४ असार २०८१ मंगलबार
image/svg+xml
कला

पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २८ देखि माघ १ सम्म खुलामञ्च बेनीमा आयोजना गरिने भएको छ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलाका बारेमा बिहीबार बिहान उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने छ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन, खुला सामूहिक नृत्य, एकल महिला नृत्य, कृषि उत्पादन प्रदर्शनीका साथै परम्परागत खानाको परिकार तथा माघेसंक्रान्ति महत्वलाई प्राथमिकता दिइने मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताइन्। ‘उद्यमीका उत्पादनलाई बजारीकरणमा सघाउँछौं, आयातितभन्दा स्थानीय उत्पादनका धेरै स्टल हुन्छन्’, अध्यक्ष श्रेष्ठले भनिन्।

म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा आउनेलाई पर्यटकीय स्थलसम्मको भ्रमणको वातावरणसमेत बनाउने महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन्। मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमितिसमेत गठन भएको छ।

मेलामा बेनीमा जातीय भेषभूषासहित बजार परिक्रममा तथा खेलकुदजन्य गतिविधिअन्तर्गत महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ। बेनीमा तीन वर्षमा एक म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव र दुईपटक महिला उद्यम विकास समितिको आयोजनामा मेला आयोजना हुँदै आएको छ।

महिलाको नेतृत्वमा समेत यसअगाडिका सबै मेला तथा सडक खाना महोत्सव सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। मेला सम्पन्न गर्न १० लाख ८० हजार बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

म्याग्दीका सबै स्थानीय तहको सहआयोजना तथा म्याग्दी उद्योग वाणिज्य संघको संरक्षकत्वमा हुने मेलाका बारेमा आयोजित पत्रकार सम्मेलनको समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता, महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालन सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पुर्वअध्यक्ष कुबिरकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्वितीय उपाध्यक्ष लीलाराम गौतमलगायत महिला उद्यमीको सहभागिता थियो।

प्रकाशित: १९ पुस २०८० ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App