१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘लुट चंगा लुट बनाउँछु’

काठमाडौं – फिल्मको सुटिङ अघि रिलिज मिति र फिल्म प्रदर्शन अघि नै त्यसको सिक्वेल घोषणा गर्ने चलन नेपाली फिल्ममा पुरानै हो। एउटा फिल्म हिट भएपछि त्यसको सिक्वेल बनाउने चलन पनि नयाँ होइन्।

यही सेरोफेरोमा फिल्म ‘चंगाचेट’का निर्माता माधव वाग्लेले पनि यो फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन्। ब्लकबस्टर फिल्म ‘लुट’का निर्माता माधवले यसअघि नै फिल्म ‘लुट २’ निर्माण गरिसकेका छन्। राजधानीमा आइतबार फिल्म ‘चंगा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता वाग्लेले सर्तसहित सिक्वेलको घोषणा गरेका हुन् । ‘चंगा चेट हिट भयो भने मात्र लुट चंगा लुट निर्माण गर्छु,’उनले भने,‘हाम्रो फिल्मले अहिलेको युवा पुस्ताको समस्यालाई चित्रण गरेको छ । त्यसकारण यो फिल्म हिट हुन्छ भन्नेमा म ढुक्क छु।’

निर्माता वाग्लेले आफूले बाल्यकालमा चंगा बनाएर उडाउने गरेको स्मरण गर्दै फिल्ममा ‘चंगा’ बिम्बले मानवीय संवेदनालाई समेटेको दाबी गरे । ‘चंगा आकाशमा उडाइरहँदा धागो चुडियो भने त्यो चंगा कहिले पानीमा, कहिले सडकमा त कहिले रुखमा अल्झिन्छ,’वाग्लेले प्रष्ट्याए, ‘पानीमा झ-यो भने कुहिन्छ । सडकमा झ-यो भने सबैले कुल्चिन्छन् । रुखमा अडियो भने त्यो हावाकै बेगसँग रमाइरहन्छ । तर यो फिल्मका चंगाहरु चाहिँ के गर्छन् भन्ने बुझ्न दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ।’

फिल्मको ट्रेलर वाग्लेको फिल्म ‘लुट’को फ्लेबरमा देखिएको भन्दै पत्रकारले प्रश्न गरेपछि निर्देशन दीपेन्द्र के खनालले ‘लुट’सँग ‘चंगा चेट’ नमिल्ने दाबी गरे । ‘लुटको कथाबस्तु र अहिलेको फिल्मको कथाबस्तु मिल्दैन । यो फिल्मको कथाबस्तुदेखि दृश्यपरिदृश्य बिल्कुल फरक छ,’खनालले भने,‘यो फिल्मको स्टाइल र सेटिङ सबै अलग छन्।’

प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको फिल्ममा निर्माता वाग्लेसँग निर्मात्री शर्मिला पाण्डेले निर्माणमा सहकार्य गरेकी छन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, सन्दिप क्षेत्री, रविन्द्र झा, सुरक्षा पन्त, पारमिता राणा, माओत्से गुरुङ, अर्पण थापा, वेनिशा हमाल, ऋचा शर्मालगायतले अभिनय गरेका छन्।

फिल्ममा प्रदिप भारद्वाजको लेखन, सूर्य थोकरको एक्सन, राजनराज शिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविण सिंहको कोरियोग्राफी र निरज कँडेलको छायांकन छ।

प्रकाशित: २३ आश्विन २०७५ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App