१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नौ भाषामा काव्यिक ‘वसन्त’

काठमाडौं– कवि तथा गीतकार वसन्त चौधरीका नौ भाषाका काव्यकृति ‘वसन्त’ सार्वजनिक भएको छ । एक नेपाली भाषाको पुस्तकलाई अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडीमा अनुवाद गरी पाठकमाझ ल्याइएको हो।

राजधानीमा बुधबार एक कार्यक्रमबीच लेखक चौधरीसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली, कवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा, साहित्यकार प्राध्यापक भुवन ढुंगानाले अंग्रेजी, प्राध्यापक उषा ठाकुरले हिन्दी, पण्डित मानवेन्द्र शर्माले मारवाडी, भाषाशास्त्री डा. रामावतार यादवले मैथिली, आख्यानकार डा. ध्रुवचन्द्र गौतमले भोजपुरी, भाषाविद् अमृत योञ्जनले तामाङ र संगीतकार नुपुर भट्टाचार्यले बंगाली भाषाको कविता संग्रह एकसाथ विमोचन गरे।

चौधरीले आफ्नो ६० वर्ष पुरा गरी ६१ वर्ष लागेको सन्दर्भमा पुस्तक प्रकाशन गरेका हुन् ।
विमोचन कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्रा. अभि सुवेदीले कृतिले कवि चौधरीको काव्यिक वैशिष्ट्यतालाई अभिव्यक्त गरेसँगै नेपाली कविताको महत्वलाई अन्य भाषामा सम्प्रेषण गर्ने प्रशंसनीय कामको सुरुवात गरेको बताए।

लेखक चौधरीले देशका विभिन्न भाषामा थोरै भए पनि सेवा पुर्याउन नौ भाषामा पुस्तक प्रकाशन गरिएको बताए । ‘म ६० वर्ष पुगेपछि व्यापार व्यवसायलाई छोड्छु भन्ने मनस्थितिमा थिएँ । तर केही कामले गर्दा यो समय अझैं पाँच वर्षसम्म व्यापार व्यवसायलाई छोड्न नमिल्ने अवस्थामा छु,’ उनले भने, ‘म भगवानलाई ७० वर्षसम्म बाँच्न सकुँ भनेर प्रार्थना गरिरहेको छु । किनकी यो समयमा म विश्वभरका नेपालीलाई भेटेर आफ्नो सिर्जना सुनाउन चाहन्छु ।’ उनले जन्मोत्सवको माहोलमा साहित्यिक सिजृना, सद्भाव र सेवाबाट अघि बढिरहने प्रण गरेको बताए।

बसन्तको पुस्तकलाई नेपाल भाषामा सुरेशकिरण मानन्धर, अंग्रेजीमा डीबी गुरुङ, हिन्दीमा गोपाल अश्क, मारवाडीमा लक्ष्मण नेवटिया, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान बल र बंगालीमा राजेन्द्र गुरागाईंले अनुवाद गरेका हुन् । नेपाली कविताको सम्पादन डा. देवी नेपालले गरेका छन् । उनको प्रकाशित कृतिमा ‘राष्ट्रियता नदुखोस्’, ‘संवाद’, ‘मेघा’, ‘मेरा कविताहरु’ र ‘आँसुओं कि सियाही से’ छन्।
 

प्रकाशित: २२ चैत्र २०७४ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App