१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सार्क हस्तकला प्रदर्शनी मङ्गलबजारमा

ललितपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताएका छन्।

सार्क कल्चरल सेण्टरले आयोजना गरेको ‘सार्क हस्तकला प्रदर्शनी’ उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालमा निर्माण भएका सबै प्रकारका बेजोड हस्तकलाका सामग्रीले मुलुकमा अर्थतन्त्र भित्र्याउन एक सहयोगी भूमिका खेलिरहेको र यिनलाई विदेशका विभिन्न मुलुकका साथै नेपालका विकट क्षेत्रमा पनि लोकप्रिय बनाउनुपर्नेमा जोड दिए।     

सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हस्तकला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुनैपर्ने तथा यसको अध्ययन र अवलोकनमा जोड दिन आग्रह गरे। संस्कृति मन्त्रालय, संस्कृति महाशाखाका उपसचिव मङ्गला प्रधानले नेपालको संस्कृति संरक्षणमा चार दिनसम्म चल्ने निःशुल्क प्रदर्शनीले निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

“सार्क सेन्टरले वर्षैपिच्छे विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ ”, प्रधानले भने, “ गत वर्ष यसै अवसरमा हामीले शास्त्रीय नृत्य प्रदर्शनी गरेका थियौँ।”     

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुर हस्तकला निर्माणको विभिन्न इतिहास बोकी विश्व सामु परिचित भइरहेको जानकारी दिए। उनले भने, “ काठमाडौँ उपत्यकाका तीन शहरमध्ये पाटन हस्तकला निर्माणमा अघि रहेकाले केही समयअघि युनेस्कोले यसलाई ३५ औँ हस्तकला नगरी घोषणा गरिसकेको छ।”

प्रदर्शनीमा ३४ कक्ष छन्। हस्तकलाको खुला सङ्ग्रहालय ललितपुर मङ्गल बजारमा भएको प्रदर्शनीमा नेपाल, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश, भुटान र अफगानिस्तानका हस्तकलाकर्मीले भाग लिएका छन्।रासस
 

प्रकाशित: २३ भाद्र २०७६ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App