भक्तपुर – गाईजात्रा पर्वको अवसर पारेर नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल भाषाको ‘गाइँचा म्ये’ विमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने, ‘समाजमा भएका विकृतिलाई जनबोलीका रूपमा अभिव्यक्त गर्ने यस्ता कृति साहित्यको क्षेत्रमा नयाँ आयामका रुपमा रहेका छन्।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्य समाजको ऐनाका रुपमा रहने चर्चा गर्दै भक्तपुरका जात्रालाई मनोरञ्जनका रूपमा प्रस्तुत गरेर यस कृतिले जनताको चेतनास्तर उकास्न सहयोग प-याउने बताए।
नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले कृतिमा समाजको विकृतिबारे आलोचना गरिनुका साथै गाइँचा नाचको इतिहासबारे अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ९ भाद्र २०७६ ०६:४९ सोमबार