१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामा गर्भवती महिलाको कथा

काठमाडौं – चित्रकार कृष्ण लामाको एकल कला प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको छ। शनिबारबाट सुरु भएको ‘प्यासेज अफ टाइम’ शीर्षकको कला प्रदर्शनीमा उनले गर्भवती महिलाको विभिन्न गतिविधिलाई समेटेका छन्।

प्रदर्शनीमा आमा र बच्चामाथि कोरिएका २३ वटा चित्रकलाहरू समावेश भएका छन्। उनले पत्नी गर्भवती हुँदाका विभिन्न चरणलाई क्यानभासमा उतारेका थिए। उनले क्यानभासमा पति र पत्नीलाई रातो र खरानी रंगमार्फत प्रस्तुत गरेका थिए। यो उनको तेस्रो एकल कला प्रदर्शनी हो। ‘मेरी पत्नी गर्भवती हुँदादेखिका विभिन्न चरणलाई कलामार्फत प्रस्तुत गरेको छु। बच्चाको जन्मपछि आमा र बुबाको जिम्मेवारी सुरु हुने भावलाई क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

आधुनिक युगका बालबालिका मोबाइललगायतमा खेल्न रमाउने प्रवृतिमागि व्यंग्य गर्दै उनले कला तयार गरेका छन्। उनको घरमा रहेको झ्यालबाट देखिने रमणीय दृश्यसँगै आधुनिकरणले कंक्रिटको जंगलमाथि व्यंग्य गर्दै उनले ‘च्वाइस’ शीर्षकको कला तयार गरेका छन्। ‘प्रदर्शनीमा गर्भवती महिला, बालबालिका र कंक्रिटले भरिएको राजधानी वरपरको दृश्यलाई कल्पना गरेर क्यानभासमा समावेश गरेको छु। प्रकृति र डोजरले ध्वस्त हुँदै गएको सहरी अवस्थालाई व्यंग्य गरेर प्रस्तुत गरेका छु,’ उनले भने।

महिलाको विषयलाई प्राथमिकतामा राखेर चित्र कोरेका उनले गर्भावस्थाको समय बच्चा आमाको कोखमा भए पनि महसुस भने दुवै दम्पतीलाई हुने बताउँछन्। ‘पत्नीको जत्तिकै शारीरिक रूपमा महसुस नभए पनि मानसिक रूपमा उसले जति श्रीमानले महसुस गर्न सक्ने रहेछ,’ उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘आमा भनेको आमा नै हुन्छ। तर बुबाले पछाडि बसेर बच्चाको विषयमा सोचेको हुन्छ। उसको लालनपालनमा आमाले जत्ति ध्यान दिइरहेको हुन्छ।’

नौ महिनाको अवधिमा गर्भवती महिलाले भोग्ने मानसिक र शारीरिक प्रभावलाई उनले चित्रमार्फत प्रस्ट्याएका छन्। उनले बच्चाको अवस्था र महिलाले गर्नुपर्ने शारीरिक व्यायामलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रदर्शनी माघ १८ सम्म चल्नेछ।

प्रकाशित: १४ माघ २०७६ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App