१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बाहुबलीसँग कट्रिना

मुम्बई – केही दक्षिण भारतीय फिल्ममा अभिनय गरेर हिन्दी फिल्ममा देखिएकी अभिनेत्री कट्रिना कैफ पुनः दक्षिण भारतीय फिल्ममा फर्कने भएकी छिन् । कट्रिनाले दक्षिण भारतमा बन्ने ‘साहो’ शीर्षकको फिल्म खेल्न राजी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कट्रिनाले यसका लागि हालैमात्र विश्वमै रेकर्ड कायम गरेको फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’का अभिनेता प्रभाससँग जोडी बाँध्नेछिन् । 

‘बाहुबली २’को सफलतापछि प्रभासको माग फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ । फिल्म ‘बाहुबली ३’ सँगै ‘साहो’को टिजर पनि सार्वजनिक भइसकेको छ ।

फिल्म ‘बाहुबली’का लागि पाँच वर्षको समय दिएका प्रभास यतिबेला अमेरिकामा विदा मनाइरहेका छन् । अमेरिकाबाट फर्केलगत्तै उनी ‘साहो’को सुटिङमा व्यस्त हुनेछन् ।

बलिउडमा आफूलाई प्रमाणित गर्नुअघि कट्रिनाले सन् २००६ मा मलयालम फिल्म ‘बलराम भर्सेज थारादास’मा अभिनय गरेकी थिइन् । यो फिल्ममा ममट्टी नायक थिए । ‘बलराम भर्सेज थारादास’बाहेक क्याट्रिनाले ‘मल्लीस्वरी’ र ‘अल्लारी पिडुगू’ जस्ता फिल्ममा पनि काम गरेकी थिइन्। 

फिल्म ‘साहो’को निर्देशन सुजिथले गर्नेछन् । उनले ‘बाहुबली’को रिलिजभन्दा अगाडि नै प्रभासलाई फिल्मको कथा सुनाएका थिए । ‘बाहुबली’को दुई संस्करणले नै अन्तर्राष्ट्रिय स्तरमा राम्रो कमाइ गरेपछि यो चर्चालाई फाइदा लिनका लागि ‘साहो’लाई पनि तमिल, तेलगू र हिन्दी भाषामा निर्माण गरिनेछ ।
एक्सन फ्लेबरमा बन्ने यो फिल्मको बजेट १ सय ५० करोड छ । प्रभासलाई भिन्न भूमिकामा देखाइने फिल्ममा रोमान्ससँगै थ्रिलर पनि रहनेछ ।

‘यो तीन भाषाको फिल्मका लागि क्याट्रिना सही पात्र हुन् । किनकी दक्षिण भारतमा उनका धेरै फ्यान छन्,’ निर्देशक सुजिथले भनेका छन् । फिल्मको सुटिङ जुलाईमा सुरु हुनेछ ।

कट्रिना अहिले अभिनेता सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा है’को सुटिङ गरिरहेकी छिन् भने उनी चाँडै नै ‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खानसँग देखिँदैछिन्। 

 

प्रकाशित: २ जेष्ठ २०७४ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App