४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिज स्तब्ध: आयरल्यान्ड सुपर १२ मा

ब्याटिङ गर्दै आयरल्यान्डका पाउल स्ट्रलिङ

भेट्रान ओपनर पाउल स्ट्रलिङले अविजित ६६ रनको पारी खेल्दा शुक्रबार आयरल्यान्डले दुई पटकको ट्वान्टी-२० विश्वकप विजेता वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बलियो वेस्ट इन्डिजविरुद्ध ग्यारेथ डेल्नीको करियरको उत्कृष्ट बलिङ पनि आयरल्यान्डको जितको आधार बनेको थियो। वेस्ट इन्डिजविरुद्ध बलिङ गर्ने क्रममा ग्यारेथ ४ ओभरमा मात्र १६ रन खर्चिएर तीन विकेट निकाल्न सफल भएका थिए। ग्यारेथले निकोलस पुरन, इभिन पुरन र रोभमान पावेललाई पवेलियन फर्काएका थिए। तीन खेलाडी क्याच हुँदै बाहिरिएका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ब्रान्डन किङ्सले अविजित ६२ रनको पारी खेल्दा जोन्सन चार्लेसले २४ रनको योगदान गरेका थिए। ओपनर केइली मेयर्स एक रनमै पवेलियन फर्किंदा कप्तान निकोलस पुरन र इभिन लुइसले समान १३ रनको पारी खेलेका थिए। ओडेन स्मिथले अविजित १९ रन जोड्दा वेस्ट इन्डिजले आयरल्यान्डसामु निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रनको लक्ष्य दिएको थियो। बलिङतर्फ ग्यारेथ डेल्नीका अलावा बारे माक्कार्थे र सिमी सिंहले समान १/१ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको आयरल्यान्डले १५ बल बाँकी रहँदा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर पाउल स्ट्रलिङले अविजित ६६ रन जोड्दा अर्का ओपरन कप्तान एन्डी बाल्बिरिनीले ३७ रनको योगदान गरेका थिए। पाउलले ४८ बलको सामना गर्दा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए।

यस्तै एन्डी बाल्बिरिनीले २३ बलमा ३ चौका र ३ छक्कासहित व्यक्तिगत ३७ रनको पारी खेलेका थिए। ४५ रन जोड्दा नटआउट रहेका लुर्कान टकरले ३५ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गरेका थिए।

आयरल्यान्डको एक विकेट अकिल हुसेनले लिए। दुई पटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजमाथि सानदार जित निकाल्दै सुपर १२ मा प्रवेश गरेको आयरल्यान्डका कप्तान बाल्बिरिनीले अघिल्लो संस्करणमा अन्तिम अवस्थामा बाहिरिनुपरेको पीडा यो जितले भुलाउने बताए। ‘खेलमा हारजित हुन्छ। कहिलेकाहीं अनपेक्षित नतिजाबाट बाहिरिनुपर्ने बाध्यता हुन्छ। अघिल्लो संस्करणमा हामी अन्तिममा सामान्य अवस्थाले बाहिरिनुपरेको थियो,’ कप्तान बाल्बिरिनीले भने, ‘अघिल्लो संस्करणमा बाहिरिनु परेको पीडालाई यो जितले भुलाउने प्रयास गर्नेछौं। अघिल्लो चरणमा पुग्न पाउँदा निकै खुसी छौं। आगामी खेल अझै चुनौतीपूर्ण छन्।’

यसअघि वेस्ट इन्डिज २०१२ र २०१६ मा च्याम्पियन भएको थियो। उक्त संस्करणमा क्रिस गेल, ड्वाने ब्राभो र किरन पोलार्ड र आन्द्रे रसेल्स जस्ता खेलाडी थिए तर अहिलेको संस्करणमा वेस्ट इन्डिज नयाँ खेलाडीका साथ अस्ट्रेलिया पुगेको थियो। यस्तै लगातार सातौ पटक विश्वकप खेलेको आयरल्यान्ड दोस्रो पटक सुपर १२ मा प्रवेश गरेको हो। यस अघि २००९ मा प्रवेश गरेको थियो।

आयरल्यान्डसँग स्तब्ध हुँदै बाहिरिएको वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले राम्रो ब्याटिङका बावजुद पनि पराजित हुनुपरेको बताए। यो पराजय आगामी दिनमा टोलीलाई ठूलो सबक भएको प्रतिक्रिया दिए। शुक्रबार नै भएको अर्को खेलमा जिम्बावेले स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान बनाएको छ। यससँगै सुपर १२ मा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। सुपर १२ को खेल शनिबारदेखि सुरु हुनेछ।

प्रकाशित: ५ कार्तिक २०७९ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App