२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल कुवेतसँग पराजित, दर्शनले गरे सान्त्वना गोल

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को गोल अन्तरले पराजित भयो। शुरुवातबाट नै दबाब झेलेर खेलेको नेपाली टोली घरेलु टोलीबिरुद्ध निरिह देखिएको थियो। घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गर्दा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए।

शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसअघि १८ यार्ड टाढाबाट हानेको कडा सटलाई गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै बाहिर फल्दिएका थिए। सोही कर्नर बलमा चलाखिपूर्ण तरिकाले कुवेत गोल गर्न सफल भएको हो। त्यसपछिको पहिलो हाफको खेलमा नेपाल खेलमा फर्किन प्रयास गरेपनि कुनै सम्झन लायक प्रदर्शन गर्न सकेन। पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो।

४८औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए। खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए। पछि परेसँगै थप दबाब झेलेको नेपालबिरुद्ध घरेलु टोलीले ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले सान्त्वना गोल गरेसँगै नेपाल ४–१ ले पराजित हुन पुग्यो।

यससँगै नेपालले लगातार दोस्रो हार भोगेको छ। नेपालले २ खेलमा अंक जोड्न सकेको छैन र तालिकाको पुछारमा छ। यस अघिको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो। यस हारसँगै नेपालको एशिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ। नेपालमाथि जित निकालेको कुवेतले छनोट खेलमा पहिलो जित निकालेको छ। कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पहिलो खेलमा कुवेतलाई इण्डोनेसियाले हराएको थियो। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग ३१ जेठमा खेल्नेछ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App