१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

व्यवसायिक मोडल खोज्न स्पर्धा

काठमाडौं- नेपाली मोडल सक्रिय भए पनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यावसायिक हुन सकेको छैन। लामो समयदेखि मोडलिङमै करियर बनाएका स्थापित नेपाली मोडल विस्थापित भइरहेका छन् भने नयाँ मोडल पनि सजिलै स्थापित हुने अवस्था छैन। नेपाली मोडलिङ र फेसन जगतमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्ता प्रोत्साहन गर्न 'एन भोग' शीर्षकमा र्‍याम्प सो र मोडलिङ प्रतियोगिता हुने भएको छ। शुक्रबार राजधानीस्थित होटल अन्नपूर्णमा हुने एन भोगमा प्रतिस्पर्धाका विजेता छनोट हुने छन्।

'मोडलिङमा रुचि राख्ने नेपाली युवा पुस्तालाई व्यावसायिक मोडलका रुपमा स्थापित हुन यो प्रतियोगिता आयोजना गरेका हौं। मोडलिङमा नेपाली मोडल सक्रिय छन् तर अझै पनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यावसायिक हुन सकेको छैन। पुराना नेपाली मोडल लगभग विस्थापित भइसकेका छन्,' हाउस अफ फेसनकी कार्यकारी निर्देशक ओसिमा बानुले भनिन्, 'त्यसैले यो प्रतियोगिताले मोडलिङमा करियर बनाउन चाहनेलाई प्ल्याटफर्म दिएर व्यक्तित्व विकासदेखि व्यावसायिक मोडलिङ गर्न प्रोत्साहन गर्नेछ।'

सन् २०१३ मा सुरु भएको एन भोगको यो चौथौ संस्करण हो। प्रतियोगितामा महिला र पुरुष गरी ६४ जना सहभागी भएका छन्। हाउस अफ फेसनले आयोजना गर्ने एन भोगमा सहभागी प्रतियोगिलाई मोडलिङसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिरहेको छ। करिब एक महिनाअघि अडिसनबाट छानिएका मोडलले र्‍याम्प मोडलिङ, क्याटवाक र आत्मविकास लगायत विषयमा प्रशिक्षण दिइएको छ।

'नेपाली र्‍याम्प मोडलिङमा महिला र पुरुष दुवै मोडलको माग बढीरहेको छ। व्यावसायिक मोडलले मोडलिङबाट राम्रो आम्दानी गरिरहेका छन्। त्यसैले हामीले महिला र पुरुष मोडललाई प्रतियोगितामा सहभागी गराएर प्ल्याटफर्म दिएका हौं,' हाउस अफ फेसनकी बानुले भनिन्। र्‍याम्प मोडलिङतर्फ ४३ जना महिला सहभागी छन्।

फर्मल, क्याजुअल र इभनिङ गाउनलगायत विभिन्न सात वटा सिक्वेलमा मोडलले र्‍याम्पमा क्याटवाक प्रस्तुत गर्नेछन्। सुमी गुरुङ, प्रज्ञा चित्रकार, केटिएम सिटी, तिन्जिङ यांकी, सभा नेपाल, दीपेन गुरुङ र सोनिम कलेक्सनले तयार गरेको पहिरनमा मोडलहरू र्‍याम्पमा उत्रनेछन्। प्रतिस्पर्धी मोडललाई कोरियोग्राफर दीपेन गुरुङ र सलोन ताम्राकारले एक महिनायता प्रशिक्षण दिइरहेका छन्।

एन भोगको अघिल्ला संस्करणमा सहभागी सोफिया श्रेष्ठ, कन्चन गौतम, किशोर कायस्थ र अफिसालगायत सो स्टपरका रुपमा र्‍याम्पमा देखिँदैछन्। विगतका विजेता मोडल अर्पणा उपाध्याय र आयुष्मान देशराज श्रेष्ठ सहभागीलाई प्रोत्साहित गर्न र्‍याम्पमा उत्रनेछन्। 'नेपाली मोडलिङ फराकिलो हुँदै गइरहेको छ। इन भोगको यो प्ल्याटफर्मले राम्रा मोडलहरुलाई नेपाली मोडलिङमा प्रवेश गराइरहेको छ,' गत वर्षका विजेता आयुष्मान देशराज श्रेष्ठले भने, 'मोडलिङ र्‍याम्पमा क्याटवाक गर्ने मात्र नभएर करियर बनाउने प्ल्याटफर्म हो। फेरि यसमा विजयी भएपछि मैले तीन वर्षयता गरिरहेको मोडलिङ करियर स्थापित भयो।'

'एन भोग' र्‍याम्प मोडलिङ प्रतियोगिताको अन्तिम रिहर्सल बिहीबार राजधानीको होटल अन्नपूर्णमा निकै पृथक ढंगले सम्पन्न भयो। ओसिमा बानु, दीपेश गुरुङ र सलोन ताम्राकारले पूर्वविजेता र अन्य मोडललाई प्रतियोगिताका सहभागीसँग र्‍याम्पमा एकसाथ रिहर्सल गराए। प्रतियोगिता विजेताले ५० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ७ आश्विन २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App