१)गजल
हिंड्न नि लामो बाटो कसैको साथ चाहिन्छ,
उठ्नु छ माथि भने कसैको हात चाहिन्छ।
एक हातले ताली बज्छ यो सोच्दै नसोच्नू,
चपाउन पनि दुवैतिरको दाँत चाहिन्छ।
विश्वासै विश्वासमा रम्नेहरूलाई के थाहा,
विश्वासको मूल्य बुझ्न पनि घात चाहिन्छ।
सधैंसधैं उज्यालो कहाँ कसलाई मिल्छ र,
उज्यालो दिन जन्माउन पनि रात चाहिन्छ।
२) गजल
कस्तो हृदयविदारक समय आयो,
साह्रै कटु र विदीर्ण विषय आयो।
कत्रो आशामा विदेश गएको छोरो,
लास बनेर परिवारलाई सौजन्य आयो।
सोचेको थें अझै पनि केही पर पुग्छु,
थाहै नपाई जीवनको गन्तव्य आयो।
पटकपटक जिन्दगीमा पहिरो गइरहेछ,
कसरी भनूँ मलाई मात्र भवितव्य आयो।
३) गजल
मलाई मेरै देशको मेचीकाली हेर्ने मन छ,
भोकमरीले तड्पिरहने कर्णाली हेर्ने मन छ।
निर्दोषलाई जेल हाल्ने दोषीलाई मुक्ति दिने,
नियालेर मेरै देशको प्रणाली हेर्ने मन छ।
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को
राजधानीमा हजुरको हवेली हेर्ने मन छ।
‘मृदुल ’ त सोझो भएर हो कि कामै लागेन,
हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।
४) गजल
थाहा हुन्न कहिले बन्छ लास जिन्दगीको,
पत्तै नपाई उड्दछ यो सास जिन्दगीको।
कसले बुझायो यहाँ कसले बुझाउला,
यी सारा सारा प्यास जिन्दगीको।
तेरोमेरो भनीकन सधैं लुछाचुँडी गर्छौं,
आखिरमा कहाँ होला बास जिन्दगीको।
मगमगाउने रहर कति थियो के गर्नु र,
फुल्नै नपाई झर्दछ पलास जिन्दगीको।
कति जले, खरानी भए, बगे पानीमा,
देख्नै नपाई एकपल्ट मधुमास जिन्दगीको।
५) गजल
नचिनेर देउतालाई ढुङ्गा भनी फाल्छौं हामी,
सभ्यताको नाउँमा आफ्नै संस्कृतिलाई बाल्छौं हामी।
समय यो घर्किरहन्छ हतार छैन कहिल्यै पनि,
अरूहरूले ठेलेपछि बल्ल पाइला चाल्छौं हामी।
नाफाघाटासँग हाम्रो त्यति सरोकार छैन,
कहिल्यै दूध नपियाउने थारा भैंसी पाल्छौं हामी।
सिर्जनाका बीउ फल्ने उर्वर ऋतु गुमाईगुमाई,
कहिल्यै पेट नअघाउने गफको खेती थाल्छौं हामी।
प्रकाशित: २९ चैत्र २०८० १०:४० बिहीबार