७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

वेदना

लघुकथा

‘ओई, तँ पनि यतै छ्स्?’ आफ्नी पुरानी साथीलाई अकस्मात भेट्दा रुकुले भनिन्।

‘कस्तो एकैपटक पार्कमा घुम्न निस्केको बेला परेछ नि।’ श्रीकला पनि खुशी हुँदै भनिन्।

उनीहरू पार्कको बेन्चमा बसेर कुरा गर्न थाले।

रुकुले सोधिन्, ‘तँ कति भयो यो एरियामा बस्न थालेको!’

‘धेरै भएको छैन्, एक हप्ता भयो। पहिला त अस्टिनमा थिएँ।’ श्रीकलाले आफ्नोबारे भनिन्।

‘सिटी नै छोडेर आएछौ त तिमीहरू त ,उता काम राम्रो थिएन र?’ रुकुले प्रश्न गरिन्।

टाढा क्षितिजको निलो आकाशमा देखिएका सेता बादलका टुक्रा हेर्दै श्रीकलाले भनिन्, ‘म मात्र 

आएकी हुँ यहाँ।’

‘भिनाजु उतै, काम छोड्न नमिलेर हो?’ रुकुले भनिन्।

‘म उसँग बस्न सकिन रुकु।’  श्रीकलाको घाँटी अवरुद्ध भयो। आँखाबाट ठूलाठूला आँसुका ढिक्का खस्न थाले।

पुरानी साथी भेट्दा श्रीकलालाई आफ्नो मनले र शरीरले भोगेका यातनाका दाग देखाउन मन लाग्यो।

साथीको अनुहारमा हेर्दै रुकुले भनिन्, ‘धैर्य गर। आफूलाई समाल सिरी।’

‘हिंड् कोठामा।  नजिकै छ मेरो कोठा।’ टिस्यु पेपरले आँसु पुछ्दै श्रीकलाले भनिन्।

कोठामा पुगेपछि थुनिएको खहरे खोलिएजस्तै पीडा पोखियो। दुई वर्षदेखि श्रीकलाले भोग्दै आएको दुख देखेर रुकुको पनि आँखाबाट भल बग्न थाल्यो।

रुकुले भनिन्,‘यस्तो हुँदा पनि अघिल्लो महिनासम्म सामाजिक सञ्जालमा भिनाजुसँगको टिकटक र रिल राखिरहेकी थिइस्।’

‘बाआमालाई सात समुद्रपारि छोरी खुशी नै छे भनेर देखाउनु नि।’ श्रीकलाले उत्तर दिंदा पाखुरामा चुरोटको ठुटाले पोलेको घाउ देखिने गरी सल भुईमा खस्यो।  

प्रकाशित: १ आश्विन २०८१ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App