१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

दाबेदारको निराशाजनक सुरुआत

इङ्लिस प्रिमियर लिग

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल र एक अवसर सिर्जना गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको फुलह्यामसँग २–२ को बराबरी गरेको छ।

फुलह्यामको घरेलु मैदानमा एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा यसै सिजन लिभरपुलमा अनुबन्धित नुनेज र मोहम्मद सालाहले समान १/१ गोल गरे। फुलह्यामले ३२औं मिनेटमा एलेक्जेन्डरको गोलबाट खेलमा अग्रता लिएको थियो। उनले हेडरमार्फत टोलीलाई अग्रता दिलाएका थिए। यसअघि १४औं मिनेटमा लिभरपुलले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइडको निर्णय दिए र त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। दोस्रो हाफको सुरुआती समयमा लिभरपुलले दुई खेलाडी परिवर्तन गर्‍यो। मिडफिल्डर थियागो चोटग्रस्त हुँदा प्रशिक्षक योर्गेन क्लोपले रणनीति परिवर्तन गर्दै हार्भी एलियट र नुनेजलाई मैदानमा उतारेका थिए।

रोबर्टो फिर्मिनोको स्थानमा मैदान प्रवेश गरेका नुनेजले ६४औं मिनेटमा लिभरपुललाई खेलमा फर्काए। सालाहले उपलब्ध गराएको क्रसमा नुनेजले बललाई जाली चुमाए। प्रतिस्पर्धात्मक खेलको ७२औं मिनेटमा फुलह्यामले पुनः अग्रता लियो। एलेक्जेन्डर मित्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। भर्जिल भान डाइकले पेनाल्टी क्षेत्रभित्र मित्रोभिचलाई लडाएपछि फुलह्यामले पेनाल्टीको अवसर पायो र त्यसको सदुपयोग पनि गर्‍यो। पुनः पछि परेको लिभरपुलले सम्हालिएको प्रदर्शनलाई निरन्तरता दियो। ८१ औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।

यसै सिजन लिभरपुलमा अनुबन्ति नुनेजले उपलब्ध गराएको पासलाई सालाहले गोलको दिशा दिएका थिए। इन्जुरी समयमा लिभरपुलले अग्रता बनाउने अवसर सदुपयोग गर्न सकेन। कप्तान जोर्डन हेन्डरसनको प्रहार क्रसबारमा लाग्दा टोली बराबरीमा चित्त बुझाउन बाध्य भयो। यससँगै लिरभपुल र नयाँ टोली फुलह्यामले नयाँ सिजन बराबरीबाट सुरुआत गरेका छन्। दुवैले लिग अंकतालिका १/१ अंकको खाता खेलेका पनि छन्। लिभरपुल सिजनभर खेललाई प्रभुत्व जमाउँदै उपाधि चुम्ने लक्ष्यमा छ। उता फुलह्याम भने प्रिमियर लिगमा रहन एकै किसिमको प्रदर्शन गर्ने योजनामा छ।

उद्घाटनमा खेलमा आर्सनलको जित

प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबारदेखि सुरु भएको नयाँ सिजनमा आर्सनलले क्रिस्टल प्यालेसमाथि २-० को जित निकाल्दै विजयी सुरुआत गरेको छ।

पहिलो हाफमा अग्रता निकाले पनि प्रशिक्षक मिकेल अर्टेटाले आर्सनलको दोस्रो हाफको खेलप्रति निकै प्रशंसा गरे। सेहर्स्ट पार्कमा पाहुना टोली आर्सनलले २०औं मिनेटमा सुरुआती अग्रता निकालेको थियो। गाब्रिल मार्टिनेलीको हेडर गोलबाट आर्सनलले पहिलो हाफमा अग्रता लिएको थियो। आर्सनलले खेल सकिन पाँच मिनेट बाँकी रहँदा उपहार गोल पायो। बाँकी समय थप गोल हुन सकेन र आर्सनल पहिलो खेलमा जित आत्मसात गर्न सफल भयो। ‘कुनै पनि खेलमा जित महत्त्वपूर्ण हुन्छ। पहिलो खेलमै जित निकाल्नुले टोलीको आत्मबललाई सहयोग पुर्‍याउँछ। पहिलो खेलबाट धेरै समीक्षाका विषयहरू हुन्छन्, जुन बाँकी खेलमा सुधार गर्न सहयोग मिल्छ,’आर्सनल प्रशिक्षक अर्टेटाले भने।

सिजनकै पहिलो खेलमा आर्सनल र क्रिस्टल प्यालेसबीच पहिलो हाफ निकै प्रतिस्पधात्मक बन्यो। यद्यपि घरेलु टोलीले गोल गर्न भने सकेन। प्रिसिजन टुरमा प्यालेसलाई खेलाडीको चोटले निकै सतायो। केही अनुभवी र भरपर्दा खेलाडीले चोट बोके र जसको क्षति पनि प्यालेसले बेहोर्नु पर्‍यो। आर्सनलका पूर्वकप्तान तथा प्यालेसका प्रशिक्षक प्याट्रिक भेइराले पाएका अवसर सदुपयोग गर्न नसकेको बताए। ‘दुई टोलीको खेल प्रतिस्पर्धात्मक बन्यो र फरक भनेको आर्सनलको दुई गोल रह्यो,’प्यालेसका प्रशिक्षक प्याट्रिक भेइराले भने, ‘दुई राम्रा अवसर सिर्जना भए पनि सदुपयोग गर्न सकेनौं।’

प्रकाशित: २२ श्रावण २०७९ ००:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App