१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

डा. शेखरकुमार श्रेष्ठको छाताको परिचर्चा

स्रष्टा साँझ अमेरिकाले जुममार्फत डा.शेखरकुमार श्रेष्ठको छाता लघुकथासंग्रहको परिचर्चा गरेको छ। पोखराको विमान दुर्घटनामा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पिदै  कार्यक्रम सुरु गरिएको थियो।

छाता लघुकथासंग्रहको परिचर्चा कार्यक्रममा ममता मृदुलले स्रष्टा श्रेष्ठको परिचय दिंदै कृतिमा माया-प्रेम, सामाजिक, पारिवारिक समस्या प्रस्तुत भएको भन्दै कृति पढ्दा समाजमा प्रवेश गरेको अनुभूति मिल्ने बताएकी थिइन्। अर्का परिचर्चाकार सत्या अधिकारीले कृतिमा मानवीय स्वभाव चित्रण हुनुका साथै प्राकृतिक विम्ब र प्रतीकको प्रयोग गरी मानवीय प्रकृति चित्रण भएको बताएकी थिइन्।  

त्यसैगरी अर्का समीक्षक वन्दना घिमिरेले कृतिमा सत्यलाई माया गर्ने दर्शनको चेत रहेको बताइन्। उनले कृतिका लघुकथामा ‘दिएर आनन्द पाइने भाव’ यत्रतत्र उठाइएको कुरा समेत गरिन्।

त्यस्तै गरी अर्का समीक्षक कुमुद शर्मा प्याकुरेलले ‘नातिनी’ लघुकथा वाचन गर्दै लेखनको सूक्ष्म विश्लेषण गरेका थिए। उनले पारिवारिक तथा सामाजिक विषयमा लघुकथा लेखिएको कुरा गर्दै तत्वगत आधारमा विवेचना गरेका थिए। उनले प्रायः कथा तीन एक: घटना, स्थान र समय परिपालन भएको तर घटना, परिवेश र समयको विस्तार भने लघुकथामा सीमा बनेको कुरा गरेका थिए।

त्यसै गरी अर्का समीक्षक कुसुमाकर शर्माले श्रेष्ठका लघुकथाहरूले सकारात्मक सन्देश, दार्शनिक चिन्तन बोकेको भन्दै भावभन्दा विचार पक्ष सशक्त भएको बताएका थिए। उनले पनि लघुकथामा आकस्मिक सुरुवात सबै लघुकथामा नभएको साथै अन्त्यमा विस्तार बढी भएको कुरा गरेका थिए।

त्यस्तै, परिचर्चामा खेमराज पोखरेलले लघुकथा सरल, यथार्थ,अग्रगमनको खोजमा केन्द्रित हुनुका साथै स्वैरकल्पनाले लघुकथालाई बलियो बनाएका बताएका थिए। उनले लघुकथाहरू सशक्त भए पनि आकस्मिक उठान र उत्कर्षात्मक अन्त्य केही लघुकथामा सीमा बनेको कुरा चर्चामा उठाएका थिए। समष्टिमा अहिले प्रकाशित लघुकथामध्ये कृति राम्रो बनेको पोखरेलले बताएका थिए।

कृति समीक्षाका क्रममा सञ्चालक विश्वराज अधिकारीले आफूले स्रष्टाको एकैसाथ विमोचित बोकाका खुसी र छाता दुवै लघुकथासंग्रह पढेको र तिनमा सन्देश पाइने कुरा राखेका थिए। परिचर्चा कार्यक्रममा डा. युवराज भट्टराईले आफ्ना लघुकथा सुनाएका थिए भने रन्जु खनालले पनि छाताका लघुकथाहरूले मानवीय स्वभाव चित्रण गर्नुका साथै सामाजिक विकृति र विसंगतिप्रति सचेत हुन आग्रह गरेको बताएकी थिइन्।

उक्त कार्यक्रममा लघुकथा पाठशालाकी लता केसी, रामकुमार पण्डित, प्रवीण जोशी, छायादत्त न्यौपाने, रचना शर्मा, रजनी खत्री, कृष्ण बजगाई, प्रनिशा थापा लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो।

स्रष्टा डा. शेखरकुमार श्रेष्ठले आयोजक, समीक्षक, सहभागी दर्शक, मुहारपुस्तिकाका दर्शक लगायत सम्पूर्ण लघुकथाप्रेमीलाई धन्यवाद दिंदै यस किसिमको चर्चा-परिचर्चाले लेखकलाई थप ऊर्जा मिल्ने बताएका थिए। उनले परिचर्चाको क्रममा पाएको सुझाव स्वीकार्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ४ माघ २०७९ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App