३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन!

मुक्तक

१) मुक्तक

बिस्तारै आफूतिर तान्छ अनि थाहा पाउँछौ

यो कुलतले कहाँ लैजान्छ अनि थाहा पाउँछौ

आज पो उसलाई खाँदा रमाइलो र मजा हुन्छ

हेरिराख, भोलि उसैले खान्छ अनि थाहा पाउँछौ।

२) मुक्तक

बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन

लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन

जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र!

जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।

३) मुक्तक

पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र!

सुरक्षा दिनेले नै लुटेपछि के अर्थ रह्यो र!

बोल्नका लागि आँ गरेर के मुख खोलेको थिएँ,

विडम्बना, जिब्रो नै थुतेपछि के अर्थ रह्यो र!

४) मुक्तक

बेसुरको गीत गाउनु पर्दैन, यत्तिकै ठिक छ

नक्कली माया लाउनु पर्दैन, यत्तिकै ठिक छ

विपनामा दर्शन यदि मुस्किल हुन्छ भने भैगो

घरिघरि सपनामा आउनु पर्दैन, यत्तिकै ठिक छ।

५) मुक्तक

विदेशी जुठो थुक चाट्छन् अनि देश सिध्याउँछन्  

जनतालाई नराम्ररी ढाँट्छन् अनि देश सिध्याउँछन्

देशको माया हुनुपर्ने नेतालाई हो तर यिनीहरू नै

डलरसँग राष्ट्रियता साट्छन् अनि देश सिध्याउँछन्।

६) मुक्तक

अनर्थ लाइदिन्छन् पढेर कानुनका ठेली, विचार गरौं

मै हुँ भन्नेहरू नै छन् फटाहा र झेली, विचार गरौं

हरे शिव, देश आफैंमा असुरक्षित रहेको यो अवस्थामा

कसरी पो सुरक्षित रहलान् र छोरीचेली, विचार गरौं।

७) मुक्तक

रिन काढेर पढ्नुपर्नेसँग भोको पेट थियो

थियो त खालि रित्तो झोला र थोत्रो तुम्लेट थियो

निःशुल्क छात्रवृत्ति उसले होइन अर्कैले पायो

जसको गलामा सिक्री र हातमा हेल्मेट थियो।

८) मुक्तक

प्रतिगमनका विरुद्ध जाग्नुस्, जाग्न पाइन्छ

सडकबाट अधिकार माग्नुस्, माग्न पाइन्छ

जति बोल्ने हो हामी नै बोलिरहकै छौं त!

बरु तपाईंहरू चुप लाग्नुस्, चुप लाग्न पाइन्छ।

९) मुक्तक

न स्वाभिमान छ, न बुद्धि छ, न बलबुता छ

सोझा जनतालाई खालि थाङ्नामा सुता’छ

देश चलाउँछु भनेर के फुइँ लाउँछौ, नेताजी?

तिम्रो देश यता छ, रिमोट कन्ट्रोलचाहिं उता छ।

१०) मुक्तक

दुई सय असी बाहिरिन्छन् एक सय असी भित्रिन्छन्

खै के जातिमा लुकेर सुन पनि केकेमा पसी भित्रिन्छन्

देशमा केही भित्रिएन भन्नुहुन्छ हजुर, देख्नुभएन र!

मान्छे बाहिरिन्छन् अनि सट्टामा बोका र खसी भित्रिन्छन्।

प्रकाशित: २९ श्रावण २०८१ १२:२४ मंगलबार

# Muktak # Poem