समाज

जलविद्युतका सुरुङमा उद्धार चुनौतीपूर्ण, सेना भन्छ , ‘टनेलभित्र जमेको लेदो निकाल्न महिनौँ लाग्छ’

भदौ १० गते रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धार कार्य झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको ६ नम्बर बाहिनीपति तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’का कमान्डर सहायक रथी उज्ज्वलविक्रम राणाले बाढीले आयोजनास्थलसम्म पुग्ने बाटोसमेत बगाएकाले उद्धारमा कठिनाइ भइरहेको बताए।  

राणाका अनुसार चारवटा जलविद्युत आयोजनाका सुरुङमा उद्धार तथा खोजी कार्य भएपनि रसुवागढी हाइड्रोपावरको टर्बाइन क्षेत्र पानी र लेदोले पूर्ण रूपमा भरिएकाले हाललाई खोजी कार्य बन्द गरिएको छ। 

‘रसुवागढीमा हामी हिजो काम बन्द गर्‍यौँ । इन्जिनियरलाई समेत लिएर भित्र गएका थियौँ । त्यसभन्दा अगाडि जान सक्ने अवस्था थिएन । तीन तलामुनिको टर्बाइन पूरै भरिएको छ । त्यहाँ कोही जीवित भेटिने अवस्था नदेखिएपछि सम्भव नहुने भएकाले खोजी कार्य बन्द गरेका हौँ,’ उनले भने। 

त्यस्तै, चिलिमे जलविद्युत आयोजनामा भने खोजी कार्य जारी रहेको राणाले बताए। सुरुङभित्र कोही जीवित व्यक्ति भेटिन सक्ने आशामा टोलीले काम गरिरहेको उनको भनाइ छ। 

लाङटाङको सुरुङमा सेनाको टोली ६४ मिटरसम्म भित्र पुगेको थियो। तर त्यसपछि सुरुङमा दुई फिटभन्दा पनि कम खाली ठाउँ रहेकाले अगाडि बढ्न नसकिएको राणाले बताए। मान्छे घस्रिएर जानुपर्ने अवस्था रहेको र अन्तिम सम्भव बिन्दुसम्म पुगेपछि खोजी कार्य रोकिएको उनले जानकारी दिए। 

२१६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सुरुङमा भने पुनः खोजी कार्य सुरु गरिएको छ। यसअघि पाँच पटकसम्म सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिए पनि अत्यधिक लेदो तथा डेब्रिसका कारण टोली अगाडि बढ्न सकेको थिएन। अहिले पुनः टोली परिचालन गरी खोजी भइरहेको राणाले बताए। 

उनका अनुसार बाढीले सडक तथा पहुँचमार्गहरू बगाएकाले ठूला मेसिन आयोजनास्थलसम्म लैजानसमेत कठिन भएको छ । तर मेसिन पुर्‍याए पनि सुरुङभित्र जमेको लेदो, माटो तथा अन्य वस्तु हटाउन लामो समय लाग्ने अवस्था रहेको उनले बताए।  

‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै सकिने सम्भावना म देख्दिनँ । हेर्दा तीनदेखि चार महिनामा पनि त्यो ननिस्कने अवस्था देखिन्छ,’ राणाले भने। 

राणाका अनुसार बाढीको बहाव सामान्य अवस्थाभन्दा करिब ४५ मिटर माथिसम्म पुगेको थियो। त्यसका कारण टिमुरे र स्याफ्रुबेसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। स्याफ्रुबेसीको आधाभन्दा बढी बस्ती बाढीले बगाएको र टिमुरेको अवस्था अझै जटिल रहेको उनले बताए। 

प्रकाशित: १७ भाद्र २०८३ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App