९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

बिदा भए गीत–संगीत–अभिनयका त्रिवेणी

काठमाडौं - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पहिलोपटक सरकार बनेको समयमा रेडियो नेपाल गायक तथा अभिनेता हरिप्रसाद रिमाललाई सम्मान गर्ने तयारी थियो। रेडियो नेपालको पहिलो गायकका रुपमा स्थापित रिमाललाई सम्मानको तयारी भइरहँदा रेडियोकै केही कर्मचारीले उनलाई ‘राजावादी’ को आरोप लगाए। उनले न ‘राजावादी’ शब्द स्विकारे न त सम्मान नै । ‘मलाई राजावादी भनेर सम्मान रोकेछन्। म राजावादी पनि होइन। कुनै दलको मान्छे पनि होइन,’ उनले त्यो समयमा चित्त दुखाउँदै भनेका थिए, ‘म राष्ट्रको स्वाभिमानी कलाकार हुँ। त्यसकारण कलाकार नै भएर मर्न चाहन्छु।’

स्वाभिमानका साथ बाँच्न रुचाउने यिनै रिमालको बिहीबार राति १ बजेर ७ मिनेट जाँदा राजधानीको नयाँबानेश्वरस्थित निवासमा निधन भएको छ। २००७ सालमा स्थापित रेडियो नेपालमा शंकर लामिछानेको शब्दमा ‘मेरो दिल टुक्रा बनेर एक दिन’ बोलको गीत रेकर्ड गराई रेडियो नेपालको पहिलो गायक बनेका रिमाल लामो समयदेखि क्रोनिक ब्रोन्काइटिसलगायतका रोगबाट पीडित थिए।

विसं १९८२ असोज ५ गते काठमाडौंको लगनटोलमा बुवा घनश्याम र आमा मोहनकुमारीका चारमध्ये साइँला सन्तानका रुपमा रिमालको जन्म भएको थियो। उनी सानैदेखि अभिनय र संगीतमा रुचि राख्थे। काकाका छोरा नाटककार गोपालप्रसाद रिमाल र अभिनेता दाजु कृष्णप्रसाद रिमालको साथले पनि उनलाई अभिनयको बाटो देखाएको थियो । नेवार बस्तीमा जन्मिएकाले उनी नेवार भाषामा पनि अब्बल थिए।

घरैमा पण्डितबाट प्रारम्भिक शिक्षा लिएका रिमालले तत्कालीन भानु माध्यमिक विद्यालय (हालको दरबार हाइस्कुल) बाट विद्यालय शिक्षा लिएका थिए। यही विद्यालयका शिक्षक नाटककार बालकृष्ण समबाट उनले नाटक, अभिनय र संगीत सिके । नाटककै कारण उनले पढाइलाई म्याट्रिक (एसएलसी) सम्म मात्र पु-याए।

१९९५ सालमा समको नाटक ‘मुकुन्द इन्दिरा’ मा वैकल्पिक कलाकार रहेका उनले एक वर्षपछि समकै अर्को नाटक ‘प्रह्लाद’ बाट रंगमञ्चमा पाइला टेके। नाटक ‘प्रह्लाद’ पछि उनले नेवारी भाषाको ‘छगु रात’ (एक रात), ‘अन्धवेग’, ‘भीमसेनको अन्त्य’, ‘मुकुन्द इन्दिरा’, ‘रजपुत रमणी’, ‘ऊ मरेकी छैन’, ‘भक्त भानुभक्त’, ‘राजेन्द्रलक्ष्मी’, ‘शिलान्यास’, ‘के सक्कली के नक्कली’ लगायतका नाटकमा अभिनय गरे । २००२ मा नेवारी भाषाको नाटक निर्देशनसमेत गरेका उनीसँग ‘मसान’, ‘भीमसेनको अन्त्य’, ‘रतन’, ‘क्रसमा टाँगिएको जिन्दगी’ र ‘मुनामदन’ लगायतका दर्जनभन्दा बढी नाटक निर्देशनको पनि अनुभव थियो।

१९९६ मा तत्कालीन श्री ३ जुद्धशमशेरले समको नाटक ‘प्रह्लाद’ हेरेपछि रिमाललाई बक्सिस दिएका थिए। प्रह्लादको साथी भएर अभिनय गरेका रिमाललाई नाटकमै ‘हानि छ के परमेश्वरलाई, कोही उनको शत्रु बनोस् नबनोस्’ बोलको गीत गाउँदा जुद्धबाट तारिफ पाएका थिए । यो बक्सिसले पनि हरिप्रसादलाई संगीतमा लाग्न प्रेरणा दिएको थियो।

रिमालसँग तीनवटा नाटकमा सहकार्य गरेका नाट्यकर्मी प्रचण्ड मल्ल रिमाललाई राम्रो अभिनय र गाउन सक्ने भद्र कलाकारका रुपमा चित्रण गर्छन् । ‘अरुको नाटक हेरेर अभिनय सिक्ने उहाँको बानी निकै राम्रो लागेको थियो। त्यो समयमा अनुवाद गरेका नाटकको लोकप्रियता बढिरहँदा उहाँ नेपाली भाषामा राम्रो शब्दको प्रयोग गरेर नाटक लेख्ने र निर्देशन गर्नुहुन्थ्यो,’ मल्लले सम्झे, ‘राणाको जगजगी भएको समयमा पनि उहाँको नाटक बेजोडको हुन्थ्यो।’ २५ दिनअघि रिमालसँगको भेटमा आफूले विगतका कुराहरु स्मरण गरेको उनले बताए।

२००७ सालमा स्थापित रेडियो नेपालको स्थापना समितिमा सदस्यसमेत रहेका रिमालले रेडियोमै रहँदा ‘फगत एक नजरमा, कसले लियो मन’, ‘बिनाबादल असिना झर्दैन’, ‘आँसु बहाऊ तिमी उता’, ‘न त सम्झनु न त बिर्सनु’, ‘जाऊँ हामी बादलपारि’ लगायतका कालजयी गीत रेकर्ड गराए । यी गीतमा उनकै संगीत छ। रेडियोमै रहँदा जनार्दन समको ‘सती’ नाटकबाट रेडियो नाटक निर्देशकका रुपमा डेब्यु गरेका रिमालले ‘महिषासुरको वध’, ‘मसान’, ‘बुहार्तन’, ‘खण्डित पाषाण’, ‘एक्लो मानिसको जुलुस’, ‘भत्किएको जिन्दगी’ र ‘उसको परिचित वर्तमान’ रेडियो नाटकको पनि निर्देशन गरे । यी नाटकमा मदनदास श्रेष्ठ, शकुन्तला शर्मा, यादव खरेल, हरिहर शर्मा, नीर शाह, सुशिला रायमाझी, कल्याणी रिमाल र हरिवंश आचार्यको पनि अभिनय थियो।

रेडियो नेपालका उपनिर्देशक तथा संगीतकार टीका भण्डारीले रेडियो नाटक प्रवद्र्धनमा रिमालको भूमिका महत्वपूर्ण रहेको बताए । ‘उहाँले गर्दा रेडियो नेपालको रेडियो नाटक गाउँगाउँसम्म लोकप्रिय बन्यो। हरेक नाटक सुनेपछि श्र्रोताको प्रतिक्रिया पनि राम्रो पाउँथ्यौं,’ उनले भने, ‘रेडियो नाटकको श्रीवृद्धिमा उहाँको योगदान अतुलनीय छ।’

रिमालले २०२१ सालमा बनेको नेपालको पहिलो फिल्म ‘आमा’ बाट फिल्मी अभिनय सुरु गरेका थिए। हीरासिंह खत्री निर्देशित ‘आमा’ पछि ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘सिन्दुर’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘पिरती’, ‘शिलु’, ‘ज्वाला’लगायतका फिल्ममा उनले अभिनय गरे । उनी भिडियो फिल्म ‘सपना’ का निर्देशक पनि हुन्।

सांस्कृतिक संस्थानमा वि.सं. २०३४ देखि २०५१ सालसम्म नाटक निर्देशकका रुपमा काम गरेका रिमाल संस्थानको सञ्चालक समिति सदस्य, शाही नेपाल चलचित्र संस्थानको सञ्चालक समिति सदस्य तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा समेत प्राज्ञसभा सदस्यका रुपमा काम गरेका थिए।

‘इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार’, ‘नेपाली फिल्मी कलाकार पुरस्कार’, ‘श्री ५ वीरेन्द्र स्वर्ण शुभजन्मोत्सव अभियान स्वर्ण पदक’, ‘रेडियो नेपाल सम्मान (२०५४)’, कान्तिपुर एफएमको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, ‘सिजी कामना लाइफटाइम अचिभमेन्ट अवार्ड’, ‘विश्व रंगमञ्च दिवस सम्मान’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतका विभिन्न चर्चित पुरस्कारबाट रिमाललाई सम्मानित गरिएको छ। रिमाल दम्पतीले २०६५ सालमा ‘हरिप्रसाद कल्याणी रिमाल संगीत÷नाट्य प्रतिष्ठान’को स्थापना गरेका छन्।

रिमाल रेडियोमै रहँदा त्यहीं कार्यरत उद्घोषिका तथा सञ्चारकर्मी कल्याणी पौडेलसँग भेटेपछि टुसाएको प्रेमले २०१४ सालमा पूर्णता पाएको थियो । कल्याणी २०११ सालदेखि रेडियोमा कार्यरत थिइन् । उनीहरूका दुई छोरा र दुई छोरी छन्।

रिमालको शुक्रबारै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रिमाललाई जेठा छोरा अरुणले दागबत्ती दिएका थिए। अन्त्येष्टिअघिको श्रद्धाञ्जली कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झन्डा ओढाएका थिए । रिमालको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।

रिमालले रेडियो नेपालमा गाएका थुप्रै गीत कालजयी छन्। त्यसमध्ये पनि विशेष छ ‘फगत एक नजरमा’। यो गीतको दोस्रो हरफमा भनिएको छ, ‘जति बिर्सुं भन्छ उति सम्झने मन’। रिमालको पाार्थिव शरिर नरहे पनि कलाप्रेमीले उनलाई जति बिर्सन खोजे पनि बिर्सन सक्नेछैनन्।

प्रकाशित: १६ भाद्र २०७५ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App