७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

डिजिटल बन्दै अर्घाखाँचीका स्थानीय तह

प्रविधिले छिटोछरितो, झन्जटरहित तथा सुशासन कायम गर्न मद्दत गर्ने भएपछि यहाँका स्थानीय तह डिजिटल बन्दै गएका छन्।

पालिकाभित्र सुशासन र पारदर्शिता कायम गर्न कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीका लागि ई–हाजिरीको व्यवस्था गरिएको छ। नेपाल सरकारले बनाएको ‘एप’ एकिकृत कार्यालय व्यवस्थापन प्रणाली मार्फत पालिकाहरुलाई डिजिटल बनाउन स्थानीय तहले अग्रसरता लिएका छन्।

सन्धिखर्क नगरपालिकाले गत मंसिरबाटै यो अभ्यास गरिरहेको छ भने पाणिनी गाउँपालिकाले यही वैशाख १ गतेदेखि यो प्रणाली लागू गरेको छ। नगरपालिकाले ढड्डा हाजिरी रजिष्टर हटाएर नगरपालिका मातहतका सबै कर्मचारीलाई ई–हाजिरी गर्ने व्यवस्था गरेको छ।

ई–हाजिरीमा कर्मचारीले कतिबेला उपस्थिति भए कति बेला विदा भए, सबै देख्न सकिन्छ। नगर मातहत सबै कर्मचारीको लागि ई–हाजिरीको प्रबन्ध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

‘सेवाग्राहीले दुख व्यहोर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,उनले भने,‘कर्मचारीहरू कार्यालय समयभित्र कतै जान नसकुन् भनेर ई–हाजिरी लागू गरेका छौं।’

विदा माग्ने, विदा स्विकृत गर्ने, कती दिन विदा बाँकी छ, कति दिन विदा बसें भन्ने कर्मचारीले आफै हेर्न मिल्ने गरी नेपाल सरकारले नै ‘एप’ बनाएको छ। ईच्छुक पालिकाले निवेदन दिए यो प्रणाली लागू गर्न सकिन्छ।

एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरेपछि कार्यालयमा चिठीपत्र आदान प्रदान, दर्ता चलानी र टिप्पणी अनलाइनबाटै हुने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताए। ‘प्रविधिीले सहज बनाउँदै गएको छ,उनले भने, ‘कर्मचारीस्तरबाट हुने लापरवाही यो प्रविधिको प्रयोगले रोकथाम हुने छ।’

जिल्लाका अन्य स्थानीय तहले समेत यो प्रणाली लागु गर्न पहल भईरहेको बताएका छन्। जिल्लाको भुमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्षबाट यो प्रणाली लागु गर्ने तयारी गरेको छ।

यो ‘एप’ प्रयोग गरेर तोक आदेश तथा टिप्पणी, दर्ता चलानी, हाजिरी, विदा, काज स्वीकृति जस्ता नियमित काम गर्न सकिन्छ। यसले कर्मचारीलाई सहजता प्रदान गर्नुका साथै सुशासन कायम गर्न मद्दत पुग्नेछ।

प्रकाशित: २६ वैशाख २०८१ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App