७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

विश्वासको होमन

कविता

भर्खरै टुसाएको छ

खुशीमा आँकुराहरू

कहिले पात पलाउँछ?

कहिले कोपिला लाग्छ?

अनि कहिले फुल्छ?

फूलै फूलको यो विशाल परिधानभित्र!

उम्रेका छन् लाखौं वृक्षहरू

जसरी उम्रन्छ भुईचम्पा फूल!

जसरी उम्रन्छ यार्चागुम्बा 

जीव र वनस्पति

बिज टुसाएपछि

मूल्य अनि औचित्यमा आउने हो!

तर, यो धर्तीभरि नै!

सलह जस्तै मान्छेको साम्राज्य छ!

कसरी हुर्केर बढ्ने हुन्

बिज अनि वृक्षहरू?

हजारौं प्रश्न जन्मिएको बेला!

यो विशाल धर्तिभरि

काउसो मौलाएको छ!

सिमानामा सिमलका रूखहरू

किन सुसाइरहेका छन्?

समयको ध्रुवीकरण भैरहेको बेला!

भरियाका गीत गुनगुनाउँदै

किन बतासिंदै छ मौसमी हावा?

सिमापारिको गाउँमा

भञ्ज्याङ अनि देउरालीमा

गाउँका तन्नेरीहरू च्याखे थापेर  

पर्खिरहेका छन!

बेली-चमेली फूलका सुवासहरू

तर किन मौन छन् गाउँबस्तीहरू?

रतिभर हीनताबोध छँदै छैन

चेतना र विवेकलाई बन्धकी राखेर!

अहंकार अनि अभिमानको तर्क गर्दै छन! 

बस्तीका हस्तीहरू!

अनि परेड खेल्दै छन्!

लिलाम गर्दै स्वाभिमानको!

अभिमानी आँखाहरूले

नियालिरहेछन् बगैंचाका फूलहरूलाई

कुल्चदै

बुर्कुसी मार्दै

फूलको सौन्दर्य कुल्चेर

फूलको अस्तित्व बिर्सेर

फूल-कोपिलाको इज्जत लुट्दै छन्

लिलाम गर्दै छन् फूलको अस्मिता

धावा बोल्दै फूलको स्वाभिमानमाथि

लगाउँदै छन् गिद्धे दृष्टि

कैद गर्दै छन् स्वतन्त्रताको

विश्वासको होमन गर्दै

सत्य र निष्ठाको खिल्ली उडाउँदै छ

तर थाहा छैन मलाई

यो समय

किन जन्माउँदै छ

सुन्दर वृक्ष अनि फूलहरू?

 -आकाश अधिकारी

प्रकाशित: ९ कार्तिक २०८१ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App