१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

निफमा एनिमेसन र वृत्तचित्र थपिए

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीमा तेस्रो संस्करणको ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)’ हुने भएको छ । आयोजकले फेस्टिभल सन् २०२० को फेबु्रअरी १३ देखि १७ सम्म हुने जनाएको छ । फेस्टिभलबारे जानकारी दिन गत बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको तेस्रो संस्करणलाई अझै विस्तार गर्दै फैलाएकोले फेस्टिभलले फिल्मकर्मीलाई प्रोत्साहित गर्ने बताए । उनले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशीमा वृद्धि गरेको उल्लेख गर्दै फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म आवेदन दिनसक्ने जनाए ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएका छन् । पाठकका अनुसार फेस्टिभलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गराइएको छ ।

एनिमेटेड विधामा पुरस्कृत हुने ‘उत्कृष्ट एनिमेटेड फिल्म’लाई ७ सय ५० अमेरिकी डलर राशीको ‘मञ्जुश्री अवार्ड’, अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत ‘सर्वाेत्कृष्ट फिचर फिल्म’लाई १५ सय अमेरिकी डलर राशीसहित ‘गौतम बुद्ध अवार्ड’, ‘सर्वोत्कृष्ट वृत्तचित्र’लाई १ हजार डलर राशीको ‘माउन्ट एभरेष्ट अवार्ड, ‘सर्वोत्कृष्ट लघु फिल्म’लाई ५ सय डलर राशीको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ ।त्यस्तै नेपाली प्रतिष्पर्धाअन्तर्गत ‘उत्कृष्ट फिचर फिल्म’लाई १ लाख राशीको नगदसहित पुरस्कार, ‘उत्कृष्ट सर्ट फिल्म’लाई ५० हजारसहित पुरस्कार र सर्टमध्येबाट ‘उत्कृष्ट फिल्म निर्देशक’लाई ट्रफी प्रदान गरिनेछ । यसबाहेक फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रतिष्ठानले बलिउड, हलिउड वा चिनियाँ फिल्मका लेखक ल्याएर कार्यशाला गराउने जनाएको छ । प्रतिष्ठानले आगामी अगस्टको २१ देखि २७ सम्म स्क्रिन राइटिङ वर्कसप (पटकथा लेखन कार्यशाला) पनि सञ्चालन गर्ने अध्यक्ष पाठकले बताए । ‘मकवानपुरको इन्द्रसरोवर, कुन्साल वा चित्लाङ मध्ये कुनै एक ठाउँमा हुने कार्यशालामा ६० जनासम्म सहभागी गराउने योजनामा रहेका छौं र हामी आवेदन पछि सहभागी फाइनल गर्छौं’, पाठकले भने, ‘अनुभवी फिल्म लेखकहरूबाट प्रशिक्षण दिइनेछ ।’ नेपालबाट फिल्म अनुसन्धानकर्ता सम्पदा मल्ल सहजकर्ताका रूपमा रहेकी छिन् भने सहभागिताका लागि नेपालीले १० हजार रुपैंया र विदेशीले १ सय ५० डलर शुल्क तिर्नुपर्नेछ । एक हप्तासम्म कार्यशालामा सहभागी हुनेहरू हरेकले एउटा–एउटा कथा लेख्नुपर्ने प्रावधान आयोजकले राखेको छ । कथामा कार्यशाला समापन भएको दुई हप्ताभित्र सबैले पूर्ण स्क्रिप्ट बुझाउनुपर्नेछ । सो स्क्रिप्टमध्येबाट उत्कृष्ट हुने एउटा स्क्रिप्टमा लघु फिल्म निर्माणको लागि प्रतिष्ठानले एक लाख नगद प्रदान गर्नेछ । यो फिल्मलाई निफको तेश्रो संस्करणमा सहभागी गराइनेछ ।
 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App