१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

संस्कृति जोगाउँदै ‘सोइ ढोले सोइ’

किराँतीहरू राजधानीको टुँडिखेलमा साकेला नाच नाच्दै। तस्बिर: श्याम राई

काठमाडौं - किराँत भेषभुषा ढाकाटोपी, दौरासुरुवाल, छातीमा मुर्चुङ्गा र बिनायो, पिचुरी र धजुरामा सजिएका युवक ढोल, झ्याम्टा बजाउन व्यस्त देखिन्थे। कसैले सोली बोकेर प्रदर्शन गरिरहेका थिए त कोही साकेला मुन्धुमी पुजारी (नाक्सो) तीनचुलामा पुजिरहेका थिए। कोही हातमा सिलिमी, पमी (चौरीको पुच्छर) हल्लाउँदै ढोलको तालमा साकेला(चन्डीनाच) नाच्न व्यस्त थिए। ढोल, झ्याम्टाको मिठास बेग्लै थियो।

किराँत समुदायको महान चाड उभौलीको अवसर पारेर राजधानीको ठुलो टुँडिखेलमा शनिबार देखिएको यो दृश्यको रौनक बेग्लै थियो। किराँत राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंले उभौलीको अवसरमा आयोजना गरेको कार्यक्रममा किराँती पोशाकमा सजिएका सयौं युवायुवती गोलाकार घेरामा साकेला नाचमा रमाइरहेका थिए। उभौली हेर्नकै लागि टुँडिखेल पुगेका दर्शकहरू पनि किराँत युवायुवतीको साकेला नाच हेरेर मख्ख थिए।

साकेला मुन्धुमी पुजारी (नाक्सो) प्रेमबहादुर राईका अनुसार किराँतीहरू हरेक वैशाख पूर्णिमामा लगाएको अन्नबाली राम्रो होस् र सबैमा सुख, शान्ति मिलोस भनेर प्रकृतिको पूजा गर्दै उभौली चाड मनाउँछन्। त्यो बेला मकै, धान, कोदो, अदुवालगायतका अन्नबाली लगाइन्छ। उधौली चाड भने अन्नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिदेखि पुर्खाहरूलाई अन्नबाली चढाएर मनाईन्छ। किराँत राईले साकेन्वा÷साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर नामले प्रकृतिलाई पुकारेर नाच्छन्।

किराँत राई यायोक्खाका केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले गर्मीयाममा प्रकृतिको पूजा गरेर उभौली चाड मनाउँदै आएको बताए। ‘गर्मी समयमा प्रकृतिको पुजा गरेर उभौली चाड मनाउँछौं’, उनले भने, ‘यही अवसरमा हामीले टुँडिखेलमा साकेला नाच नाच्छौ। यहाँ मात्र होइन, विश्वभर यसरी नै अहिले भव्य तरिकाले उभौली चाड मनाईरहेका छौं। किराँतहरू राम्रोसँग पितृ र प्रकृतिको पुजा गर्न जान्दछन।’

उनका अनुसार चिसो हावा हिमाल र पहाडतिर बग्दै जान्छ। जसलाई मौसमसँग उभौली चाड भन्ने गरिन्छ। अन्न बाली लगाउने बेलामा अन्नहरू राम्रो होस् भनेर यो चाड मनाईन्छ। जाडो महिनामा माछा, चराचुरुङ्गीदेखि लिएर मानव अस्तित्वसहित बेसीतिर झर्छन्। त्यसबेला लगाएको अन्नबाली प्रकृतिको पूजा गर्दै भिœयाएर उधौली चाड मनाउने गरिन्छ।  

किराँतीहरू हरेक वैशाख पूर्णिमामा लगाएको अन्नबाली राम्रो होस् र सबैमा सुख, शान्ति मिलोस भनेर प्रकृतिको पूजा गर्दै उभौली चाड मनाउँछन्।

अध्यक्ष राईले मुलुकमा हजारौं वर्ष पहिलेदेखि प्राचीन आदिवासी किराँतीहरू बसोबास गर्दै आएकोले मानव, संस्कृति, भाषा र इतिहासको धनी रहेको बताए। ‘हामी हजारौं वर्ष पहिलेदेखि बसोबासरत प्राचीन, ऐतिहासिक आदिवासी हौं। संस्कृति र पहिचानको धनी छौं’, उनले भने, ‘पहिलेदेखि रहिआएको संस्कृति अहिलेसम्म पनि कायमै छ।  यसलाई बचाइ राख्नेछौं। किराँतहरूको  अस्तित्व अझै लाखौंवर्षसम्म रहन्छ।’ उनका अनुसार किराँतहरूको पहिचानलाई बचाइराख्न विभिन्न राष्ट्रिय संग्राहलयमा भेषभुषा, झ्याम्टा, चिन्डोलगायतका सामाग्री सजाएर राखिएको छ।

किराँतीहरूले वातावरणलाई जोगाइ राख्नका लागि पनि उक्त पर्व मनाउँदै आएको राई बताउँछन्। उनले इतिहास, भूगोल, सभ्यता र संस्कृतिका हिसाबले प्रदेश एकको नाम ‘किराँत प्रदेश’ नामाकरण गर्न विभिन्न तहबाट निरन्तर आन्दोलन गर्दे आएको दाबी गरे।

साकेला नाच्दा सिलिमाङ्पा (सिलीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिलीको अगुवाइ गर्ने महिला) ले समूहलाई अगुवाइ गर्दछन। गोलघेरा बनाएर नारी र पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा, चालमा चाल मिलाएर ढोल, झ्याम्टाको तालमा ‘सोइ ढोले सोइ’ गीत गाउँदै नाच्छन। घेराभित्र चिल्लेकटुसको रुखका लिंगो र थुम्से(सोली) मा खारेवा(चिन्डो)मा रक्सी राखिन्छ।

उक्त चाडको विशेषता भनेकै प्रकृतिको पूजा गरी परम्परागत नाच प्रदर्शन गर्नु हो।किराँत राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष प्रमिला राईले किराँतीहरू आफूलाई प्रकृतिको भूमिपूत्र मान्दै आएकाले  ऐतिहासिक चाड बचाउनको लागि वर्षको दुई पटक टुँडिखेलमा उभौली र उधौली चाड मनाउदै आएको बताइन्। ‘हामी ऐतिहासिक किराँतीहरू हौं’, उनले भनिन्, ‘हाम्रो भाषा, धर्म, पहिचान र संस्कृति छन्।

यसैलाई बचाइ राख्न यो चाड वर्षको दुई पटक उपत्यकामा मनाउँदै आएका छौं। यो निरन्तर कायम रहने छ।’ उनका अनुसार नेपालका वल्लोकिराँत, माझकिराँत र पल्लोकिराँत क्षेत्रका राईहरूले यसरी नै परम्परा धानिरहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App