२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बुह्रानमा भरेको उडान

पुस्तक

नेपाली साहित्यमा आख्यानले सर्वोत्कृष्ट रूपमा बजार कब्जा गरेको देखिन्छ पछिल्लो समयमा। जीवनका रङहरू भर्दै, सुखान्त र दुखान्तका अविस्मरणीय पलहरू सँगाल्दै, शाश्वत् मानवीय मर्मलाई हृदयङ्गम गर्दै जीवनको पूर्ण पाठलाई समावेश गराउन सकिने विधा आख्यान हो। जीवनका सर्वपक्षीय, सर्वगाम्य विषय उत्खनन् गराउन सकिने भएको कारण उपन्यास आख्यानको बृहत रूप हो भन्न सकिन्छ।

आख्यानका माध्यमबाट स्रष्टाले जीवनका सर्वांगीण पक्षलाई विम्वात्मक, कलात्मक रूपमा पाठकसमक्ष प्रस्तुत गर्दछ। यसरी पाठक, श्रोताको मन पगाल्न सक्नु नै सफल लेखकीय गुण सावित भएको मान्न सकिन्छ।

नेपाली साहित्य उद्यानमा निकै सुगन्धित वासना छर्किदै बुह्रान उपन्यासले जन्म लिएको छ। उपन्यासकार महानन्द ढकालको बुह्रानले पछिल्लो समय नेपाली साहित्य बजारलाई निकै तताइरहेको छ। धेरै पाठक र समीक्षकलाई हुटहुटी पैदा गराइदिएको छ। एउटा गैर थारु समुदायको लेखक, स्रष्टाले थारु समुदायको सामाजिक, सांस्कृतिक,चालचलन, रहनसहन आदिको गहन शल्यक्रिया गर्नु चानचुने विषय होइन। यो अदम्य साहस गर्न सक्नु स्रष्टाको ऐतिहासिक कार्य मान्न सकिन्छ।

नेपाली साहित्य उद्यानमा निकै सुगन्धित वासना छर्किदै बुह्रान उपन्यासले जन्म लिएको छ। उपन्यासकार महानन्द ढकालको बुह्रानले पछिल्लो समय नेपाली साहित्य बजारलाई निकै तताइरहेको छ।

कृषि कर्मको लागि उर्वरशील भूमि हो बुह्रान। कर्णाली र बबईको सिञ्चित भूमि हो। जहाँ सुनजस्तै पहेंलिएर जमिन छुन लागेका धानका बालाले कर्मशील कृषकहरूलाई आकर्षणको केन्द्र बनायो। कैयौंका लावालस्करपूर्ण सपनाहरू पूरा गरिदिन बुह्रानले पनि काँध थापिदियो। आफ्ना सपना सजाउँदै बुह्रान झर्नेहरूको ताँती लागेको विम्व उपन्यासमा देखिन्छ। कैयौंले मस्त निन्द्रामा सपना देखे, कैयौंले दिवास्वप्न देखे। आखिर सपना त देखे सबैले। देखेका सपना पूरा हुन र पूरा गर्न जीवन संघर्षको गोरेटो क्षितिजपारि अनन्तमय हुँदै गएको मार्मिक प्रस्तुति उपन्यासमा उतारिएको छ।

उपन्यासमा कथा, उपकथा संकलनको मुख्य जिम्मेवारी सुदूर पूर्वकी निङ्मालाई दिइएको छ। सानैदेखि बहु प्रतिभा सम्पन्न निङ्मा जागिरको सिलसिलामा बर्दिया पुगेकी छन्। आफ्ना कार्यालयका कर्मचारीहरूमा सहृदयी भाव जागृत बनाउन सक्नु, आपसी सद्भाव कायम बनाउनु, कर्मचारीमा अभिभावकीय नेतृत्व ग्रहण गर्न सक्नु निङ्माको बौद्धिकता अब्बल मान्न सकिन्छ।

कृषि कर्मको लागि उर्वरशील भूमि हो बुह्रान। कर्णाली र बबईको सिञ्चित भूमि हो। जहाँ सुनजस्तै पहेंलिएर जमिन छुन लागेका धानका बालाले कर्मशील कृषकहरूलाई आकर्षणको केन्द्र बनायो।

कार्यालय सहयोगी पहाडी थारुको सहयोगमा उपन्यासका नायक माइला थारु र उपन्यासलाई ओजपूर्ण रूपले पूर्णता दिएकी बौद्धिक पात्र पार्वतीसम्म भेटघाटको वातावरण सिर्जना गराएर निङ्मालाई उद्देश्य केन्द्रित बनाउन सहयोग गर्ने पहाडी थारुको भूमिका पनि महत्वपूर्ण छ। निङ्माजस्तो कर्तव्यपरायण, कर्मशील, सहनशील, प्रयत्नशील, अध्ययनशील, लगनशील पात्रलाई मुख पात्र बनाई कथानकलाई गतिशीलता प्रदान गर्नमा उपन्यासकार सफल देखिन्छन्।

उपन्यासलाई पूर्णता दिन थुप्रै पात्र, पर्यावरण, दृष्टिविन्दु, भाषाशैली, बिम्ब र प्रतीक, गति,लय, कथानक आदि तत्त्वगत समिश्रण उपयुक्त रूपमा समावेश गरिएको छ। मुख्यतया पार्वती, माइला थारु र सोमलालको भूमिकालाई मात्र हेर्ने हो भने पनि पाठक वर्गमा भावविह्वलताको माहोल सिर्जना भइदिन्छ। यी पात्रहरूले जीवनका हरेक मोडमा कठिन परिस्थितिसँग सामना गर्नुपरेको छ। समस्यै समस्यासँग पौंठेजोरी खेल्नुपरेको छ। जीवनका हर समस्यासँग मुकाबिला गर्न सिंगो पहाडले थिचेझैं पीडाबोध भएको छ।

उपन्यासलाई पूर्णता दिन थुप्रै पात्र, पर्यावरण, दृष्टिविन्दु, भाषाशैली, बिम्ब र प्रतीक, गति,लय, कथानक आदि तत्त्वगत समिश्रण उपयुक्त रूपमा समावेश गरिएको छ।

उपन्यासमा पार्वतीको कथा निकै हृदयस्पर्शी रूपमा समावेश गरिएको छ। उनी उमेरले बालापन, व्यावहारले प्रौढ बन्नुपरेको छ। बाल्यावस्थामै तिलकरामसँग वैवाहिक बन्धनमा बाँधिएर जिन्दगीका पानाहरू पल्टाउँदै गरेकी पार्वती एक महान् नारी हुन्। उनलाई तत्कालीन समयमा गरिने बालविवाह, अनमेल विवाह, स्वीकृतिबिना गरिने निर्णय आदिको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ। पार्वती, तिलकराम, उनको परिवार, छिमेकी अनि स्याङ्जाली परिवेशको रीतिरिवाज, चालचलन, भाषाशैली, धर्म, संस्कृति आदिको समिश्रणले उपन्यास थप जिवन्तताको कसीमा पुगेको छ। त्यो अबोध उमेरमै पार्वतीले सौता व्यहोर्नुपरेको, सौतेनी दिदीको मृत्युदेखि जवान छोराछोरी र श्रीमानको अप्रिय मृत्युवरणसम्मको घटनाक्रम केलाउँदा जस्तोसुकै कठोर मानवीय मनहरू निमेकमै पग्लिन्छन्। स्याङ्जादेखि बुह्रान अनि नेपालगन्जसम्मको परिवेशमा पार्वतीलाई देख्न सकिन्छ। उनका सत्कर्म अनि कौशलपूर्ण व्यवहारले उपन्यासले पूर्णता पाएको महसुस हुन्छ। उनको कथाले पाठक र श्रोतालाई भावविह्वल बनाइदिएको छ। उपन्यासकारको शिल्प यहाँनिर निकै बलवान् देख्न सकिन्छ।

उपन्यासमा पार्वतीको कथा निकै हृदयस्पर्शी रूपमा समावेश गरिएको छ। उनी उमेरले बालापन, व्यावहारले प्रौढ बन्नुपरेको छ। बाल्यावस्थामै तिलकरामसँग वैवाहिक बन्धनमा बाँधिएर जिन्दगीका पानाहरू पल्टाउँदै गरेकी पार्वती एक महान् नारी हुन्।

नेपाल धन, दौलतले सम्पन्न हुन नसके पनि धार्मिक, सांस्कृतिक रूपले कुबेर राष्ट्र हो। यस पवित्र माटोमा बसोबास गर्ने सबै समुदायमा आआफ्नै प्रकृतिका धर्मकर्म, रीतिरिवाज, चालचलन, वेशभूषाले सुसज्जित छन्। थारु नेपालको आदिवासी समुदाय हो। उनीहरूको संस्कार र संस्कृति आफ्नै प्रकृतिको छ। जल, जमिन र जंगलको मालिक सम्झिने थारु समुदायका गरिब, विपन्न, कमैया वर्गको सबै शून्य हुँदा उनीहरूमा मनभरि बेचैनीको जीवित चित्र उपन्यासमा स्पष्ट रूपमा खिचिएको छ।  

जमिनदारी प्रथाले नगाँजेको सायद कहाँ नै बाँकी होला र? जमिनदार सधैं शोषक हुँदै जाने र नोकर सधैं शोषित हुँदै जानु त यो जमिनदारी प्रथाको विशेषता नै हो। सुन्दर सपनाहरूको कुम्लो बोक्दै बुह्रान झरिसकेपछि पनि माइला र उनको परिवारले भोगेका पीडाले मनभित्रको भक्कानु रोक्न सकिंदैन।

स्याङ्जाको अर्जुन चौपारीबाट पार्वतीको परिवार र दाङ चित्रकुटीबाट माइला थारुको परिवार भविष्यका सुन्दर सपनाहरू सजाउने आशामा बुह्रान झरेका हुन्। बुह्रान झर्नु उनीहरूको रहर नभई बाध्यता थियो। आआफ्नो थातथलोको समाज, अर्मपर्म, सुगन्धमय परिवेशको मायालाई मनभरि सजाउँदै बुह्रानको माटोसँग बडो संघर्षका साथ रमाउने चेष्टा गर्दै थिए। अर्जुन चौपारीबाट बुह्रान झर्दा र बुह्रान झरिसकेपछि पार्वतीका एकपछि अर्को घटनाको शृङखलाबद्ध कथामा घोतल्किने हो भने अश्रुधारा नदीमा परिणत हुँदै पाठकीय हृदय छियाछिया बनाउँछ। पाठक हृदय यसरी पगाल्न सक्नु नै उपन्यासकारलाई सफलताको कसीमा उभ्याउन सकिन्छ।

पृथक् भूगोल, परिवेश, धर्मकर्म, संस्कार, संस्कृति, वेशभूषा, पहिचान आदि सबै पृथक छन्  पार्वती र माइलाको परिवारबिच तर उनीहरू बिचको समधुर आत्मीय निकै गहिरो छ। मानौं, उनीहरू एउटै परिवारका सदस्य हुन्। माइलाको परिवारलाई पार्वतीले अभिभावकीय भूमिका निर्वाह गरेकी छन् भने माइलाको परिवारले सुरक्षा कवज अनि भरोसापूर्ण काम। माइला थारुकै सत्कर्मका कारण पार्वतीले आफ्ना छोराहरूको शिक्षादीक्षा अनि अब्बल नागरिक बनाउन सक्षम भएकी हुन्।

माइलाको जीवनमा सुखले कहिल्यै बास गरेन। उनको परिवारले संघर्षै संघर्षको जीवन व्यथित गरे तर बदलामा पाए नैराश्य मात्रै। न त उनले छोराछोरीलाई पढाइ, लेखाइ बनाउन सके न त कुनै शिल्पीकार नै। बनाए त आफू र आफ्ना पूर्खाजस्तै कमैया र कम्लरी मात्रै। बरघर जमिनदार रुद्रलालको घरमा कमैया बस्यो जेठो छोरो सोमलाल। भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी उसकी दुलहीलाई पनि बुक्रही बसालेर जमिनदारले श्रमशोषण गरेको यथार्थता उपन्यासमा देख्न सकिन्छ। दिनभर कामले लखरतान भएकी सोमलालकी श्रीमतीलाई सर्पले डस्दा पनि अस्पताल उपचारको सट्टा गुरुबाद्धारा झारफुक गराउनु, अकालमा ज्यान गुमाउनु जस्ता दर्दनाक घटनाले नेपाल अझै पनि अन्धविश्वासको परिधिभित्र गुम्सिएको छ भन्ने प्रतिनिधिमूलक छनक दिन्छ। भर्खरै श्रीमती गुमाएको सोमलाल शोकमा डुबिरहँदा कमैया बस्न जान नमान्नु, छोराको सट्टा आफैं कमैया बस्न जानु माइलालाई परिपक्व वचन, इमानदारी पुजारीको रूपमा हेर्न सकिन्छ।

पृथक् भूगोल, परिवेश, धर्मकर्म, संस्कार, संस्कृति, वेशभूषा, पहिचान आदि सबै पृथक छन्  पार्वती र माइलाको परिवारबिच तर उनीहरू बिचको समधुर आत्मीय निकै गहिरो छ।

पार्वतीको सिफारिसमा सर्वराज जस्ता जमिनदारको घरमा सोमलाल कमैया भए पनि पारिवारिक माया,ममता, स्नेह पाउनु सौभाग्यको कुरा थियो। सबै जमिनदार एकै हुँदैनन्। जमिनदारको पनि कोमल मन, हृदय हुन्छ भन्ने प्रमाण सर्वराजबाट प्राप्त गर्न सकिन्थ्यो तर सर्वराजकी छोरी ममताले सोमलाललाई एकोहोरो पे्रमालापका कारण वैवाहिक बन्धनमा बाँधिई तब सर्वराजको जमिनदारीपन देखिएकाले उनीप्रति पनि खल चरित्र प्रदर्शन भएको देख्न सकिन्छ। सच्चा माया, प्रेमका अगाडि कुनै धनदौलत, मान, प्रतिष्ठाले पौंठेजोरी खेल्न नसक्ने रमिताको कार्यव्यापारबाट बोध गर्न सकिन्छ।

समय सधैं एकैनास रहन सक्दैन। नेपालमा धेरै आन्दोलन सक्रिय भएका छन्। नेपाली जनतामा परिवर्तनका लागि पटकपटक विभिन्न आन्दोलन विजारोपण भएका थिए। जसमध्ये सुकुम्बासीको लागि एउटा महत्वपूर्ण र निर्णायक कन्द्रा आन्दोलन हो। यस आन्दोलनले माइला थारु, सोमलाल लगायतका सोझा, इमानदार थारुहरूले आफ्नो हकहित र पहिचानका लागि आवाज बुलन्द गर्न सक्ने भए। रेशम चौधरी, जगप्रसाद जस्ता थारु नेतृत्वबाट प्रभावित भएका छन् उनीहरू। यस आन्दोलनले मुख्यतया गरिब, विपन्न, सोझा थारु समुदायलाई आफ्नो अधिकार, पहिचानको मुद्दा लड्न सिकायो। सोझा , सिधा जनतालाई जुनसुकै पार्टीले पनि आफ्नो भोट केन्द्र मात्रै बनाएको यथार्थतालाई उपन्यासमा विम्वात्मक प्रस्तुति दिइएको छ।

समय सधैं एकैनास रहन सक्दैन। नेपालमा धेरै आन्दोलन सक्रिय भएका छन्। नेपाली जनतामा परिवर्तनका लागि पटकपटक विभिन्न आन्दोलन विजारोपण भएका थिए।

कन्द्रा आन्दोलन, थरुहट आन्दोलनले तमाम थारु समुदायका हक,अधिकार, पहिचान स्थापित गराउने नेतृत्व पंक्तिको आश्वासनमा थिए सोझा, इमानदार थारुहरू। पुर्खौदेखि मालिकको दासी भएर जीवन जिउनुपरेको पीडालाई सम्झिदै पछिल्लो पुस्ताका लागि भए पनि आफूलाई तिलाञ्जली दिने साहस बटुलेका थिए ती अबोध, इमानदार जनताले। आफ्नो जिउज्यान गोला, बारुदको धुँवामा उडाउन अघि बढे सोमलाल जस्ता साहसिक युवाहरू। कतिले ज्यान गुमाए। कतिले शरीरमा फलामे छर्रा, गोलीहरू बोक्दै अपाङ्ग शरीरमा तड्पिरहनु परेको छ। टाठाबाठाहरू र नेताहरूले मात्रै उच्च लाभ लिएको तर सर्वसाधारणको जीवनस्तर जिउँका तिउँ रहने अनि सर्वहारा वर्गले उत्थान पाउन नसकेको यथार्थतालाई उपन्यासमा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

कन्द्रा आन्दोलन, थरुहट आन्दोलनले तमाम थारु समुदायका हक,अधिकार, पहिचान स्थापित गराउने नेतृत्व पंक्तिको आश्वासनमा थिए सोझा, इमानदार थारुहरू।

पार्वतीले जीवनमा धेरै दुखकष्ट भोगिन्। उनी उत्तराद्र्घ चरणमा निकै खुसी अनि हर्षोल्लासमय वातावरणमा छिन्। कारण, सन्ततिको खुसी। पार्वतीका छोराहरू सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष एवं राजनीतिज्ञ, पत्रकार, शिक्षक, प्रहरी अधिकृत, प्रतिष्ठित व्यापारी आदि। सबैले देशको शीर उँचो बनाइदिएका छन्। योभन्दा ठूलो खुसी अभिभावकका लागि अरू के नै हुन सक्छ र? फरक यही भयो, एउटै परिवारसरह भएर पनि पार्वतीको परिवार देशका सक्षम,अब्बल नागरिकका रूपमा उदाए तर माइलाको परिवार उही पुरानै दुःख, कष्टपूर्ण जीवन निर्वाह गर्न व्यथित भयो।

समग्रमा अस्तित्वको खोजी गर्दै बुह्रानमा उडान भरेका छन् उपन्यसकारले। गरिब, निमुखाहरूको जीवनसँग खेलवाड गर्दै आफ्नो राजनीतिक रजाइँ गर्ने, सोझा,इमानदार जनमानसलाई राजनीतिको भर्‍याङ बनाउने, सत्ता पक्षर विद्रोही पक्षको कारण सर्वसाधारण नागरिकमा सास्ती, हैरानी एवं मारमा पार्ने, बलियाले निर्धालाई सधैं हेपिरहने जस्ता यथार्थपरक विषयवस्तुहरू बुह्रानभित्र विम्वात्मक रूपमा झल्काइएको छ।

उपन्यासमा सुदूर पूर्वकी निङ्मा, पहाडकी पार्वती र तराईका माइला थारुलाई अन्तर्घुलित गराइएको छ। ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने सदभाव एवं पारिवारिक नारा सिद्ध भएको छ। ससाना विषयवस्तुलाई टपक्क टिपेर पात्रानुकूल संवादात्मक शैलीमा विम्व, प्रतीकको प्रचुर प्रयोग गर्दै उपन्यासलाई उत्कृष्ट रसपान गराइएको छ। उपन्यास सुरुदेखि अन्त्यसम्म सललल बगेको छ। धेरै ठाउँमा यसले पाठकीय मनलाई घाइते बनाउँछ, रुवाउँछ अनि मनभित्र छटपटी, हुटहुटी, उकुसमुकुस र ज्वारभाटा निकाल्दछ। बुह्रान उपन्यासभित्र उडान गर्दा लाग्छ, काल्पनिकता, सैद्धान्तिकभन्दा यथार्थपरक, वास्तविक धरातलमा उभिएर उपन्यासकारले विषयवस्तु पस्किरहेका छन्।

बुह्रानलाई स्रष्टाले सपना, संघर्ष र स्वाभिमान गरी तीन भागमा विभाजन गरेका छन्। बुह्रानका सबै पात्र/चरित्रका थुप्रै सपना छन्। जीवनका ती सपनाहरू साकार पार्न कठोर संघर्ष गरेका छन् तर सबै पात्रले आफ्नो स्वाभिमान प्राप्त गर्न सकिरहेका छैनन्। बुह्रानको मुख्य नायक माइला र उनका परिवार लगायत अन्य गरिब, निमुखा वर्गले सपना पूरा गर्न जतिसुकै संघर्ष गरे पनि स्वाभिमानको महसुस गर्न सकेनन्। स्वाभिमानको युद्ध गर्दा गर्दै गलिसकेका छन् उनीहरू।

बुह्रानलाई स्रष्टाले सपना, संघर्ष र स्वाभिमान गरी तीन भागमा विभाजन गरेका छन्। बुह्रानका सबै पात्र/चरित्रका थुप्रै सपना छन्। जीवनका ती सपनाहरू साकार पार्न कठोर संघर्ष गरेका छन् तर सबै पात्रले आफ्नो स्वाभिमान प्राप्त गर्न सकिरहेका छैनन्।

भाषिक रूपमा अर्थतात्विक विचलन नआए तापनि कहीं कतै वर्णविन्यासगत त्रुटिहरू देखिन्छन्। यसलाई सामान्य रूपमा लिन सकिन्छ। पात्रानुकूल भाषाशैलीको प्रयोग भएको छ। जमिनदारको ज्यातदी सहन नसक्दा रिस प्रकट गर्ने क्रममा माइला थारुद्धारा थारु भाषाको एकाध ठाउँमा मनगढन्ते रूपमा गालीजन्य अश्लील शब्दको प्रयोग भएको छ। यसले कहीं न कहीं सामूहिक अध्ययन गर्दा लज्जाबोध गराउन सक्छ।

नेपाली साहित्य उद्यानका एक परिपक्व साहित्य सर्जक महानन्द ढकालद्धारा लेखिएको उपन्यास बुह्रानलाई आयुष्मा ढकालको रेखाचित्र र देवेन्द्र थुम्केलीको आवरण कलाले सुसज्जित छ। साङ्ग्रिला पुस्तक प्रालि काठमाडौंले २०७९ असारमा प्रकाशन गरी बजारमा ल्याएको छ। ३२४ पृष्ठको उपन्यास बुह्रान थारु समुदायको एक अब्बल ऐतिहासिक अस्त्र बन्न सक्छ। औपन्यासिक उडानको यात्रामा सहज रूपमा अवतरण गरेका छन् उपन्यासकारले। साथै पाठकवर्गलाई पनि सरल, सहज रूपमा बुह्रानको उडानमा सहभागी बनाएका छन्। साहित्यका बहु विधामा कलम चलाउने स्रष्टा महानन्द ढकालको साहित्य यात्रा अझ फराकिलो बन्दै जाओस्। अझै उत्कृष्ट कृतिहरूले जन्म लिंदै जाऊन् लाखौं लाख शुभकामना।

प्रकाशित: १६ जेष्ठ २०८० ०७:५४ मंगलबार

अक्षर