१५ माघ २०८१ मंगलबार
image/svg+xml
कला

ती आँखा जसले मलाई झुक्याइरहे!

साैन्दर्य

भारतको प्रयागमा जारी महाकुम्भ मेलामा माला बेच्न आएकी इन्दौरकी ‘निला आँखावाली’ मोनालिसा भोंस बिहीबार घर फर्किसकिन्। तर उनको आँखाको चर्चा यतिबेला इन्टरनेट संसारमा धुमधामसँग भइरहेको छ।

उनका सुन्दर आँखाको यति धेरै प्रशंसा भयो कि साधुको मेलामा सुन्दरीका एक जोडी आँखाले उधुम मच्चाए। सामाजिक सञ्जालमा यो निकै ट्रेन्डिङमा रह्यो। इन्स्टाग्राम, फेसबुक युट्युबलगायतका सञ्जालमा लाखौंले उनलाई नियाले। इटालियाली चित्रकार लियोनार्दो दा भिन्चीको विश्व चर्चित चित्र मोनालिसाजस्तै चर्चाको शिखरमा रहिन् इन्दौरकी मोनालिसा।

साधुको त्यो महाकुम्भमा निलो आँखावाली मोनालिसा यति धेरै प्रिय भइन् कि फोटो खिचाउनेको भिडले उनले आफ्नो व्यापार छोडेर घर फर्कन बाध्य भइन्। हजारौंको मन लुटेकी उनले लाखौं रूपैयाँ कमाएको चर्चा छ। खासमा उनले दामभन्दा धेरै नाम कमाइन्। उनका आँखा यतिबेला कैयन्का गीत, संगीत र कवितामा छचल्किएका छन् ।

भारतको कुम्भमेलामा मोनालिसाको त्यो निलो आँखा नियाल्दै गर्दा मलाई भने एक दशकअगाडि वीरगन्जमा भेटिएकी डोम बालिका काजल मलीको सम्झना भयो। सागरजस्तै निलो आँखामा म फेरि डुबे। स्मृतिमा पुरानो कथा तैरियो।

त्यतिबेला समाचार संकलनका क्रममा वीरगन्ज चिनी मिलछेउ डोम बस्ती पुग्दा एक्कासि एक बालिकाले ध्यान खिचिन्। सडकभन्दा केही पर फोहोरको थुप्रोनजिकै खेलिरहेकी उनी डोम बस्तीका अरू बालिकाभन्दा फरक थिइन्। गलामा पोते र निधारमा टीका लगाएकी बालिका मतर्फ फर्केर मुसुक्क मुस्काइन्। यस्तो लाग्यो, आँखामा निलो समुन्द्र बोकेर कोही हाँसिरहेको छ।

मैले हतारहतार उनीतर्फ क्यामेरा सोझ्याएँ। तस्बिरमा तिनका निला आँखा र सुनौलो कपाल कैद थियो। तराईको गरिब दलित बस्तीकी आठ वर्षीया काजल मली बलिउड अभिनेत्री काजोलभन्दा कम थिइनन्। अझ उनको निलो आँखा हेर्दा लाग्थ्यो, उनी त ऐश्वर्या राय हुन्, एन्जेलिना जोली हुन् ।

डोम बस्तीमा हुर्कंदै गरेकी काजलका निला आँखा र मुस्कानले मलाई पछ्याइरहे। अभाव र गरिबीबिच भेटिएकी काजल हिलोमा फुलेको कमलजस्ती थिइन्। उनको परिवारमा अभाव छ, समुदायलाई नै वर्णव्यवस्थाको गरुङ्गो विभेदले किचेको छ। तर, काजललाई न परिवारको अभाव थाहा छ, न त सामाजिक विभेद नै। उनी त अबोध बालिका हुन्, जो नौलो मानिस आउँदा उस्तै गरी मुस्काउँछिन्।

हुन त मैले पत्रकारका रूपमा मात्र काजलको तस्बिर क्यामेरामा कैद गरेको थिएँ, तर उनका निला आँखा र मन्द मुस्कान भने मनमा समेत कैद हुन पुगे। पत्रकारिता कर्ममा धेरै तस्बिर खिचिए, काजलको जस्तो मनै लोभ्याउने तस्बिर भने कमै कैद भए मेरो क्यामेरामा। कुम्भमेलामा भेटिएकी मोनालिसाको आँखाको तस्बिरजस्तै।

भनिन्छ, हजार शब्दले नबोल्ने कथा एउटा तस्बिरले बोल्न सक्छ। त्यसैले होला, काजलको मुस्कान, हेराइ र निला आँखाले एउटा गरिब दलित परिवारको कथासँगै बालिकाको अबोधपनसमेत बोलिरहेको जस्तो लाग्थ्यो। आफूले खिचेका सबै तस्बिरका पात्रलाई पछ्याउन मन लाग्दैन, पछ्याइँदैन पनि। केही पात्र यस्ता हुन्छन्, जसलाई नपछ्याइरहन सकिँदैन। तिनीहरू क्यामेरामा मात्र होइन, हृदयमै कैद हुन्छन्। इन्दौरकी मोनालिसाको आँखा यति बेला त्यसैगरी कैद भएका छन्।

पहिलो पटक खिचिएको काजलको तस्बिरले मन छोएको हुँदा उनलाई नपछ्याइरहन सकिनँ। त्यसैले २०६९ वैशाखतिर फेरि लागेँ, त्यही बस्तीतर्फ। बस्तीमा काजल भेटिइनन्। आँगनमा खल्याङखुट्टी खेल्दै गरेका केटाकेटीको भिडमा उनलाई खोजेँ। सडक वरपर हिँड्दै गरेका बालबालिकाको हुलमा उनलाई पहिल्याउन प्रयत्न गरेँ। काजललाई कतै नदेखेपछि खेल्दै गरेका साना बालबालिकाको तस्बिर खिच्न थालेँ ।

अचानक एउटा चिनेकोजस्तो मुहारलाई क्यामेराको लेन्सले कैद ग¥यो। क्यामेरामा कैद मन्द मुस्कान अरूको थिएन, तिनै काजलको थियो। तर, यस बेला एक वर्ष अघिजस्तो उनको गलामा पोते, शिरमा केश र कानमा कुनै गहना देखिएनन्। मुडुलो टाउको र बुच्चो कान भए पनि उनको मुस्कान र निला आँखामा उस्तै अबोधपन देखिन्थ्यो।

हातमा खरबुजा लिएर खाँदै गरेकी काजलको तस्बिर मैले फेरि कैद गरेँ। तस्बिर लिइसकेपछि मैले काजल मलीको परिवर्तित रूपबारे गाउँलेलाई सोधेँ। गाउँलेले भने, ‘घर वरपर फोहोर छ, पानी अभाव छ, सधैं नुहाउन नसक्दा खटिरा आएकाले उनको कपाल काटिएको हो ।’ काजलकी आमासँग पनि मैले यसबारे सोधेँ।

उनले भनिन्, ‘पहिला त काजलले कपाल काट्नै मानेकी थिइन, बल्ल मानी ।’ उनका आँखा यति सुन्दर थिए कि सुनौलो केश काटिँदा पनि उनको सुन्दरतामा कुनै कमी देखिएन।  

तराईका डोम समुदायलाई स्थानीय हुनेखानेले वैवाहिक समारोह हुँदा नयाँ लुगा र सौन्दर्य सामग्री दिन्छन्। एक वर्षअघि काजलको तस्बिर लिँदा उनले त्यस्तै समारोहबाट नयाँ लुगा र सौन्दर्य सामग्री पाएकी थिइन्। त्यसैले उनी लुगा र गहनामा सजिएकी थिइन्। अहिले भने गाउँमा कसैको बिहेको अवसर परेको थिएन। त्यसैले उनी गहनाविहीन थिइन्। फेरि गाउँमा कसैको बिहे भए उनले लुगा, गहना र सौन्दर्य सामग्री पाउनेछिन्। यो कथा काजलको मात्र होइन, तराईका धेरै डोम परिवारको हो।

दोस्रो तस्बिर लिएपछि मैले अघिल्लो वर्षको तस्बिरसँगै राखेर हेरेँ। दुई तस्बिरसँगै मैले काजल स्कुले उमेरमा पनि विद्यालय जानबाट वञ्चित भएको समाचार लेखेर नागरिक दैनिकलाई पठाएँ। भोलिपल्ट (२०६९ वैशाख ७ गते) नागरिक दैनिकको पहिलो पृष्ठमै काजलको तस्बिरसहित समाचार शीर्षक आयो– ‘काजल मली स्कुल जान्नन् ।’

उनको सुन्दर तस्बिरसहित काजल स्कुल जान नपाएको समाचार छापिएपछि त्यसले ठुलै चर्चा पायो। धेरैले मलाई फोन गरेर उनलाई अध्ययनको व्यवस्था मिलाइदिने बताए। उनलाई पढाइदिने धेरै दाता भेटिएपछि मैले उनको परिवारलाई काजललाई स्कुल पठाउने व्यवस्था मिलाउन आग्रह गरेँ। दाताहरूका आग्रह सुनाएँ। तर, काजलको परिवार उनलाई स्कुल पठाउन राजी भएन।

बालविवाह प्रथा कायमै रहेको डोम समुदायकी एक बालिकालाई स्कुलको ढोकासम्म पु¥याउने एउटा अवसर वञ्चित भएकामा साह्रै नमजा लाग्यो। म पनि वीरगन्ज कार्यक्षेत्रबाट काठमाडौं आएँ। उपत्यकाको जात्रा पर्व र सामाजिक जीवनका कथा लेख्न र तस्बिर लिन थालेँ। मैले आफूलाई उपत्यकाकै काजल मलीका तस्बिर र समाचारमा भुलाउन थालेँ।

करिब ६ वर्षअघि पुरानो कम्प्युटरमा फाइल खोज्ने क्रममा अचानक काजल मलीको हँसिलो तस्बिर भेटेँ। विस्मृतिमा हराएकी काजल मलीको तस्बिरले मलाई एक पटक फेरि पुरानै दुनियाँमा पु¥यायो। काजल कस्ती भइन् होला ? पढ्न त पाइनन्, उनको बिहे भइसक्यो कि ?’ यस्तै प्रश्न मनमा रुमलिन थाले ।

एक पटक फेरि वीरगन्ज जाने अवसर मिल्यो। बाइकमा मुग्लिङको बाटो हुँदै गन्तव्यतर्फ लागेँ। त्रिशूलीको किनारै किनार निलो पानी नियाल्दै अगाडि बढ्दा काजलका निला आँखाकै झझल्को आउँथ्यो।

क्यामेरामा तस्बिर देखाउँदा उनले दिएको अबोध प्रतिक्रिया र फोटो धुलाएर दिँदाको लजालु मुस्कान सम्झिरहेँ। काजल मली आफ्ना दुई दाजु र बाआमासँग बस्थिन्। उनी र उनका दाजुहरू विद्यालय गएका थिएनन्। उनकै जस्तो १२ परिवार बसोबास रहेको त्यो बस्तीमा धेरैले काजललाई बिरालाको जस्तो आँखा भएकी समेत भन्ने गर्थे।

मनमा कुरा खेलाउँदै म वीरगन्ज पुगेँ, वीरगन्जबाट काजलको बस्ती। चिनीमिलनजिकको डोम बस्ती त्यहाँबाट हटिसकेको रहेछ। एक छिन त सपनाजस्तै लाग्यो। पसलेलाई सोधेपछि थाहा भयो, त्यहाँका डोमहरू अन्यत्र सरिसकेछन्।

धेरैले गण्डक नहरछेउ जानु भन्ने सुझाव दिए। म हतारिँदै त्यहाँ पुगेँ। साना झुप्रामा ससाना बालबालिका खेलिरहेका थिए। एक किशोरी हातमा कुचो लिएर आँगन बढार्दै थिइन्। उनलाई सोधेँ, ‘निलो आँखा भएकी काजल मली कहाँ बस्छिन् ?’ उनले मेरो मुख नियालिन् र सोधिन्–  काये ‐किन) ?

मैले काजललाई भेट्न चाहेको सुनाएँ। उनले आफूलाई थाहा नभएको तर अलि पर गएर सोध्न आग्रह गरिन्। बाटोमा एक युवकलाई काजलबारे सोधेँ। उनले पनि जानकारी नभएको भन्दै खोज्नका लागि सहयोग गर्न तयार भए। बारा बहुवरीका ती मुसलमान युवा काजलको खोजी यात्राका सहयोगी बने। साँझपख हामी वीरगन्ज बसपार्क हुँदै नगवातर्फ लाग्यौं। काजलको परिवार त्यतै बसोबास गर्ने हामीले सूचना पाएका थियौं। गोधुलीमा हामी एउटा घरअगाडि रोकियौं ।

त्यो घर डोम समुदायको थियो। एउटी बालिकाले पिँढी बढारिरहेकी थिइन्। हामी घरअघि पुग्नेबित्तिकै ती बालिका भित्र छिरिन्। आँगनमा भेटिएकी महिलालाई हामीले काजल मलीबारे सोध्यौं, ‘काजलको घर यही हो ?’ ‘किन ?’ महिलाले प्रतिउत्तर फर्काइन्।

मैले आफू पत्रकार भएको बताएँ। ती महिलाले मलाई नियालिन् र मुन्टो घुमाइन्। तिनले मलाई चिनेकी थिइन्। त्यसपछि उत्तर फर्काइन्, ‘काजल घरमा छैन ।’ उनी कहाँ छिन् त ? भन्ने प्रश्नमा उनले काजल चितवनतिर आफन्तकहाँ रहेको बताइन्। हामीलाई काजलबारे बताउने उनकै आमा थिइन्।

काजलकी आमाले उत्तर दिँदा मतर्फ हेरिरहेकी थिइनन्। उनी मेरा प्रश्नको जवाफ दिए पनि प्रश्नहरूलाई मन पराइरहेकी थिइनन्। म काजलको खोजीमा वीरगन्जसम्म आएको थिएँ। तर, उनकै आँगनमा उनैलाई नभेटी फर्कनुपर्ने भएपछि निराश बनेँ। मलाई सहयोग गर्न पुगेका युवाले अघि पिँढी बढार्ने बालिका काजल नै हुन सक्ने खुसुक्क बताए। तर, हामीले काजललाई भेट्न पाएनौं। त्यो दृश्य क्यामेरामा कैद भएको भए सायद घुमाइघुमाइ हेर्न सकिन्थ्यो। तर, म पिँढी बढारिरहेकी काजललाई त्यसरी हेर्न सक्ने अवस्थामा थिइनँ ।

म आँगनमा टोलाएर बसेँ, कतै उनको आमाको मन फर्किन्छ र ‘काजल बाहिर आइज’ भनेर बोलाउँछिन् कि भन्ने आसले। तर, न उनकी आमाले बोलाइन्, न त काजल नै बाहिर निस्किन्। सायद आमाको मौन इच्छा काजलले बुझिन्। आमाले पनि काजललाई बोलाउनुको साटो ढोका लगाइन्। काजल मलीको जस्तै निलो आँखा भएका अरू बालबालिकाको तस्बिर पनि मैले खिचिसकेको छु। काजलको घरबाट फर्केको भोलिपल्टै पनि मैले वीरगन्जमा त्यस्तै बालबालिकाको तस्बिर खिचेर राजधानी फर्किएँ। राजधानी फर्किए पनि अहिलेसम्म मानसपटलबाट काजल मलीको तस्बिर हट्न सकेको छैन। साँच्चै कस्ती भइन् होला काजल मली ?

काजल मलीलाई खोज्न करिब चार वर्षअगाडि फेरि प्रयास गरेँ। वीरगन्जस्थित उनको परिवारसँग सम्पर्क गर्दा उनी भारतको सुगौलीमा रहेको जानकारी मिल्यो। उनको विवाह भइसकेको रहेछ। वीरगन्जका साथी लिएर म सुगौली पुगेँ।

सुगौलीमा पुगेर खोज्दा उनको घर पनि फेला प¥यो। वीरगन्जको घरमा जस्तै त्यो घरमा पनि बासको टोकरी बुन्ने रहेछन्। उनका ससुरा बाले हामीलाई बसाएर सोधपुछ गरे। काजल घरमै रहेको सुनाए। जब हामीले पत्रकार भएको बतायौं, उनी अकमक्क परे। अनि काजल बाहिर घुम्न गएकाले आउन ढिलो हुने सुनाए। हामी जति बेर भए पनि कुर्न तयार भयौं। तर काजल आज आउन नसक्ने भन्दै हामीलाई फर्काइयो।

काजल मलीका आँखा नियाल्न नपाएकोमा उदास आँखा लिएर हामी नेपाल फर्कियौं।  

प्रयागमा जारी कुम्भ मेलामा मोनालिसाको आँखाको चर्चा भयो। मानसपटलमा उनै काजल मली नाच्न थालिन्। कुम्भमा धेरै कुरा हराएको सुनिन्छ। तर मलाई कुम्भमा केही मिलेको महसुस भयो। थाहा छैन, वीरगन्जकी काजल मोनालिसा हुन् कि होइनन्। सायद होइनन्। तर मैले मोनालिसाको आँखामा वीरगन्जकी काजल देखेँ। सायद म फेरि झुक्किएँ ?

काजल मली ! तिम्रा आँखाको बिछट्टै सम्झना आइरहेको छ।  

प्रकाशित: १२ माघ २०८१ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App