मतदानको विषयमा एउटा भनाइ छ- ‘तिमीले राम्रो मान्छेलाई मात्र जिताउन थाल्यौ भने दलहरू पनि राम्रै उम्मेदवारलाई मात्र टिकट दिन बाध्य हुन्छन्।
तर यसो हुन सकिरहेको छैन। पार्टीले जस्तालाई उठाए पनि त्यस्तालाई नै जिताउने मतदाताको प्रवृत्ति नफेरिनाले मुलुकले सोचेजस्तो प्रगति गर्न सकेको छैन। हरेक पाँच वर्षमा दलका उम्मेदवारले त चुनाव जित्ने गरेका छन् तर मुलुकले लगातार चुनाव हारिरहेको छ।
मतदाताले कस्तो निर्णय लिन्छन्, त्यसैमा मुलुकको भाग्य र भविष्य निर्धारित हुन्छ अनि दलले लिने निर्णंयले मुलुकको समृिद्धको बाटो तय हुन्छ। त्यसैले मतदाताको बदलिँदो मनोविज्ञानलाई ध्यानमा राख्नु जरुरी रहको विज्ञको भनाइ छ।
‘दलहरूले अझै नेतृत्वमा मात्र ध्यान दिए तर नीतिमा दिएनन्’,राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘त्यसैले सोचेजस्तो परिवर्तन हुन सकेन।’
समाज परिवर्तन हुँदै जानु तर नेतृत्व परिवर्तन नहुँदा साँचो अर्थमा लोकतन्त्रको अनुभूत गर्न नसकिएको उनको बुझाइ छ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। मतदाताले फेरि एकपटक विवेक देखाउने अवसर पाउने छन्। यस्तोमा मतदाताले कस्तो उम्मेदवार खोजेका छन त?
हाल मूलपानी बस्दै आएका नुवाकोट थानसिङका केशवप्रसाद ढकाल जनताको दुख र समस्या बुझ्ने उम्मेदवारलाई मत हाल्न इच्छुक रहेको सुनाउँछन्।‘भोट हाल्दै गर्दा धेरै भोटो फेरियो,’ उनले भने, ‘तर, मुलुकले काँचुली फेर्न सकेन।’
‘दलहरूले अझै नेतृत्वमा मात्र ध्यान दिए तर नीतिमा दिएनन्’,राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘त्यसैले सोचेजस्तो परिवर्तन हुन सकेन।’
१८ वर्षको उमेरदेखि भोट हाल्दै आएका उनी ६० बर्से उमेरमा पनि भोट हाल्न उत्तिकै इच्छुक छन्। ‘राम्रो व्यक्तिलाई भोट हाल्न पाए परिवर्तन हुन्छ भन्ने आश मरेको छैन,’ उनी थप्छन्, ‘त्यही राम्रो मान्छेको प्रतीक्षामा छौं।’
यस्तै धारणा राख्छिन् रानीबारी काठमाडाैंकी मनिता थपलिया पनि। कतिपयले उम्मेदवार राम्रो छाने पनि समाजको माहोलले उसले काम गर्न नसकेको पनि उनको बुझाइ छ। ‘पहिलो कुरो राम्रो उम्मेदवारनै भेटिएन,’ उनले थपिन्, ‘केही राम्राले जिते पनि नराम्राका भिडमा हराउने भए।’ दलले उम्मेदवार राम्रो दिएर मात्र हैन, समाजको चेतना पनि परिवर्तन हुनुपर्ने उनको ठम्याइ छ।
त्यसैले होला, तामाकोशी–६ दोलखाका हरि फुयाँल युवा पिढीलाई टिकट दिनुपर्ने बताउँछन्। ‘एकपटक युवालाई पनि हेर्नुपर्यो जस्तो लाग्छ,’ उनले भने, ‘कतै उनीहरूले मुलुकलाई सही बाटोमा लैजान्छन् कि!
उनको धारणासँग सहमत छिन् थपलिया पनि। उनी पनि अहिलेको समस्या भनेको ‘जेनेरसन ग्याप’ रहेको बताउँछिन्।‘सत्ता बुढाखाडाको हातमा मात्र सीमित भयो,’ उनी भन्छिन्, ‘पाका मान्छेले गाइड गरेर युवा पिढीलाई अगाडि बढाउनुपर्यो।’
यस्तामा दलहरूको भूमिका पनि निकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले जनताको बदलिंदो मनोभावलाई बुझेर टिकट दिंदा राम्रो नतीजा आउने छ। ‘केन्द्रको चुनावमा जस्तो स्थानीय तहको निर्वाचनमा पार्टीले हस्तक्षेप गर्नु हँुदैन,’ राजनीतिशास्त्री भट्ट भन्छन्, ‘स्थानीयको समस्या बुझेकाले मात्र त्यस क्षेत्रको हित गर्न सक्छन्।’
कतिपय त चुनावदेखि निराश पनि देखिएका छन्। राम्रो उम्मेदवार दिए भोट हाल्ने नत्र नहाल्ने पक्षमा रहेको उनीहरू सुनाउँछन्। ‘राम्रो उम्मेदवार भेटिएन भने भोट हाल्न पनि जादैनौँ,’ हरि फुयाँल थप्छन्, ‘परिवर्तनको सम्भावना नै भएन भने भोटको लाइनमा बस्न पनि जाँगर लाग्दैन।’
तर, विज्ञहरू निराश हुन नहुने सुझाउँछन्। दलहरूमाथि प्रतिबन्ध गर्ने वा उनीहरूलाई निस्तेज गर्नेभन्दा सशक्त र जवाफदेही बनाउनेमा ध्यान जानुपर्ने उनीहरूको सुझाव छ। ‘दलीय सोचभन्दा पनि आफ्नो क्षेत्रमा राम्रो गर्ने उम्मेदवारलाई भोट हाल्दा आफ्नो ठाउँको परिवर्तन हुन्छ, ’ भट्ट थप्छन्, ‘यही क्रमबाट बिस्तारै समाज परिवर्तनको बाटोमा जाने छ।’
अबको निर्वाचनमा मतदाताले पृथक् ढंगले सुझबुझका साथ मतदान गरूँन भन्ने उनको भनाइ छ। नाङ्लेभारेका कृष्णप्रसाद ढकाल पनि उस्तै धारणा राख्छन्। प्ञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनी पार्टीले सही उम्मेदवार चयन गर्न नसक्दा मुलुकले हार्ने गरेको सुनाउँछन्। ‘भोट सधैं हालियो,’ उनी भन्छन्, ‘तर सोचेजस्तो परिवर्तनको अनुभूति भएन।’
बालाजुकी निशा अम्गााई विदेशिएका युवालाई स्वदेशमा ल्याएर काम दिन सक्ने उम्मेदवारको खोजीमा छिन्। त्यस्तै सिन्धुलीका चिरन माझी युवा पिढीलाई आकर्षित गर्ने उम्मेदवार रोज्नुपर्ने सुझाउँछन्।
‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत थुप्रै क्षेत्रमा काम गर्नुपर्ने छ,’ उनले भने, ‘युवालाई खाडीको बाटो छुटाएर स्वदेशको बाटो ल्याउन सक्ने नेताको खोजी छ। हामी चाहन्छौं, यही माटोमा समृद्धिको सप्तरंगी फूल ढकमक्क भएर फुलून्।’
प्रकाशित: ६ फाल्गुन २०७८ १३:५९ शुक्रबार