१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

डेउडा ‘सम्राट’

डेउडा गायक दलबहादुर बोगटी

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा डेउडा खेलमा जमेका देखिन्छन्। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् वा दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवाल जवाफ फर्काउन अग्रभागमा हुन्छन्, डेउडिया दलबहादुर बोगटी।

नयाँ वर्षमा हुने बिसु पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त रहेकै बेला नागरिक संवाददाताको भेटमा बोगटीले युवाअवस्थामा युवतीसँग खेलेको दोहोरी डेउडाको दुई टुक्का सुनाएर विषयवस्तु प्रवेश गरे।

दौरा भाँच्ने डाँणी गैजा, घाँस काट्ने खोलीजा
सौराइले लायाको डाको, हौ भनी बोलिजा     
तरवारमा सान लगाइदेऊ खुकुरीमा म्यान
एकै सूर्य घाम तापन्छु, भेट हुनैन क्यान ?

डेउडा भनेपछि हुरुक्कै हुने दलबहादुर धनगढीमा गौरा पर्वको समयमा डेउडा खेल सुरु गराउने पहिलो व्यक्ति हुन्। त्यसैले कतिले उनलाई डेउडा ‘सम्राट’को पनि उपाधि दिएका छन्। धनगढीमा गौराको समयमा डेउडा खेल सुरु हुने बेला उनी प्रहरी नायब निरीक्षकमा हसुलिया इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। त्यही समयमा धनगढीस्थित घर आएका बेला वनदेवी मन्दिरमा गौराको प्रतिमूर्ति निकालिन्थ्यो, तर डेउडा खेल भने खेलिदैनथ्यो। गौरा र डेउडाको अन्तर सम्बन्ध रहेको बताउँदै उनले भने, ‘गौरामा भारी खेल (चैत, धमारी) सँगै मनोरञ्जनका लागि युवायुवतीको प्रमुख आकर्षण नै डेउडा हो।’ युवायुवतीलाई डेउडामा झुमाउनका लागि २०५२ सालमा नगरपालिका अगाडिको खाली जमिनमा तत्कालीन सेती अञ्चल प्रहरी गुल्मबाट सादा पोशाकका प्रहरीलाई निम्त्याएर डेउडा खेल्न लगाएको उनले स्मरण गरे। उनले भने, ‘त्यो बेला स्थानीय गौरामा सहभागी भए पनि डेउडा खेल्न हिचकिचाउँथे।’ आफूले डेउडाको प्रचार प्रसार र डेउडामा नयाँ पिढीलाई आकर्षण गराउन त्यो बेला गौरामा डेउडाको सुरुवात गराएको उनले बताए। २०५२ पछि उनकै नेतृत्वमा पछिल्ला वर्षहरुमा गौरामा धनगढीमा विशाल डेउडा प्रतियोगिता हुँदै आएको छ। ‘धनगढीमा डेउडा खेलको सुरुवात गराएँ,’ उनले भने,‘त्यसपछिका वर्षहरुमा त यहाँका स्थानीय आफै जुटेर डेउडा खेल्न थाले।’
खेलमा एकतर्फबाट गीत गाउने दलबहादुर नै हुन्थे।

दलबहादुर धनगढीमा गौरा पर्वको समयमा डेउडा खेल सुरु गराउने पहिलो व्यक्ति हुन्। त्यसैले कतिले उनलाई डेउडा ‘सम्राट’को पनि उपाधि दिएका छन्।

दलबहादुरको डेउडा प्रवेश    
शिखर नगरपालिका–२, घङडा (मुडेगाउँ गाविस–९) डोटीमा जन्मेका बोगटी सुदूरपश्चिम प्रदेशमै चर्चित डेउडियाका रुपमा गनिन्छन्। किशोरावस्थाका दलबहादुर गाउँ माथिको डाँडोमा साथीभाइ जम्मा गर्थे। पल्लो गाउँका केटी साथीलाई निम्तो पठाउँथे,‘आज राति डेउडा खेल्न आउनू ?’ उनको निम्तो कुनै किशोरीले नकार्दैन थिइन्। किशोरी पनि दलबहादुरसँग डेउडामा दोहोरी खेल्न पाउँदा मख्ख पर्थिन्। पातलो र गोरो वर्णका दलबहादुरसँग उस्तै डेउडाका शब्द पनि मुखमै झुण्डिएका हुन्थे। र, पो किशोरी पनि उनीसँगै आकर्षित हुन्थिन्।
त्यो समय मनोरञ्जनको कुनै साधन नै थिएन गाउँघरमा। मनोरञ्जनका लागि थियो त केवल मेला पर्वमा मात्रै डेउडा। तर, किशोरावस्थाका केटाकेटीलाई भने बूढापाकाकै डेउडा हेरेरै चित्त बुझाउनु पथ्र्यो। किशोर पनि बूढापाकाबाटै सिकेर गाउँमा ‘चोरी डेउडा’ घन्काउँथे। दलबहादुर साथीभाइलाई जम्मा पार्थे र पल्लो गाउँका केटी साथीलाई राति डेउडा खेल्ने निम्तो पठाउँथे। केटी साथी पनि एक घरमा जम्मा हुन्थे र राति अभिभावकलाई जानकारीबिनै जंगल हुइँकिन्थे। वल्लो गाउँका केटा र पल्लो गाउँका केटी समूहबीच अभिभावकको आँखा छलेर रातभर गाउँमाथिको डाँडोमा ‘चोरी डेउडा’ घन्कन्थ्यो।
त्यो बेला केटा र केटीले दोहोरी डेउडा खेल्न बर्जित थियो। किशोर किशोरी अभिभावकको आँखा छलेर डाँडामा गएर रातभर चोरी डेउडा खेल्थे। कुनै दिन अभिभावकले केटा र केटीबीच डेउडा खेलेको थाहा पाउनेबित्तिकै रिसाउँथे। चेलीबेटीलाई केटासँग डेउडा खेल्नु हुँदैन भनेर सम्झाउँथे। त्यो बेलाको चोरी डेउडादेखि अहिलेको प्रतियोगितासम्मको डेउडामा गीत गाउँदै आएका दलबहादुरले विगत सम्झँदै भने, ‘त्यो बेलाको चोरी डेउडादेखि अहिलेको प्रतियोगितासम्म आइपुग्दा डेउडामा आकाश पातालको फरक आइसकेछ।’
अभिभावकको आँखा छलेर राति केटा र केटी समूहबीचको चोरी डेउडा खुबै रमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन्,‘मेरो जीवनमा डेउडाको रस त्यही चोरी डेउडाबाटै बसेको हो।’ गाउँमा त्यो बेला डेउडा गाउनेलाई हात जोडेर गाइदिन आग्रह गरिन्थ्यो। त्यो खुसामत गर्नभन्दा उनी आफै केटाकेटीको समूह बनाएर रातभर अभिभावकको आँखा छल्दै डेउडा खेलेको स्मरण गर्छन्।
उमेर बढ्दै जान थालेपछि आर्थिक अवस्था सुधार्न भन्दै उनी १८ वर्षको उमेरमा नेपाल प्रहरीमा प्रवेश गरे। उनी प्रहरीमा रहँदा पनि फुर्सद पाउनेबित्तिकै मेलापातमा डेउडा घन्काइहाल्थे।

युवाअवस्थामा दलबहादुर साथीभाइलाई जम्मा पार्थे र पल्लो गाउँका केटी साथीलाई राति डेउडा खेल्ने निम्तो पठाउँथे। केटी साथीहरु पनि एक घरमा जम्मा हुन्थे र राति अभिभावकलाई जानकारीबिनै जंगल हुइँकिन्थे। वल्लो गाउँका केटा र पल्लो गाउँका केटी समूहबीच अभिभावकको आँखा छलेर रातभर गाउँ माथिको डाँडोमा ‘चोरी डेउडा’ घन्कन्थ्यो दलबहादुरकै नेतृत्वमा।

डेउडाबाटै पुरस्कार र सम्मान
आफ्नो जीवनकालमा नेपाल प्रहरीको अनुशासनभित्र रहेर जति पदक जिते त्यो भन्दा बढी डेउडा प्रतियोगितामा भाग लिएर सम्मान र पुरस्कार प्राप्त गरेका छन् दलबहादुरले। डेउडा गाएरै उनले अहिलेसम्म सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित लगायतका दुई दर्जन बढी साहित्य र संस्कृति सम्बन्धि संघसंस्थाबाट सम्मानित भइसकेका छन्।
फुटकर पत्रपत्रिकामा डेउडा रचना, मेला पर्वमा दोहोरी डेउडा खेल्नुका साथै डोटेली भाषाको गौरी, धन्यमाया जाल, नेपाली भाषी दुर्गा मल्ल, नशा एक लत र कोपिला सिरियल तथा एक दर्जन बढी डेउडा गीतमा अभिनय गरिसकेका छन् बोगटीले। प्रहरीमा रहेर ३२ वर्ष सेवा गरेका दलबहादुर अवकाशपछि पनि डेउडा जोगाउन क्रियाशील छन्।
साहित्यकारका नजरमा दलबहादुर
दलबहादुर बोगटी सुदूरपश्चिमको डेउडा गीतमा एक सम्मानित व्यक्तित्व भएको बताउँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य बाशुदेव पाण्ड्ेयले भने,‘सरकारी सेवाबाट निवृत्त भएर पनि सुदूरपश्चिमको डेउडा साहित्यलाई माया गर्ने व्यक्ति हुन् दलबहादुर।’ दलबहादुरको जीवन नै डेउडामा समर्पित भएको बताउँदै उनले भने,‘व्यक्तिगत रुपमा होस् या संस्थागत रुपमा किन नहोस्, उहाँले डेउडाका क्षेत्रमा ठूलो योगदान पु¥याउनु भएको छ।’ सवाल जवाफमै फ्याट्टै जवाफ फर्काउन सक्ने आँसु डेउडिया भएको उनले बताए। दलबहादुर बोगटीलाई सुदूरमा नचिन्ने साहित्यकार नै नभएको बताउँदै नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले भने,‘मैले चिनेदेखि दलबहादुर बोगटी डोटेली साहित्य (डेउडा विधा) मा समर्पणका साथ लागेका एक कुशल गीतेरु हुन्।’  दलबहादुरलाई डेउडा लोक गीतका आँसु रचनाकारका रुपमा सुदूरपश्चिमका साहित्यकारले बुझेको उनले बताए।

डेउडामा तुरुन्तै जवाफ फर्काउन सक्ने एक कुशल डेउडियाका रुपमा आफूले चिनेको सुदूरपश्चिमका चर्चित डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। ‘मैले उहाँलाई एक कुशल र क्षमतावान डेउडिया गीतेरुका रुपमा चिनेको छु,’ उनले भने।

प्रकाशित: ३० चैत्र २०७५ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App