार’ माणिकमान शाक्य र राजेश महर्जन, शुभरत्न बज्रचार्य, विशाल सारुमगर, देवेन्द्रप्रसाद पाण्डे, विनम्र डंगोल, जिम्मे तामाङ, सुरेश बस्नेत, विद्यमान तामाङ, दल बहादुर राई, मित्थु थारु, बाबुराम बस्ताकोटी, सुमन राई, कुशल कार्की र रवि मिश्र पुरस्कृत हुने भएका छन् ।  

कौशिला राई, रविकुमारी कर्ण, प्रकाश मिजार र गणेशदेवी चौधरी लगायत सात जनालाई कलाका पाँच विधाबाट २५ हजार सहित को ‘प्रादेशिक पुरस्कार’ प्रदान गरिनेछ । त्यस्तै २५ हजार रूपैयाँसहितको ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार’ लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार’ केशवराज खनाललाई प्रदान गरिनेछ ।  

यसअघि संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि प्रतिष्ठानले वैशाख २ मा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना हुने भनिएको राष्ट्रिय ललितकला प्रदर्शनीलाई तोकिएको मितिमा नभएर वैशाख १४ देखि २८ सम्ममा गरिने तयारी थियो । कोरोना भाइरस महामारीको जोखिम कम गर्न सरकारले लकडाउन गरेसँगै राष्ट्रिय ललितकला प्रदर्शनीलाई लिएर अन्यौलता सिर्जना भइरहेको थियो ।  

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ८१ लाख ९१ हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट चार लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा २१ लाख ३७ हजारभन्दा बढी संक्रमित र एक लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट ७१ सयभन्दा बढी संक्रमित र १९ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्रालिज, रुस, भारत, बेलायत, स्पेन, इटाली र पेरुलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न मानिसहरुलाई मास्क लगाउन सल्लाह दिएको छ।

प्रकाशित: ४ असार २०७७ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App