१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

गीत हिट, फिल्म सुपरहिट

काठमाडौं- कुनै समयमा नेपाली फिल्म पोखरा र चोभारका दृश्यबिना अधुरा लाग्थे। पोखरामा गीत र चोभारमा क्लाइमेक्सको दृश्य नभएका फिल्म विरलै देख्न पाइन्थ्यो। तर, फिल्ममा डिजिटल पुस्ताको आगमनसँगै छायांकनको दायरा बिस्तार हुँदै गएको छ। खास गरी गीतका लागि निर्माता निर्देशकले लाखौं रुपैयाँ आँखा चिम्लेर खर्च गर्न थालेका छन्। पछिल्लो समय रिलिज भएका गीत हेर्दा लाग्छ, फेरि एक पटक फिल्मकर्मीले 'गीत हिट त फिल्म सुपरहिट' भन्ने मान्यतालाई आत्मसात गरेका छन्। यसका लागि कोही विदेशका थाइल्यान्ड त कोही स्वदेशकै मनाङ मुस्ताङका भर्जिन लोकेसन क्यामरामा कैद गरेर पस्किरहेका छन्।  

नेपाली फिल्मको छायांकन हुने दायरा फराकिलो हुँदै गएको छ। केही वर्षअघिसम्म पोखरा र चोभारमा समेटिएको सुटिङ लोकेसन छिमेकी भारतको बाटोबाट पसारिँदै बर्मा र थाइल्यान्डसम्म पुगेको छ। अझ  स्वदेशकै माथ्लो भेग मनाङ र मुस्ताङका चित्ताकर्षक दृश्य कैद गर्न फिल्म युनिट झुम्मिएका छन्। 

२०७२ मा रुचाइएको फिल्म 'प्रेमगीत'को शृंखला 'प्रेमगीत २'को केही दिन पहिले सार्वजनिक गीतले धेरैको आँखा तान्यो। पहिलो शृंखलामा मुस्ताङलाई खिचेर दर्शक लोभ्याएको फिल्मले दोस्रो भागमा थाइल्यान्डका रमणीय दृश्यलाई कैद गरेको छ। 'कहानी यो प्रेमगीत' बोलको गीत हेर्ने धेरैले फिल्म भिडियो उच्चकोटि रहेको प्रतिक्रिया दिएका छन्। फिल्मका निर्माता सन्तोष सेन दर्शकलाई नयाँ स्वाद दिनकै लागि गीतको छायांकनमा लाखौं खर्च गरिएको बताउँछन्। 'फिल्मको कथाले पनि बर्मा र थाइल्याण्डको लोकेसन मागेको छ। नयाँ ठाउँलाई फिल्मको पर्दामा देखाउँदा दर्शकले पनि स्वाद मान्छन्,' निर्माता सेनले भने, 'त्यस कारण पनि हामीले यसपटक फिल्मको केही भाग विदेशमा छायांकन गर्‍यौं। गीत युट्युबमा आएपछि थाइल्यान्डको लोकेसन दर्शकले रुचाउनुभएको छ।' रामशरण पाठक निर्देशित फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरी प्रमुख भूमिकामा छन्। फिल्म साउन १३ गते रिलिज हुँदैछ।

विदेशका सुन्दर लोकेसनमा फिल्मको छायांकन गर्ने निर्माता सन्तोष मात्र एक्ला निर्माता होइनन्। आगामी जेठ १९ गते रिलिज हुने फिल्म 'जोनी जेन्टल'ले पनि आफ्नो गीतमा भारतका सुन्दर दृश्यलाई कैद गरेको छ। फिल्मका कार्यकारी निर्माता अजय मल्ल ठकुरीका अनुसार दुई साताअघि सार्वजनिक भएको 'तिमी बिना मान्दैन'बोलको गीतको दृश्य भारतको गुवाहाटी, गोवा र नयाँदिल्लीमा खिचिएको हो। 'गीतको निर्माण फरक फ्लेबरमा गरौं भन्ने सोचले भारतमा गीत खिचेका हौं। निर्देशकको म्युजिक भिडियो निर्माणको शैली र गीतको प्रस्तुतिकरणसँगै कोरियोग्राफीले पनि नयाँ लोकेशन मागेकाले हामी भारत गएका हौं,' निर्माता ठकुरीले भने। फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन्। उनले बलिउडमा मात्र देखिने दृश्यलाई नेपाली दर्शकले स्वदेशी फिल्ममै हेर्न पाउने भएकाले दर्शकका लागि नयाँ स्वाद हुने दाबी गरे। फिल्ममा पल शाह र आँचल शर्मा प्रमुख भूमिकामा छन्।

दुःख पनि उस्तै

निर्माता सेन र कार्यकारी निर्माता ठकुरीका अनुसार विदेशी भूमिमा फिल्म छायांकन गर्दा दुःख पनि उत्तिकै भएको छ। थाइल्यान्डमा फिल्म सुटिङ गर्दा सरकारले दिएको सहुलियतले पनि फिल्म खिच्न कम समस्या झेल्नु परे पनि फिल्मका उपकरण सार्दा दुःख पाएको बताए। 'फिल्म सुटिङ हुने स्थानमा सर्वसाधारणलाई रोक लगाई सुरक्षा परिचालन गर्ने चलनले पनि सुटिङमा खासै अवरोध भएन,' फिल्मको छायांकन सक्दा झण्डै दुई करोड खर्च भएको जनाउँदै सेनले भने,' तर गह्रुँगा सामानलाई यताबाट उता सार्दा चाहिँ केही दुःख भयो। '

निर्माता ठकुरीले भारतमा हजार र पाँच सयका नोट प्रतिबन्धको समयमा सुटिङ भएकाले समस्या भोग्नुपरेको खुलाए। 'नेपालमा जस्तो जता पनि क्यामरा घुमाउन नपाइने भएकाले छायांकन पनि संयमित भएर गर्‍यांै,' भारतमा झण्डै ११ लाख रुपैंयाँ खर्च भएको सम्झँदै उनले भने, 'विदेशी भूमिमा सुटिङ गर्दा दुःख त पाइन्छ नै, तर पैसा प्रतिबन्धको बेला परेकाले अलिक बढी नै समस्या भयो।’

रोजाइमा नेपाल नै

राम्रो लोकेसनका लागि 'प्रेमगीत २' र 'जोनी जेन्टलमेन'ले ले विदेशी भूमि रोजिरहँदा 'ए मेरो हजुर २', 'हिटलर', 'म यस्तो गीत गाउँछु' जस्ता फिल्मले चाहिँ नेपालको हिमाली भेगलाई नै गन्तव्य रोजे। दर्जनौं फिल्ममा अभिनय कुशलता देखाइसकेकी  अभिनेत्री झरना थापा आफूले डेब्यु निर्देशन गरेको फिल्मको शीर्ष गीत खिच्नकै लागि २५ जनाको टोली लिएर मनाङको तिलिचो तालसम्म पुगिन्। ' मैले भारत र सिंगापुरलगायतका स्थानमा गएर नेपाली फिल्ममा काम गरें। तर ती स्थानमा भन्दा आफ्नै देशको सुन्दर ठाउँमा गएर फिल्म खिच्दा साँच्चै नै गर्व महसुस भयो। खर्च जति लागे पनि राम्रो दृश्यलाई क्यामरामा कैद गर्दा खर्चको पीडा पनि भुलिने रहेछ ' उनले भनिन्। १७ दिनसम्म तिलिचो परिसरमा बसेर काम गर्दा केही समस्या भए पनि मनाङसँगै देशका सुन्दर स्थानको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताइन्। भदौ ८ मा रिलिज हुने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको अभिनय छ।

निर्देशक सुदर्शन थापा नयाँ फिल्म 'म यस्तो गीत गाउँछु'को गीत 'भन्छु आज' खिच्नकै लागि माथिल्लो मुस्ताङको लोमाङथाङमा पुगेर काठमाडौं फर्किइसकेका छन्। 'खासमा हामीले गीतलाई खप्तडमा खिच्ने योजना बनाएका थियौं, तर मौसम प्रतिकूल भएकाले माथिल्लो मुस्ताङको लोमाङथाङ  रोज्यौं,' फिल्मका निर्मातासमेत रहेका सुदर्शनले भने, 'हाम्रो प्राथमिकता नेपालमा भएका सुन्दर स्थानलाई क्यामरामा कैद गर्नु थियो। जुन काममा हामीले सफलता पाइसकेका छौं। विदेशमा जाँदा बढी खर्च लाग्ने भएकाले नै खर्च जोगाउन मुस्ताङलाई रोजेका हौं।' फिल्म युनिटले यो गीतलाई नायिका पुजा शर्माको जन्मदिनको मौका पार्दै आइतबार सार्वजनिक गरेको छ। रिलिज भएको एकै दिनमा ३ लाख हाराहारी दर्शक पाएको गीतको लोकेसनले दर्शकबाट राम्रो प्रशंसा पाइरहेको छ। फिल्ममा काठमाडौं मात्र देखाइरहँदा दर्शकमा आलस्य बढेकाले उनीहरूलाई उत्साहित पार्न मुस्ताङ पुगेको थापाले दाबी गरे। फिल्ममा नायिका पुजासँग नायक पल शाहले रोमान्स गरेका छन्।

आगामी जेठ १२ गते रिलिज हुने फिल्म 'हिटलर'को एउटा गीत र केही दृश्य मुगुको रारा ताल वरपर खिचिएको छ। फिल्मका निर्देशक सौरभ ढकालले २३ जनाको फिल्म युनिटलाई काठमाडौं गाडीमा लिएर जाँदा त्यहाँ पुग्न झण्डै चार दिन लागेको बताए।

'फिल्ममा गीतसँगै रोमान्टिक दृश्यहरु पनि रहेकाले हाम्रो रोजाईमा रारा नै पर्‍यो,' उनले भने। रारामा छायांकन गर्दा कमै मात्र दुःख पाइएको स्मरण गर्दै निर्देशक ढकालले स्थानीयबाट राम्रो सहयोग पाएको बताए। फिल्ममा सोहित मानन्धर र सामिया बर्तौलाले मुख्य भूमिकामा अभिनय गरेका छन्।

प्रकाशित: १९ वैशाख २०७४ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App