१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘लभ स्टेसन’मा प्रदीप–जसिता जोडी

काठमाडौं – तीन वर्ष अघि फिल्म ‘वडा नम्बर ६’ निर्देशन गरेपछि निर्देशक उज्जवल घिमिरे फिल्म निर्देशनमा गुमनाम नै रहे । पारिवारिक प्रेमकथाको फिल्म बनाउने योजना बनाएका उनले फिल्ममा ‘हिरो’का रुपमा नायक अनमोल केसीलाई लिने धेरै प्रयास गरे पनि सफल हुन सकेनन् । अनमोललाई लिने योजना असफल भएपछि उनीसँग नायक प्रदीप खड्का ठोक्किए।

‘म अनमोल केसीलाई लिएर पारिवारिक प्रेमकथाको फिल्म बनाउन चाहन्थें । तर अनमोलले अन्य फिल्मलाई समय दिइसकेकाले समय मिलाउन गाह्रो भयो । उनी पारिश्रमिक पनि महंगो लिन्थे,’नयाँ फिल्म ‘लभ स्टेसन’ निर्देशन गर्ने तयारीमा रहेका निर्देशक घिमिरेले सोमबार पत्रकारमाझ भने,‘मैले हिरोको खोजी गरिरहेको थिएँ । त्यही बेला प्रदीप खड्का मलाई खोज्दै आइपुगे।’

उनले ‘लभ स्टेसन’ ठाउँको नाम रहेकाले त्यसकै वरपरको कथामा फिल्म बन्ने बताए । ‘फिल्ममा नयाँ कथा केही छैन । हामीले दैनिक जीवनमा देखिइरहेका प्रेमलाई फिल्ममा अलिक भिन्न किसिमले प्रस्तुत गर्नेछौं,’घिमिरेले खुलाए,‘मेरो फिल्मलाई बलिउडबाट प्रभावित भएको भन्ने आरोप पनि लाग्दछ । तर यो फिल्ममा मेरै कथा रहेकाले त्यो आरोपबाट पक्कै मुक्त हुनेछ।’

फिल्मका नायक प्रदिप खड्काले आफूहरूले फिल्मका लागि अब्बल निर्देशकका रुपमा उज्जललाई छनौट गरेको बताए । ‘अहिलेको समसामयिक अवस्थालाई बुझ्ने निर्देशकका रुपमा उहाँलाई पायौं । उहाँको कथा मन परेकाले हामी काम गर्न सहमत भयौं । फिल्ममा मेरो भूमिका पृथक छ,’प्रदीपले भने,‘यसअघि फिल्म ‘लिलिबिली’मा गरेको प्रतिबद्धता अनुसार नै जसिता र म यो फिल्ममा आबद्ध भएका हौं । त्यस्तो अरु केही कारण छैन।’

फिल्मकै लागि लन्डनबाट नेपाल आएकी जसिताले आफूलाई मनपर्ने निर्देशकसँग फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । ‘उहाँको फिल्म वडा नम्बर ६ हेर्दा निकै रमाइलो लागेको थियो । यसपटक उहाँसँगै काम गर्ने संयोग जुरेको रहेछ,’जसिताले भनिन्,‘म सकेसम्म नेपालमै बसेर फिल्ममा निरन्तरता दिन चाहन्छु । त्यो कार्यमा लभ स्टेसन पनि जोडिएको छ।’

फिल्मका प्रस्तुतकर्ता तथा निर्माता गोविन्द शाहीले आफ्ना अघिल्ला फिल्म झैं नयाँ फिल्म पनि राम्रो बन्ने आशा व्यक्त गरे । ‘प्रेमकथाको पारिवारिक फिल्म भएकाले पनि लभ स्टेसन मेरा लागि विशेष छ,’गोविन्दले भने,‘बजेट महंगो भए पनि लगानी उठ्नेमा ढुक्क छु।’

आगामी असोज ५ गतेबाट फ्लोरमा जाने फिल्ममा ‘मिस सिलगुडी’ श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतको अभिनय रहनेछ । फिल्म दार्जिलिङ, कालेम्पोङ, सिक्किम, इलामको फिक्कललगायतका स्थानमा खिचिनेछ। 

फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहनेछ । काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्ने फिल्ममा उमेश थापा लाइन प्रोड्युसर छन्। 

 

प्रकाशित: २९ भाद्र २०७५ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App