पछिल्लो दुई दशकदेखि बेदर तुर्किस्तानी साउदी अरेबियाको राष्ट्रिय फुटबल टोलीको समर्थनका लागि धेरै राष्ट्रमा पुगे। राष्ट्रिय टोलीको समर्थनमा स्टेडियममै वाचन गर्ने कविताले तुर्किस्तानीलाई अहिले सामाजिक सन्जालमा चर्चित बनाएको छ। २०२२ को विश्वकप तुर्किस्तानीको छिमेकी राष्ट्र कतारमा आइतबारबाट सुरु हुँदै छ। जेहादबाट दुई घण्टाको हवाई यात्रामा उनी त्यहाँ पुग्न सक्छन्। त्यसैले पनि उनलाई आफ्नै भूमिमा विश्वकप भैरहेको भन्ने महसुस भएको छ। उनको चाहना छ, साउदी अरेबियाले आफ्नो तीन दशकको विश्वकप यात्रामा पहिलो पटक समूह चरण पार गरोस्। ‘साउदी अरेबियाको राष्ट्रिय टोलीमा रहेका खेलाडीहरू त्यही घरेलु लिगहरू खेलिरहेका हुन्छन्,घरेलु समर्थकका माझ,’ तुर्किस्तानीले भने, ‘कतारमा विश्वकप आयोजना भैरहँदा हामीलाई भने घरेलु मैदानमा भैरहेको जस्तो लागिरहेको छ। कतार र हामीबीच धेरै दूरी छैन। यस पटक विश्वकप अवलोकन गर्न करिब ५० देखि ६० हजार साउदी अरेबियाका समर्थक स्टेडियममा उपस्थित हुने अनुमान गरिएको छ।
‘रूसमा मैले साउदी अरेबियाको समर्थनमा कविता वाचन गर्न त्यसलाई दोहोर्याउने मात्र ५ हजार समर्थक थिए। यस पटक ५० हजारको हाराहारीमा हाम्रा समर्थक हुन्छन्,’ उनले भने, ‘जसले गर्दा टोलीको हौसला बढ्नेछ। हामी टोलीले समूहचरणबाट माथि उठेको हेर्न चाहन्छाैं।’
तुर्किस्तानीले साउदी अरेबियाले खेलेका करिब १ सय अन्तर्राष्ट्रिय खेल हेरेका छन्। उनले हरेक खेलका क्रममा लिएको तस्बिरको एल्बमसमेत बनाएका छन्। तुकिस्तानी जेहादको क्लब अल अल्हेको फ्यान क्लबको अध्यक्षसमेत हुन्। उनी आफ्नो कविताका माध्यमले साउदी अरेबिया– कतारमा सांस्कृतिक सद्भाव फैलियोस् भन्ने चाहन्छन्। सामाजिक सन्जाल ट्विटरमा उनका २ लाख ८० हजार समर्थक छन्। साउदी अरेबियाले अहिले दोहामा साताको २ सय ४० उडान भरिहेको छ। साउदी अरेबियाले समूह चरणमा अर्जेन्टिना, मेक्सिको र पोल्यान्डको सामना गर्नेछ। ‘साउदी र खाडी मुलुकका समर्थकले अरब समर्थकलाई समर्थन गर्छन्,’ उनले भने, ‘यस पटक अरबको सबै टोलीले अप्रत्याशित नतिजा ल्याउने अनुमान गरेका छौं।’
रूस विश्वकपमा पनि साउदी अरेबियाको यात्रा समूहचरणबाट माथि उठ्न सकेको छैन। यस क्रममा साउदी अरेबियाले २ खेल हारेको थियो भने एक खेल जितेको थियो। इजिप्टमाथि २–१ को जितसहित समूह ‘ए’ मा सुखद सुरुआत गरेको साउदी अरेबिया दोस्रो खेलमा उरुग्वेसँग १–० र तेस्रो खेलमा घरेलु टोली रूससँग ५–० ले निराश भएको थियो।
प्रकाशित: २ मंसिर २०७९ ०२:२१ शुक्रबार