११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

रामायण, मुन्धुम र बुद्ध

इतिहास चिन्ता

तिलौराकोट, कपिलवस्तु। सिद्धार्थ गौतम हुर्केको दरबारका भग्नावशेष उत्खननमा व्यस्त विभिन्न कित्ता–किसिमका कर्मीहरू।

रामायण

भारतको इतिहासको पात्रोमा २०२४ सम्म आइपुग्दा जनवरी २२ ले खासै कुनै अर्थ बोक्दैनथ्यो। पात्रोले दिने दर्जामा अधिकांश दिनजस्तै सामान्य नै थियो जनवरी २२ को दर्जा। मानव सभ्यताको सुरुवात भएको २२ लाख वर्षअघिदेखि सन् २०२४ सम्म आइपुग्दा जनवरी २२ रातारात ‘जनवरी २२’ बनेको छ। एक ऐतिहासिक दिन। एक थरीको इतिहास बनेको दिन, बनाइएको दिन अनि अर्को थरीको इतिहास मेटिएको, मेटाइएको दिन।

सम्पूर्ण भारत वर्षले ‘इस्लाम औपनिवेशवाद’ बाट पूर्ण रूपमा मुक्ति पाएको बखत। उही मुक्तिलाई कालजयी बनाउन छानिएको दिन भयो जनवरी २२। मुस्लिमहरूको सर्वविनाशमै हिन्दुहरूको प्रतिष्ठा छ भन्ने उर्दी जो जारी गरेको छ, ‘हिन्दुत्व’ भनिने धार्मिक बहुसङ्ख्यकवादी अतिवादको हिंसात्मक राजनीतिले।

बाबरी मस्जिद ढलेको तीन दशकपछि राम मन्दिर निर्माण कार्य अपुरो हुँदै गर्दा लोकसभा चुनावको मुख पारेर नरेन्द्र मोदी सरकारले जनवरी २२ मा मन्दिरको उद्घाटन गर्‍याे । कार्यक्रमको नाम राखियो ‘प्राण–प्रतिष्ठा’। ‘राम लल्ला’ अर्थात् बालक रामको पुनरागमन। राम र हिन्दु धर्मको प्राणको प्रतिष्ठा राख्न गरिएको अनुष्ठान।

‘प्राण–प्रतिष्ठा’ कार्यक्रमको वरिपरि म उतै थिएँ, अयोध्यातिर। अध्ययन–अनुसन्धानको सिलसिलामा आउनेजाने गर्छु। ‘प्राण–प्रतिष्ठा’ जनवरी २२ नै किन ? आफ्नो जिज्ञासा मेटाउन, कार्यक्रम हेर्न जाने/नजाने लखनउ, फैजावाद र अयोध्यावासीलाई प्रश्न गरें। एक थरीको जवाफ हुने गथ्र्यो, ‘मालुम नहीं’। अर्का थरीले भने, ‘कुछ भी’।

अझै अर्का थरीले भने, ‘अरे भाजपाका सरकार है यार’, अर्थात् भाजपाको सरकार छ, जे गरे नि भो नि। तर पछि झ्वाट्ट दिमागमा आयो २०२४ अर्थात् बाबरी मस्जिद ढलेको ३२ वर्षपछिको समय। सम्पूर्ण भारत वर्षले ‘इस्लाम औपनिवेशवाद’बाट पूर्ण रूपमा मुक्ति पाएको बखत। यही मुक्तिलाई कालजयी बनाउन सायद २०२४ को आगमन सँगसँगै पहिलो महिनाको पहिलो दिनको सट्टा २२ गते नै छानिएको ‘प्राण–प्रतिष्ठा’ मनाउन। मुस्लिमहरूको विनाशमा नै हिन्दुहरूको प्रतिष्ठा छ भन्ने उर्दी जो जारी गरेको छ, ‘हिन्दुत्व’ भनिने धार्मिक बहुसंख्यकवादी अतिवादको हिंसात्मक राजनीतिले।

अयोध्या विकास प्राधिकरणको मातहतमा अयोध्याको सुन्दरीकरणका लागि ३० हजार करोड बजेट छुट्याइएको छ। जसअन्तर्गत मन्दिर निर्माण र पुनर्निर्माण सँगसँगै होटल, हाउजिङ, पार्क अनि सडक निर्माण र विस्तारका कामहरू अघि बढिरहेका छन्। प्राण–प्रतिष्ठानको अवसरमा बच्चन र अम्बानीजस्ता धनाढ्यहरूले त सरायु नदीवरपर जग्गा–जमिन नै जोडेको खबर स्थानीय अखबारमा पढ्न मिल्यो।

रामायणलाई ऐतिहासिक प्रमाणका रूपमा प्रयोग गरेर ‘परिक्रमा मार्ग’, ‘राम पथ’जस्ता सडकहरू सयौं वर्ष पुराना बस्तीहरू चिर्दै एक सुरले अघि बढिरहेका छन्। दशदेखि पन्ध्र हजार घरहरू, कुनै बिनामुआब्जा त कुनै बजार भाउभन्दा कमको मुआब्जा जबर्जस्ती स्वीकार्दै ढलिरहेछन्।

निम्न वर्गीय घर–परिवारका घरखेती, पसल, व्यवसाय सबै घर सँगै ढलेपछि धेरैका लागि अयोध्या उजाड भएको छ। ‘प्राण–प्रतिष्ठा’को रमझममा आधा भत्किएका घरभित्र यस्ता धेरै घरपरिवारहरू भेटिए, जसको अनुहारमा निराशा र दिशा–विहीनताबाहेक अरू केही पढ्न मुस्किल।‘

आफूलाई न्यायिक लाग्ने मुआब्जा हात नपरुन्जेल मुआब्जा स्वीकार नगर्दा के हुन्छ ?’ जवाफमा उही आयो, ‘मोदीका सरकार है भाइ मोदीको सरकार’। प्रतिकार गर्दा कि जेल चलानी कि प्राधिकरणको डोजरले घर भत्काउने वा दुवै। कोही कोही हिन्दु प्राधिकरणअगाडि बोल्नसम्म आँट यदाकदा जुटाउँदा रहेछन्। मुस्लिम त तैं चुप मैं चुप।

अब जेल कहाँ जानू। अनि प्राधिकरणको डोजरले घर भत्काउँदा सर्वस्व ढल्ने। बरु आफ्नै खर्चमा डोजर हाल्दा जतनसाथ आवश्यक भत्काउने अनि बचेको खण्डहरू जोडजाम गरी फेरि जिन्दगीको गाडी बनाउने–चलाउने जुगाड गर्ने। अब कतिको आफैंले डोजर चलाउँदा पनि केही नबचेको बयान अयोध्यामा धेरैले दिने गर्छन्।

रामपथ विस्तारका क्रममा राम मन्दिर, अयोध्या जाने बाटो चौडा बनाइँदै।

आजभन्दा करिब २५ सयदेखि २७ सय वर्षअघि वाल्मीकिले ‘रामायण’ लेखे। त्यो एउटा काव्य थियो, महाकाव्य। इतिहासको वर्णन होइन, एउटा कथा थियो। वाल्मीकिले रामायण लेखेको झन्डै दुई हजार वर्षपछि अर्थात् सन् १५७४ मा मुगलहरूको राज हुँदा तुलसीदासले रामायणलाई आधार बनाएर ‘रामचरितमानस’ लेखे।

रामचरितमानसमार्फत राम भगवान् बने। अवाधपुरी अथवा अयोध्या, उनको जन्मभूमि भएको वर्णन गरे अनि रामचरितमानस छापिएको झन्डै चार सय वर्षपछि, ८० को दशकको उत्तरार्ध अनि ९० को दशकको सुरुवाततिर भारतको राष्ट्रिय टेलिभिजन च्यानल दूरदर्शनले हरेक हप्ता प्रसारित गर्ने ‘रामायण’ टेलिशृंखलामार्फत विशेषगरी भारतीय र नेपाली मूलका आम मानिसले राम र सीताको दर्शन गर्न थाले।

त्यसपछि त रामायण सात्विक सत्य नै बन्यो। घरघरमा छायो। मनमुटुमा बस्यो। मिथकले इतिहासको गर्विलो स्थान पाउन थाल्यो। यसरी दुई हजार वर्षअघि एउटा मिथकका रूपमा लेखिएको रामायणले एक्काइसौं शताब्दीमा आएर झेली पुरातत्त्वको अनैतिक प्रयोगमार्फत ‘इतिहास’को मान्यता पाउँदै समकालीन समयमा ‘सहरी योजना’ को नाममा धर्म र राजनीतिलाई नयाँ जीवन दिने मुस्लिम र गरिब मार्ने एक धारिलो हतियार बनेको छ।

यसकारण २०१४ पछि भारतीय जनता पार्टीको पुनःउदयसँगै संस्थागत बल पाएको अभिजात वर्गको प्रतिक्रान्तिको उग्रअवतार भनेको मोदीको रामायण हो भन्दा फरक नपर्ला। प्रश्न उठ्छ, पुरातत्त्वको सहाराबिना नै मिथकले इतिहासको उपाधि रातारात पाउन सक्छ, राज्यशक्तिले पुरातत्त्वको धज्जी उडाउन सक्छ भने पुरातत्वको प्राण–प्रतिष्ठा कायम गर्ने कसरी ?

पुरातत्वको माङ्गेना गर्ने कसले ? ज्ञान–विज्ञानका अन्य सङ्काय र विभागीय कित्ताहरू जुट्ने कसरी ? कि यो लडाइँमा हारबाहेक केही लेखिएको छैन ? अनि यदि यो हो भने हार-जितको नतिजाको पासा पल्टाउन गर्नुपर्ने सिर्फ अध्ययनको नाममा अध्ययन मात्र होइन कि आन्दोलनका लागि अध्ययन र अध्ययनका लागि आन्दोलन हो ?

मुन्धुम

किराँत सभ्यता र संस्कृति उद्विकास झल्किने गरी अनि किराँत जीवनको उद्भवकालदेखि प्रकृतिसँग गाँसेको सम्बन्धको अर्थ खुल्ने गरी, जल, जंगल र जमिनको नामाङ्कन गर्छन् किराँतहरू, विशेषतः राई, लिम्बु र सुनुवार जातिहरू। इतिहासको एउटा कालखण्डमा आएपछि यी नामहरू जनजिब्रोबाट तब मेटिन हराउन थाले जब नेपाली भाषाको राष्ट्रियकरण र नेपाली समुदायको संस्कृतीकरण र हिन्दुकरणको राष्ट्रिय अभियान सुरु हुन थाल्यो।

यसरी पुराना नामहरू मेटिनु भनेको स्मृतिबाट विगत हराउँदै जानु हो। विगत मेटिँदै जानु भनेको बाँचेको समयमाथि जताउन सकिने हक र अधिकारको वैधानिकता हराउँदै जानु हो अनि त्यसो हुनु भनेको आउँदो भविष्यको नक्सा बनाउन चाहिने कल्पनाशीलतामा ह्रास आउँदै जानु पनि हो ।

ती मेटिएका नामहरू र सम्झनाबाट बिस्तारै बिलाउँदै गरेको विगतमाथि अर्कै नाम लेखिनु, उच्चारण हुँदै जानु भनेको नयाँ संस्कृतिले वर्तमानमा जरो गाड्दै जानु हो । नयाँ भविष्यको निर्माण प्रक्रियामाथि शासकीय कब्जा जमाउनु पनि हो।

प्राकृतिक रूपमा यो सबै हुँदो हो त स्वीकार्य हुँदो हो तर जब यो सिलसिला राष्ट्र, सहर, गाउँ, समाज अनि नागरिक पुनर्निर्माण गर्ने औपनिवेशवादी परियोजनाअन्तर्गत पर्छ, तब दुःखको विषय बन्छ।

किनकि तब बाबरी–मस्जिद मेटिन्छ अनि राम मन्दिर बन्छ। मुस्लिमको प्राणको अन्त्य हुन्छ अनि हिन्दुत्वले वकालत गर्ने धर्मको प्राण–प्रतिष्ठा हुन्छ। अनि मेटिन्छ मुककुम्लुङ र भनिन थालिन्छ पाथीभरा अनि हौसिन्छ हिमालको शिरमाथि आफ्नो पैताला गाड्न ‘पाथीभरा केबुलकार’।

मुककुम्लुङ मुककुम्लुङ नै रहँदो हो, पाथीभरा नकहलिँदो हो त आदिवासी लिम्बूहरूको थातथलोको हुर्मत लिने हैसियत कहाँ राख्दो हो केबुलकारको भेषमा असामान्य रूपले लोभी एक सामान्य धनाढ्य। विगत मेटिएर जाँदाको जोखिम यही हो। प्राकइतिहासदेखि कायम जल, जंगल, जमिनमाथिको सार्वभौमिकता जब हराउँछ अनि भविष्य हत्याउन वर्तमानमाथि लुटेराहरूको बिगबिगी बढ्छ।

बलुडाँडा, ताप्लेजुङमा मुककुम्लुङलाई पहरा दिँदै एक ‘नो केबलकार’ आन्दोलनकारी। तस्बिर: सविन निङ्लेखु

मुन्धुमलाई किराँतहरू आफ्नो जीवनदर्शन मान्छन्। भाषाको विकास हुनुअघि, करिब पाँचदेखि सात हजार वर्ष पुरानो सभ्यताको प्राकइतिहासलाई कथा, दन्त्यकथा, किंवदन्ती र मिथकमार्फत आफ्नो सामाजिक–संस्कृति उद्विकासको इतिहास बोकेको श्रुति–स्मृति परम्परामा आधारित दस्तबेज हो मुन्धुम।

पछिल्लो समयमा इतिहासविद् इमानसिंह चेम्जोङ हुँदै साहित्यकार वैरागी काइँलामार्फत लिपिबद्ध हुँदै गएको मुन्धुम अहिले आदिवासी आन्दोलनको जीवन्त धरोहर भएर खडा भएको छ। मानवजातिको कल्याण तबसम्म मात्र सम्भव छ जबसम्म उसले प्रकृतिको माङ्गेना गर्छ अर्थात् प्रकृतिको शिर उभ्याउने काम गर्छ। मुन्धुमले यही भन्छ।

ठुलाठुला ढुंगा, चट्टान, पहाड अनि हिमाललाई किराँतहरू आफ्नो शक्तिको स्रोत ठान्छन् किनकि मुन्धुम भन्छ– हिमालमाथि, पहाडमाथि, चट्टानमाथि बस्ने जीवहरू सुरक्षित हुँदा मात्र हिमालमुनि, पहाडमुनि, चट्टानमुनि बस्ने जीवहरू सुरक्षित हुन्छन्। मानव र प्रकृतिले एकअर्काको गरिमा र मर्यादा राख्ने यसरी हो।

एकअर्काको प्राणको प्रतिष्ठा यसरी मात्र सम्भव छ। जलवायु विज्ञानले अहिले आएर ‘दिगो विकास’मार्फत बोल्ने भाषा र भाष्य यही हो। प्रश्न यहाँ आएर खडा हुन्छः जलवायु विज्ञानलाई जरुरी आधुनिक ज्ञान र आदिवासी आन्दोलनलाई आवश्यक विधि–विधान सबै समेटेर बसेको मुन्धुमलाई, ज्ञानको धरोहर मानिने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानवशास्त्र, इतिहास, पुरातत्त्व, समाजशास्त्र लगायतका सङ्कायहरूले गम्भीरतासाथ ग्रहण गर्न चाहिने आधारको खोजी गर्ने कि नगर्ने ? सर्वोच्च शक्तिले जसलाई ‘ज्ञान’ भन्छ, ‘इतिहास’ भन्छ, त्यसको दायरा फराकिलो गर्न, ज्ञानको राजनीतिमाथि सिर्जनशील हस्तक्षेप गर्ने कि नगर्ने ? कि संस्थागत संरचनाइतर दफनाइएको ज्ञान र अलिखित इतिहासलाई सदैव ‘गैरऐतिहासिक’ र ‘अज्ञान’ करार गर्ने ?  

बुद्ध

अब बुद्धको कुरा। झन्डै दुई वर्षअघिको कुरा हो, म लुम्बिनीको तिलौराकोटमा टहलिँदै थिएँ। मध्यदिउँसो। उराठलाग्दो घाम। तिलौराकोटको दरबार। बालक सिद्धार्थ गौतम बुद्ध हुनुअघि हुर्केबढेको ठाउँ। खेलेको ठाउँ। आफ्नी आमाका पछि पछि दौडिएको ठाउँ। ठुलो दरबारको भग्नावशेष उत्खनन हुँदैछ तिलौराकोटमा। हिँड्दै जाँदा, आफूभन्दा करिब २५० मिटर जति अगाडि यस्तो दृश्य देखेँ, बडो अचम्म लाग्यो।

खेतको बिचमा ठुलो रुख। वरको रुख हुँदो हो कि भन्छु। रुखमुनि एउटा बडेमानको कुर्चीमाथी झन् बडेमानको मान्छे। उनको छालाको रङ सेतो। घाम छेक्न लगाएको ठुलो टोपीसहितको बाँकी पहिरन सिकारीका जस्तो। दाहिने खुट्टामाथि देब्रे खप्टाएर बसेका उनी, आफ्नो जाँघेमाथि डायरी राखेका छन्। घरि दायाँ घरि बायाँ हेर्दै, डायरीउपर कलम चलाउँछन्। दायाँ बायाँ हेर्छ के भन्दै ऊ जता जता आफ्नो टाउको घुमाउँछ, म पनि मेरो मुन्टो त्यतै त्यतै नचाउन थाल्छु।

मजदुरीको किसिमअनुसार कार्यविभाजन गरेर सामूहिक कर्म गर्न माहिर कमिलासरह तीन समूह विभाजित भएका रहेछन् मधेशी मूलका मजदुरी गरी खाने साथीहरू। दायाँपट्टिकाहरू केही खनेजस्तो। खेत खनेजस्तो होइन। बडो जतनसाथ भुइँ कोट्टाइरहेका, उत्खनन गरिरहेका। बीचकाहरू उत्खनित सामग्रीलाई बोरा या डोकोमा बोकेर अर्कोतिर ओसार्दै।

अर्कोतिर रुख छ अनि रुखपछि अर्को एक समूह। ती सामग्रीलाई जालीमा खनाउँदै, छान्दै। मूल्य बोकेका वस्तुहरूबाट मूल्य नबोकेका वस्तुहरू छुट्याउँदैछन् उनीहरू जस्तो लाग्यो मलाई। कोही मजदुरहरू मुस्लिम मूलका, कति तिनै करिब सात गाउँमा रहिबसेको घरपरिवारका हुन् जसले साढे चार दशकअघि आफ्नो शदियौंदेखिको पुख्र्यौली थातथलो छोड्नुपरेको थियो।

लुम्बिनी विकास समितिको ‘मास्टर प्लान’अन्तर्गत मायादेवी मन्दिरवरिपरि पूर्वाधार विकास योजना कार्यान्वयनका लागि बाटो खोल्नुपर्ने भयो। मुआब्जा ग्रहण गरे, गाउँ छाडे, अन्तै नयाँ जीवनीको जुगाड गर्ने सिलसिला फेरि सुरु गरे। कुर्चीमा बसेका मान्छेले यही गतिविधि ‘नोट’ गरेका रहेछन् भन्ने लख काटेँ।

अब अचम्म कहाँ लाग्यो भने मजदुरहरूको कार्यविभाजनको कित्ताकाटमा छालाको रङ पनि छुट्टिएको देख्दा, कुनै औपनिवेशिक समयमा पो एक्कासि पुगिएछ कि जस्तो अनुभूति भयो।

ती विदेशीलाई केही दोष लगाउन खोजिएको भने पटक्कै होइन। उनी वास्तवमा एक विश्व प्रख्यात पुरातत्त्ववेत्ता हुन्– आर्कियोलोजिस्ट। उनले लुम्बिनीमा राम्रो काम गरेका छन् भन्ने सुनिन्छ र उनले लेखेको त्यो ‘नोट’पछि परिष्कृत भएर, सायद ‘पुरातत्त्व’सम्बन्धी एउटा ज्ञानको नयाँ दस्ताबेज भएर निस्किँदो हो। संसारभर फैलिँदो हो।

लेखकको नाम यसै रोशन। झन् प्रचण्ड हुँदो हो। तब एउटा प्रश्न उठाउन जरुरी हुन्छ,  प्रगतिशील भनिने सोचको एउटा खेमाले वकालत गर्छ कि सहरलाई न्यायिक बनाउन, सहरी मजदुरहरूको राज्यले माङ्गेना गर्नुपर्छ। मजदुरको ‘प्राण–प्रतिष्ठा’ गरिदिनुपर्छ, मानमर्यादा राखिदिनुपर्छ।

मजदुरको मर्यादा र प्रतिष्ठा राख्ने कर्ममा सहरी योजना, गरिबी निवारणसँगै नगरपालिकाजस्ता राज्यको नै प्रमुख भूमिका हुँदो हो। चर्को गर्मीमा घामलाई घाम नभनी दिनभरि भुइँ खनेर प्रागैतिहासिक सामग्रीको उत्खनन गर्दै पुरातात्विक अध्ययन, अन्वेषण र अभ्यासको गरिमा मर्न नदिने मजदुरको माङ्गेना भएको छ छैन ? गर्न जरुरी छ छैन ? यी प्रश्नलाई नेपालको सन्दर्भमा ढाल्नुपर्दा त्रिभुवन विश्वविद्यालयको पुरातत्त्व विभागसँगै संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषजस्ता निकायहरू यी विषयमा कत्तिको गम्भीर हुनुपर्ने हो ?  

(गएको साउन १८ गते भएको सुरेश ढकाललिखित पुस्तक ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ को लोकार्पण समारोहमा खै कुन संयोगले म सहजकर्ता बनाइन पुगेँ। त्यही सन्दर्भमा पुस्तक पढ्दै जाँदा यसका विषयवस्तु समसामयिक दक्षिण एसियाली मुद्दाहरूसँग कसरी जोडिएला भन्ने जिज्ञासा ममा जाग्न पुग्यो। यो लेख त्यसैको उपज हो–लेखक )

प्रकाशित: ८ भाद्र २०८१ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App