१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

महिनावारीमा हुने विभेद क्यानभासमा

काठमाडौं - नेपाली समाजले महिनावारीलाई अछुतो र अपवित्रको संज्ञा दिएको छ । वर्षौदेखि महिनावारी भएका महिलालाई अशुद्ध र अपवित्र मान्ने अन्धविश्वासलाई आधार मानेर महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ ।

अझ छाउपडीको कारण ज्यान गुमाउने महिलाको संख्या वर्षपिच्छे बढ्दै गएको छ । महिनावारी भनेको प्राकृतिक प्रक्रिया भएकाले यसलाई पवित्र मान्नुपर्छ भन्ने धारणासहित शनिबारदेखि ललितपुरस्थित नेक्सस् कल्चर नेपालमा ‘मिथ अफ स्यान्टिफिकेसन’ नामक कला प्रदर्शनी सञ्चालन भइरहेको छ ।

महिनावारीलाई अशुद्ध, फोहोर र अपवित्र ठान्ने अन्धविश्वासले हाम्रोजस्तो समाजलाई प्रत्यक्ष असर गरेको छ ।

कलाकारहरू सिन वागं, सिद्धान्त पुडासैनी, तेह्रिम हसन र याओ जुई ल्यान तयार गरेको कलाहरू प्रदर्शनीमा समावेश गरिएको छ । क्युरेटरहरू अस्मिना रञ्जित र फेंग यी चुले महिनावारीलाई संसारभर हेर्ने मान्यताका आधारमा नेपालसहित चीन र पाकिस्तानका कलाकारहरूको विभिन्न कलालाई प्रदर्शनीमा राखेका छन् ।

‘महिनावारी हुँदा सरसफाइका लागि विभिन्न उपायहरू पत्ता लागिसकेको अवस्थामा महिनावारी भएकी महिलालाई अपवित्र ठान्ने मान्यता गलत हो,’ क्युरेटर अस्मिना रञ्जित भन्छिन्, ‘महिनावारी भएका महिलाविरुद्ध हुने विभेदपूर्ण व्यवहारहरू नेपालको संविधानमा व्यवस्था भएका महिलाको हक, स्वतन्त्रताको हक, छुवाछूतविरुद्धको हक, गोपनीयताको हक र शोषणविरुद्धको हकलगायत विरुद्ध छ । प्रदर्शनीमा यसलाई महत्व दिएका छौं ।’

प्रदर्शनीमा महिनावारीका विभिन्न पक्षलाई केन्द्रित गरेर तयारी गरिएको मल्टिमिडिया भिडियो, चित्रकला र फोटोहरूलाई कलात्मक शैलीमा राखिएको छ । कलाकार सिद्धान्त पुडासैनीको ‘भ्वाइस अफ डिभिनिटी’ नामक अडियोमा महिनावारीको विभिन्न पक्षलाई केन्द्रित गरिएको छ । प्राकृतिक प्रक्रियालाई संस्कृति र सामाजिक मान्यताअनुसार विभिन्न धारणा बनाएको प्रसँग अडियोमा उल्लेख गरिएको छ । महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वासविरुद्ध उनले अडियो तयार गरेका छन् ।

‘महिनावारीलाई अशुद्ध, फोहोर र अपवित्र ठान्ने अन्धविश्वासले हाम्रोजस्तो समाजलाई प्रत्यक्ष असर गरेको छ । ब्राम्हण परिवारमा हुर्किएको मैले आमाले महिनावारीको बेला भोग्नुपरेको विभिन्न समस्यालाई अडियोमा समेटेको छु,’ उनले भने ।

ताइवानका फोटोग्राफर सिन वागंले भने नेपालप्रतिको सुन्दर बुझाइमा आधारित विभिन्न फोटोहरू प्रदर्शनीमा राखेका छन् । उनले खिचेका नेपालका विभिन्न हिमाल, पानी पर्दा अलमलमा परेका यात्रु र नेपाली सेनालगायतका फोटोहरूलाई प्रदर्शनीमा समेटिएका छन् ।  ताइवानका चित्रकार याओ जुई ल्यानको ‘मेरो महिनावारी, मेरो गरिमा’ शीर्षकको चित्रकलामा महिनावारीका विभिन्न पक्षलाई संस्कृतिसँग तुलना गरेकी छिन् । उनले कलाकार सिद्धान्त पुडासैनीको महिनावारीसम्बन्धी अडियोलाई आधार मानेर क्यानभासमा चित्र कोरेकी छिन् ।

महिनावारीका प्रयोग हुने प्याडलाई कलात्मक शैलीमा तयार गर्न सकिने सन्देशसहित उनको मल्टिमिडिया भिडियो प्रदर्शनीमा समावेश गरिएको छ । पाकिस्तानकी चित्रकार तेह्रिम हसनले तयार गरेको विभिन्न ६ वटा चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन् । उनको ‘एफ फर फेस, एफ फर फ्रिडम’ नामक चित्रकलामा मानिसको शारीरिक बनावटलाई समावेश गरिएको छ । ‘शारीरिक बनावटका आधारमा मानिसलाई विभाजन गरिने शैलीमाथि व्यंग्य गर्दै मैले क्यानभासमा चित्र कोरेको छु । मोटोपनको कारण मैले जीवनमा भोग्नुपरेको विभिन्न घटनालाई क्यानभासमा उतार्ने प्रयास गरें,’ उनले भनिन् । प्रदर्शनी आगामी भदौ १४ सम्म चल्नेछ ।

प्रकाशित: ८ भाद्र २०७६ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App