राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको जोखिम सुरुवाती चेतावनी भएको बताएका छन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’बारे छलफलका क्रममा खरेलले आगामी दिनमा यस्ता विपद्का जोखिम अझ बढ्दै जाने बताए।
उनले बाढी प्रभावित क्षेत्रमा टनेल, कुनाकाप्चा तथा खाल्डोलगायत स्थानमा स्वदेशी तथा विदेशी नागरिकहरू अझै पनि जीवनको आसमा उद्धारको प्रतीक्षामा रहेको हुन सक्ने बताए।
‘यो अवस्थामा दर्जनौँ मानिस अहिले पनि सायद जीवनको आसमा उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने, ‘आज हजारभन्दा बढी शवहरू प्राप्त भएको छ, कयौँको पहिचान भएको छैन। चार हजारको हाराहारीमा बेपत्ता भएको अवस्था छ। सरकारको अगुवाइमा १२ हजारभन्दा बढीको उद्धार गर्न सकेका छौँ।’
खरेलले विपद्को विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गर्दै सरकार तथा सम्बन्धित निकायले उद्धार र राहतका लागि रातदिन काम गरिरहेको बताए। उनले जलवायु परिवर्तनको असरका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको अधिकारसहित आवाज उठाउनुपर्ने बताए।
‘अधिकारसहितको क्षतिपूर्ति नेपाललाई चाहिन्छ। जलवायु परिवर्तनको असर र भिक्टिमका रूपमा हामी हुनुपरिरहेको छ,’ खरेलले भने, ‘यो जोखिम आगामी दिनमा बढ्दै जान्छ। भोटेकोशीको बाढी एउटा सुरुवाती चेतावनी मात्रै हो। यो अधिकारको खोजी अब हामीले विश्व मञ्चमा गर्नुपर्छ।’
खरेलले भोटेकोशी बाढीले पर्यटनसहित विभिन्न क्षेत्रमा पारेको प्रभावलाई गम्भीर रूपमा लिएर दीर्घकालीन योजना बनाउनुपर्नेमा समेत जोड दिए।
प्रकाशित: १७ भाद्र २०८३ १२:३७ बुधबार



-600x400.jpg)