१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

विवादमा फेसबुक

यो साता फेसबुक करोडौं प्रयोगकर्ताको व्यक्तिगत सूचना सम्बन्धी विवादमा तानियो। फेसबुकले गत शुक्रबार आफ्नो डाटा विश्लेषण गर्ने फर्म क्याम्ब्रिज एनालाइटिकाले पाँच करोड प्रयोगकर्ताको व्यक्तिगत विवरण उनीहरूको स्वीकृतिबिना संकलन र प्रयोग गरेको स्वीकार ग-यो।

क्याम्ब्रिज एनालाइटिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानसँग नजिक छ। त्यो बेलादेखि फेसबुकले क्याम्ब्रिज एनालाइटिकाको फेसबुकमा भएको पहुँचलाई निलम्बन गरेको थियो।

यही कारण पछिल्लो साता फेसबुकले प्रयोगकर्ता मात्र होइन, लगानीकर्ताको पनि आलोचना सहनुप¥यो। सोमबार फेसबुकको स्टक सात प्रतिशतले घटेकोमा मंगलबार थप साढे दुई प्रतिशतले घट्यो। एक साता मात्र फेसबुकको बजार मूल्यमा आठ प्रतिशतले गिरावट आयो। अमेरिकी र बेलायती वकिलहरूले फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई उनको कम्पनीको नियम र अभ्यास वर्णन गर्न भनेका छन्। 

क्याम्ब्रिज एनालाइटिका के हो ?
क्याम्ब्रिज एनालाइटिका एक राजनीतिक विश्लेषण फर्म हो, जसले यसका ग्राहकलाई चुनाव जित्न सघाउनका लागि मतदाताहरूको मनोवैज्ञानिक प्रोफाइलहरू बनाउने दाबी गर्छ। यो कम्पनीलाई फेसबुकबाट विशुद्ध शैक्षिक प्रयोजनका लागि डाटा संकलन गरेका एक अनुसन्धाताबाट करोडौं अमेरिकीहरूको डाटा किनेको आरोप लागेको छ। फेसबुकले ग्लोबल साइन्स रिसर्च नामको कम्पनी चलाउने युनिभर्सिटी अफ क्याम्ब्रिजका मनोविज्ञानका प्राध्यापक अलेक्जेन्डर कोगनलाई उनको एप डाउनलोड गर्ने प्रयोगकर्ताबाट डाटा लिनका लागि अनुमति दिएको थियो। गार्डियनका अनुसार, कोगनको एपमा जानकारी दिन सहमत भएका फेसबुक प्रयोगकर्ताले उनीहरूको सबै फेसबुक मित्रहरूको डाटा संकलन गर्ने अनुमति पनि दिए। यो नै समस्याको रूपमा देखा प-यो। 

फेसबुकको डाटा विश्लेषण गर्ने फर्म क्याम्ब्रिज एनालाइटिकाले पाँच करोड प्रयोगकर्ताको व्यक्तिगत विवरण उनीहरूको स्वीकृतिबिना संकलन र प्रयोग गर्ने गरेको  । 

कोगनले यो डाटा क्याम्ब्रिज एनालाइटिकालाई बिक्री गरे, जुन फेसबुकसँगको सहमतिको उल्लंघन थियो। र, फेसबुकको नियमविरुद्ध थियो। त्यसपछि फेसबुकले आफ्नो प्लेटफर्मबाट अनुसन्धाताहरूलाई डाटा संकलन गर्न दिने तरिकामा परिवर्तन ल्यायो।

सन् २०१४ मा जागिर छोड्नुअघि क्याम्ब्रिज एनालाइटिकामा काम गरेका र यो जानकारी दिने एक क्रिस्टोफर वालाइले गत सोमबार एनबिसीको टुडे सोमा क्याम्ब्रिज एनालाइटिकाले कम्तीमा पाँच करोड फेसबुक प्रयोगकर्ताको अनुचित डाटा भेटाएको बताएका थिए। 

उनले क्याम्ब्रिज एनालाइटिकाको लक्ष्य भनेको मानिसहरूको निजी विवरणको अल्गोरिदम स्थापना गर्ने भएको बताएका छन्। ‘ती अल्गोरिदमले हामीलाई मानिसहरूको मानसिक अवस्थाबारे थाहा पाउन सहयोग गर्नेछन्। अनि हामीले त्यसको विश्लेषण गरेर हामीले विभिन्न अनलाइनका विभिन्न माध्यम र च्यानल प्रयोग गरेर सूचना दिनेछौं, जसले गर्दा उनीहरूले जताततै सत्य हुन सक्ने वा नहुन सक्ने कुराहरू देख्न सक्नेछन्,’ अल्गोरिदम स्थापनाको प्रयोजन खुलाउँदै वालाईले भने।

यो डाटा फर्मले गत फेब्रअुरीमा भएको एक सुनुवाइका क्रममा बेलायती संसदमा आफूहरूले मानिसहरूको जानकारी उनीहरूको स्वीकृतिबिना संकलन नगरेको बताएको थियो। तर, पछि ‘न्यूयोर्क टाइम्स’मा उनीहरूले डाटा प्राप्त गरेको बताइएको थियो। फेसबुकको गोपनीयता नीतिको उल्लंघन गरेको थाहा पाउनासाथ सूचना सबै मेटाएको पनि कम्पनीको दाबी थियो्।

क्याम्ब्रिज एनालाइटिकाले मिडियामा आएका रिपोर्टहरूपछि पटक–पटक प्रेस विज्ञप्ति निकाल्दै मिडियामा आएका दाबीहरूको कडा रूपमा खण्डन गर्दै आएको छ। 

‘सन् २०१४ मा हामीले फेसबुकको डाटा र अर्को कम्पनी जिएसआरबाट फेसबुक डाटाको थप विश्लेषण प्राप्त गरेका थियौं। हामीले ती डाटालाई अनुसन्धानका लागि वैधानिक रूपमै राम्रो उद्देश्यका लागि प्रयोग गरेका हौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि जिएसआरले क्याम्ब्रिज एनालाइटिकासँगको सम्झौता तोड्यो किनभने जीएसआरले डाटा संरक्षण नियमावलीको पालना गरेको थिएन। फेसबुकसँगको साझेदारीमा क्याम्ब्रिज एनालाइटिकाले सबै फेसबुक डाटा र त्यसको विश्लेषणहरू मेटायो। यो फेसबुक डाटा क्याम्ब्रिज एनालाइटिकाले डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचनको प्रचारका लागि दिएको सेवामा प्रयोग भएको थिएन।’ 

फेसबुकले पनि सोमबार विज्ञप्ति जारी गर्दै डाटा उल्लंघनको दाबी पूरै झुटो भएको बताएको छ। कोगनले डाटा संकलनका लागि प्रयोग गरेका जस्ता एपमा साइन अप गर्दा प्रयोगकर्ताले स्वीकृति दिएको बताएको छ। साथै फेसबुकले आफ्नो कुनै पनि प्रणालीमा अनधिकृत पहुँच नभएको र कुनै पनि पासवर्ड वा संवेदनशील जानकारी नचोरिएको वा ह्याक नभएको स्पष्ट पारेको छ।
 
क्याम्ब्रिज एनालाइटिकाको जानकारी दिने (ह्विस्चलब्लोअर) को हो? 
क्याम्ब्रिज एनालाइटिकाका पूर्वकर्मचारी क्रिस्टोफर वालाइले ‘न्यूयोर्क टाइम्स’मा अन्तर्वार्ता दिएपछि सोमबार बिहान टुडे सोसँग क्याम्ब्रिज एनालाइटिकाबारे कुराकानी गरेका थिए। सन् २०१४ मा कम्पनी छाडेका उनले कुन कम्पनीले आफ्नो व्यक्तिगत जानकारी के गरिरहेको छ भनी थाहा पाउनु अमेरिकीहरूका लागि महत्वपूर्ण भएको बताएका थिए। त्यसबाहेक क्याम्ब्रिज एनालाइटिकाले गर्दा अमेरिकी निर्वाचन र प्रजातान्त्रिक अभ्यासलाई प्रभाव पारेको पनि उनको दाबी थियो। 

‘अल्गोरिदमको सहायताले त्यो कम्पनीले फेक न्यूजलाई अर्को उचाइँमा पु¥यायो,’ उनले अन्तर्वार्तामा भनेका थिए।

वालाइले क्याम्ब्रिज एनालाइटिकाले रसियाली तेल कम्पनीहरूसँग कुराकानी गर्ने गरेको र रसियाले आर्थिक सहायता गरेको परियोजनाहरूमा काम गर्ने मनोवैज्ञानिकलाई रोजगार दिएको पनि दाबी गरे। उनले क्याम्ब्रिज र रसियाबीचको सहकार्यले फेसबुकको विषय थप जटिल पार्न सक्ने पनि बताएका छन्। यसले सन् २०१६ को अमेरिकी चुनावमा मस्कोको भूमिका विवादास्पद भएको आरोपलाई थप बलियो बनाएको छ।

तथापि, क्याम्ब्रिज एनालाइटिकाको विज्ञप्तिमा वालाइले प्रतिस्पर्धी कम्पनी खोल्नका लागि क्याम्ब्रिज छोडेको बताएको छ।

क्याम्ब्रिज एनालाइटिकाको स्टिभ ब्याननसँगको सम्बन्ध
न्यूयोर्क टाइम्सका अनुसार, एक समयमा डोनाल्ड ट्रम्पको चुनावी अभियानका सल्लाहकार र ह्वाइट हाउसको प्रमुख रणनीतिकार रहेका स्टिभ ब्यानन क्याम्ब्रिज एनालाइटिकाका पूर्वउपाध्यक्ष थिए। वालाइले क्याम्ब्रिज एनालाइटिकामा काम गर्दा ब्यानन उनको हाकिम भएको बताएका थिए। गत जनवरीमा पदबाट निस्किनुअघि ब्यानन ब्रेइटबार्ट न्युज नामको डिजिटल प्रकाशनको कार्यकारी अध्यक्ष र सहसंस्थापक थिए, जुन वर्षौंसम्म राइट विंगको राजनीतिक आस्थाको निकटमा थियो।
 
त्यस्तै, रिपब्लिकनका ठूला दाता तथा कुनै समयमा ब्रेइटबार्ट न्युजका प्रमुख कार्यकारी अधिकृत रहेका रोबर्ट मर्सरले १५ मिलियन अमेरिकी डलर क्याम्ब्रिज एनालाइटिकामा लगानी गरेका थिए। उनको छोरी रेबेका मर्सर पनि यो राजनीतिक डाटा फर्मको बोर्ड सदस्य थिइन्। मर्सरहरूले सुरुमा टेड क्रुजको राष्ट्रपतीय अभियानलाई समर्थन गरेका थिए। तर, उनी चुनावी दौडबाट बाहिरिएपछि ट्रम्पको अभियानलाई हेर्दै आएका थिए। 

मार्क जुकरबर्गले के भने ?
फेसबुकका अधिकारीहरूले गत बुधबार सामाजिक सञ्जालमै एक विज्ञप्ति जारी गरेर यो संकटबारे जवाफ दिएका थिए।

फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकले गल्ती गरेको स्वीकार्दै उनको कम्पनीले प्रयोगकर्ताहरूको डाटाहरू जिम्मेवारीपूर्वक संरक्षण गर्न नसकेको बताएका छन्।

उनले कसरी अनुचित ढंगले डाटाको विश्लेषण भयो भनेर समयरेखा दिँदै सन् २०१४ मा कम्पनीले अनुमति नदिने प्रयोगकर्ता र उनीहरूको साथीहरुको डाटा संकलन गर्न सक्ने एपहरूको क्षमतालाई सीमित गर्ने गरी नीति ल्याएको र अभ्यास पनि परिवर्तन गरेको बताएका छन्।

‘सन् २००७ मा हामीले फेसबुकलाई धेरै एपहरू सामाजिक हुनुपर्छ भनेर सार्वजनिक गरेका थियौं। यसका लागि हामीले मानिसहरूलाई एपमा लग इन गर्ने र उनीहरूको साथीहरूमाझ आफ्नोबारे जानकारी दिन सक्ने सुविधा दिएका थियौं। सन् २०१३ मा, एलेक्जेन्डर कोगन भन्ने क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धाताले व्यक्तिगत रूपमा एउटा क्विज एप बनाए। यो एप करिब तीन लाख जनाले इन्स्टल गरेका थिए । र, एपको माध्यमबाट आफ्नो र साथीहरूको डाटा दिएका थिए। त्यो समयमा हाम्रो प्लेटफर्मले दिने सुविधा अनुसार, कोगनले करोडौं मानिसहरूको डाटा पहुँच गर्न सकेका थिए,’ फेसबुकले भनेको छ।

जुकरबर्गले सन् २०१५ को सुरुमा पत्रकारहरूले कोगनले यो डाटा क्याम्ब्रिज एनालाइटिकालाई दिएको जानकारी पाएको पनि स्वीकारेका छन्। त्यो फेसबुकको नीतिको उल्लंघन भएकाले तत्काल फेसबुकले कोगनको एपहरूलाई सामाजिक सञ्जालबाट निषेध गरेको पनि उनले बताएका छन्। साथै, कम्पनीले सन् २०१४ को नीति परिवर्तनअघि धेरै मात्रामा सूचनामा पहुँच भएका सबै एपहरूमाथि अनुसन्धान गर्ने पनि बताएका छन्। 

(टाइम डटकमबाट शिक्षा रिसालले गरेको भावाअनुवाद )

प्रकाशित: १० चैत्र २०७४ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App