१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भारतीय मञ्चमा नेपाली 'मालिनी'

काठमाडौं- भारतको हरियाणा राज्यस्थित जिन्द जिल्लामा आयोजित इन्डो–नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलमा नेपाली नाटक 'मालिनी' मञ्चन भएको छ। फेस्टिभलको उद्घाटन नै यही नाटकको मञ्चनबाट गरिएको हो।

भारतकै नोबेल पुरस्कार विजेता साहित्यकार रवीन्द्रनाथ टैगोरको बहुचर्चित नाटक 'मालिनी'लाई नेपालको थियटर भिलेजले नेपालीमा मञ्चन गरेको हो। फेस्टिभलमा करिब एक हजार दर्शक उपस्थित थिए। नाटक हेेरेपछि हरियाणा पब्लिक सर्भिस कमिसनकी सदस्य वन्दना शर्माले खुलेर तारिफ गरेकी थिइन्।

वन्दनाले भनिन्, 'नेपाल र भारतको सम्बन्ध भौगौलिक सिमानाले मात्र सुमधुर भएको होइन, हामी सामाजिक र साँस्कृतिक रुपमा पनि निकै नजिक छौं। यस्ता दुईदेशीय सांस्कृतिक आदानप्रदानले हामीबीच सद्भाव बढाउँछ।'

उनी विदेशमन्त्री सुष्मा स्वराजकी बहिनी हुन्। 'मालिनी'लाई विमलले प्रयोगात्मक तथा समसामयिक उत्तरआधुनिक शैलीमा देखाउने प्रयास गरेका थिए। आयोजक पवनकुमारले यस्तै फरक र बौद्धिक नाटक आवश्यक रहेको र यसले हरियाणामा नाटकप्रति नयाँ सोच विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपालमा यो नाटक करिब ६ महिनाअघि थिएटर भिलेजमा मञ्चन गर्दा पनि उत्तिकै प्रशंसा पाएको थियो। रोजिता बुद्धाचार्यले मालिनीको भूमिका निर्वाह गरेकी छन्। हरियाणाको मञ्चनपछि उनी आकर्षणको केन्द्रमा परेकी हुन्। नाटकमा सुजन वली, दिलीप रानाभाट, संगीत सापकोटा र श्रवणकुमारको समेत अभिनय रहेको छ।

'मालिनी' भारतका गोवा र राजस्थानमा पनि मञ्चन हुँदैछ। गोवामा साउन ११ र राजस्थानमा साउन १५ मा मञ्चन हुने निर्देशक विमलले जानकारी दिए। राजस्थानको ख्यातिप्राप्त नाटककेन्द्र जवाहर कला केन्द्रमा दुई शो हुनेछ। भारतमा 'मालिनी' देखाउनुको कारणबारे विमल यसो भन्छन्, 'भारतीय नाटकलाई भिन्न शैलीमा देखाउँदा कस्तो प्रतिक्रिया आउँछ भन्ने पनि उत्सुकता त छँदैछ। त्योभन्दा बढी यसको कन्टेन्ट वर्तमानमा समाजमा विद्यमान सामाजिक, राजनीतिक तथा धार्मिक द्वन्द्व र यसले निम्ताएको भयावह स्थितलाई नाटकले प्रहार गर्छ। त्यसैले पनि यस किसिमको नाटक नेपाल वा भारतमा मात्र होइन, पूरा विश्वमै आवश्यकता छ।'

यो नाटक तीन वर्षअगाडि पाकिस्तानको कराँचीमा सम्पन्न इन्टरनेसनल थिएटर फेस्टिभलमा पनि मञ्चन भएको थियो। मालिनी एक राजकुमारीको कथा हो, जो दरबारको भौतिक सुविधा त्यागेर सामाजिक तथा मानवीय सेवामा लाग्छिन्। यसको लागि उनले बौद्धमार्ग पछ्याउँछिन्। मालिनीलाई करुणाको प्रतीक मानिन्छ।

विमलको समूह शो सकेर साउन १९ मा नेपाल फर्कनेछ।

प्रकाशित: ९ श्रावण २०७३ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App