१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कर्णकाे किताबमाथि परिचर्चा

कठमाडौं – किताबमाथि चर्चा–परिचर्चा गर्ने परम्परा नौलो होइन। औपचारिक विमोचनपछि पुस्तकमा समेटिएका विषयवस्तुमाथि विज्ञ र पाठकले टिप्पणी गर्ने साइत पटकपटक जुराउने गर्छन् प्रकाशक र लेखकले। यसबाट पुस्तकको आगामी संस्करणका लागि परिमार्जन गर्ने सम्भावना प्रशस्त गर्छ। तर, शनिबार पुस्तक चर्चाका लागि आयोजना गरिने बोझिलो पद्धतिविपरीत नागरिककर्मी अनिलकुमार कर्ण लिखित ‘राजनीतिको बेछाँट ज्यामिति’ माथि अनौपचारिक कार्यक्रममा छलफल भयो।

जनकपुरका पुरानो शैक्षिक संस्था जानकी माध्यमिक विद्यालयबाट २७ वर्षअघि एसएलसी उतीर्ण गरेका विद्यार्थीहरूको काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पुस्तकको विषयवस्तुमाथि चर्चा गरे। लेखक कर्ण पनि सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थी हुन्।

कार्यक्रममा राजधानी आएर फरकफरक क्षेत्रमा कार्यरत विद्यार्थीहरूले स्कुल जीवनको सम्झनासँगै आफ्नो ब्याचका विद्यार्थीको जीवन उपलब्धिबारे जानकारी बाँड्र्द आफ्नो अध्ययन थलोको विकासका लागि योजनासमेत बुनेका थिए।

अहिले क्यानडामा बसोबास गरिरहेकी मधु दाहालले कार्यक्रमको आरम्भमा विद्यार्थीमाझ पुस्तकको पुनर्विमोचन गरेकी थिइन्। उनले जीवन जिउने क्रममा जनकपुरबाट प्रारम्भिक अध्ययन सकेर देशविदेशमा छरिएका छात्रहरूलाई आफ्नो शक्ति र सामथ्र्य गाउँठाउँको विकासका लागि उपयोग गनुपर्ने बताइन्।

कार्यक्रममा अहिले विकास फाँटमा कार्यरत नबिता शर्माले सिर्जनात्मक लेखनले समस्याको पहिचान हुने र त्यसबाट समाधानका बाटाहरू अन्वेषण हुने बताइन्। उनले अब लेखिने पुस्तकमा देशलाई जोड्ने सामग्रीको प्रचुरता आवश्यक भएको औंल्याइन्।

पत्रकार कर्ण लिखित पुस्तक राजनीतिको बेछाँट ज्यामितिमा राजनीतिका विसंगति र विषमताका बारेमा लेखहरू संग्रहित छन्।

कार्यक्रममा धनुषा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विशाल बराल, राजीव घिमिरेलगायतका जानकी माविका पूर्वविद्यार्थीहरूले आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: २० श्रावण २०७५ ०४:१९ आइतबार

कर्णकाे किताबमाथि परिचर्चा